हाम्रो मुलुक विद्यमान छ विश्व इतिहासको त्यो अपरिचित अनिश्चयको संघारमा । बाँकि संसार प्रतिशतमा आर्थिक वृद्दिदर आँकलन गरेर मानवता र मानव विकासको स्तर मापन गरिरहँदा हामी गास , बास र कपासका कमण्डलु भित्र राजनीतिक स्वार्थका मुद्रा गनेर आफ्नो थैलीको मोटोपन मापनमा रमाइरहेका छौँ । विचित्र छ हाम्रो स्व-उन्नयनको परिभाषा ! आँफूलाई उम्दा साबित गर्नु अनि अरूलाई गरिने निषेधमा मात्र हाम्रो राजनीति र जीवन व्यवहारका गणितहरू सकृय रहनाले , हामी सदावहार घाटामा छौँ । हाम्रो बिचलन, बिघटन र विनिर्माणका श्रृंखलाहरूको अन्त्य हुन हो कि भन्ने हाम्रो अपेक्षा समयको व्यतिति संगै अर्को बिकराल संस्करण बनेर पुनर्जीवित बनेको छ र हामीलाई अर्को दु:स्वप्न बनेर खेदिरहेको देखिन्छ ।
नेपालको बारेमा सोच्दा ,विचार गर्दा अनि चर्चामा सहभागी हुँदा ग्लानि महशुश हुने स्थिति बनेको छ । हामी एशियामा युद्ध प्रताडित अफगानिस्तानभन्दा मात्र माथि छौँ , जीवनस्तर र विकासको मापदण्डमा । हाम्रो मुलुकको पहिचान अदक्ष कामदारलाई मलेशिया र खाडीका मुलुकमा पठाउने श्रमिकहरू र तिनै श्रमिकहरूको रगत र पसिनाले आर्जित रेमिटेन्समा अस्तित्वरत मुलुकको रूपमा रहिसक्यो । हाम्रो परिचय सांस्कृतिक क्रान्तिकालीन चीन र तत्कालीन कम्बोडियाका बर्बर मानवहत्याका इतिहासका पानाहरूसंग दाँजिने बनिसक्यो । यिनै दूर्नाम परिचयको छाप बोकेर हामी , संसारभर भड्किरहेका छौँ । यो आत्मग्लानिपूर्ण परिचयलाई बोकेर , सदावहार क्रान्ति, आन्दोलन, बन्द, हड्ताल, हिंसात्मक रोमाञ्चकतालाई सडकदेखि सरकारसम्म मञ्चन गरेर तमासा बनाउँदै हाम्रो जात्रा विश्व सामू प्रदर्शन गर्नुमा हामि लागिरहेछौँ । सर्वाङ्ग नाङ्गो मान्छे सडकमा दौडिँदा , तमाशेहरूले हेरेर ताली पड्काउँदा , हामी हाम्रो वीरोचित कृत्यमा मखलेल खुशी छौँ । जब हामी हाम्रो नाङ्गोपनमा अरूले लिएको मनोरञ्जनलाई उपलब्धी ठानेर रमाइरहेछौँ भने , हाम्रो वर्तमान कति निरिह छ बुझ्न सकिन्छ ।
के हुन्थ्यो होला हामीले पनि अरूलाई बाँच्न दिएर हामी बाँच्न पाउने अवसरको खोजी गर्ने प्रयास गरेमा ? के हुन्थ्यो होला बाँच र बचाऊको मन्त्रलाई पुज्य ठानेर मानवाताको उद्बोधनमा रमाउन हामीले जानेको भए ? के हुन्थ्यो होला हाम्रो मानसमा केवल अर्कोलाई दोष लगाएर अरूलाई गरिने घृणामा आफ्नो सफलताको राज खोज्ने प्रवृत्ति नभैदिएको भए ? किन हामी आफ्नै कर्तूतको आरोप अरूलाई लगाएर , हामी त्यहि गर्न उद्यत छौँ ?
आडम्बर अनि दुष्ट्याईँले पनि लाज मान्नु पर्ने हो । राम्रोको लागि झगडा र द्वेष , घृणा र प्रतिशोध नहनु पर्ने हो । सबैले चाहेको राम्रो नै हो भने त झन त्यहाँ मनमुटाव रहनु पर्ने परिस्थिति नै नहुनु पर्ने हो । तर किन यो सब भैरहेछ अनि हाम्रा सुन्दर र सुशान्त कल्पनाको पलपल हत्या हुँदैछ ?
