दौँतरीको नियमीत स्तम्भ ब्लगभित्र ब्लगमा हामीले नयाँ तथा पुराना नेपाली ब्लगरहरुसंग भलाकुसारी गर्दै आएको यहाँहरुमा बिधितै छ । त्यसै क्रममा आज हामीले निम्त्याएका छौं परिष्कृत रचना लेख्ने तर नाम ‘सिकारु’ राख्नु हुने नेपाली ब्लग जगतमा परिचित अर्का मित्र सुर्य न्यौपानेज्यूलाई । ल लागौं त उनै सुर्य “सिकारु” संगको कुराकानीमा :
ब्लग तर्फ आकर्षण कसरी बढ्यो र कहिले देखी ब्लगीङ सुरु गर्नु भयो ?
साथी भाईहरुको रचना पढेर जागेका उत्प्रेरणा र तपाइँहरुजस्ता पृथक ब्लगरहरुको मार्गदर्