कामनाहरूको पनि कुनै अर्थ छैन । मुलुकका लागि सोचेका छौँ भन्नेहरूको संख्या धेरै भएर हो कि , आज मुलुक यिनै सोच्नेहरूका कारण आक्रान्त बनेको ? अब व्यक्तिले , अरूलाई हानी नगरी आँफ्नै लागि सोच्ने हो कि ? भीडबाट व्यक्ति वा झुण्डकलागि स्वार्थको खेति खोज्न छाडेर , इमान्दार वैयक्तिक उपलव्धिका लागि हाम्रो समष्टिले अग्रता पाउँथ्यो कि ? तर कामना नगरी पनि सुखै छैन , सबै कमसल र नराम्रा कुराहरू अतित बनून र नया वर्ष मुलुक र मुलुकवासीका लागि सुखदायी बनोस् ।
5 Comments:
म पनि त्यही आशा गर्छू सबै कमसल र नराम्रा कुराहरू अतित बनून र नया वर्ष मुलुक र मुलुकवासीका लागि सुखदायी बनोस् ।
धन्यबाद
केही दिन यता दौंतरीमा पाठकहरु पनि बिदा मनाउन जानु भए जस्तो छ। मैले पनि यो लेख पढ्छु भन्दा भन्दा अरुनै कुरामा अलमल परेर त्यस्तै भयो।
नेपाली राजनिती संसकार फेरिएको कुरालाइ म पनि समर्थन गर्दछु। घ्रिणाको राजनिती त जांहा पनि हुन्छ,त्यसमा नेपाल मात्र अक्षुतो छैन। त्यसमा पनि नेपालमा देश बिग्रेको अर्कोले गर्दा हो भन्ने अनि आफुं चाही केही नगर्ने, गरे पनि उही आफ्नो दुनो सोजाउने काम मात्रै, देश कता छ ,जनता कांहा छन , के गर्दै उत्तम हुन्छ हैन,उही राजनितिक परिबर्तन गर्ने, कसरी आफ्ना कार्यकर्ताको पेट भरिन्छ आदी। अनि बिपक्षका भने कसरी हुन्छ त्यो सत्तामा बस्नेको कुर्सी फुत्काउने, बस त्यही धुनमा जाम,बन्द,तोडफोड आदीमै सारा समय बिताउंछन।
मुख्य कुरो त यांहा नियम कानुनको कसैलाइ वस्ता नै छैन। सबभन्दा कमी त्यसमा छ, दोस्रो देशको लागी भिजन छैन। भिजन भए पनि उही लिडेंपन छ,किन त्यो लाभदायिक छ या किन छैन भन्ने कसैलाइ मतलब नै छैन। तेस्रो आफ्ना नेताले ज भन्छन सबैले हो मा हो मिलाउंछन, कोही कार्यकर्तामा पनि नेताको यो ठिक या बेठिक भन्ने दम छैन, यस्ले अन्धो नेता बाहेक अरु केही जन्माउदैन।
तर पनि नया बर्ष संगै आशाका किरणहरु भने फैलाउन छोड्नुहुन्न।
हो त नि , के भा हो साथीहरूको उत्साह पनि पुषको जाडोमा कठ्याङ्ग्रिए जस्तो छ !
एकलव्य
Malai pani testai lagyo. Jhan yo minnesota ma ta yo haptai bhari purai minus ferhenit chha.
एकलव्य
नेपालीयनजी,
यस पालाको जाडो , हिमपात र अतिवादी वातावारणीय प्रभावको कुरा अरू वर्षहरूमा भन्दा निकै बढेको बताइरहेका छन् संसार भरका मिडियाहरू । नेपालियनजी , क्यानडा बोर्डरको मिनेसोटामा जाडोको प्रभाव पक्कै मैले अनुमान गर्ने भन्दा बढी नै हुनुपर्छ । तर मेरोमा त बाह्रै महिना टी-सर्टले चल्छ , ढुक्क छु - जाडोको चिसोमा विविध न्याना अनुभव खोज्दै रमाउन खोज्ने साथीहरूको अलिकति ईर्ष्या गर्दै ।
अनि ठरकीसर पनि आजकल निजी व्यस्ततामा फँस्नु भा हो कि !
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !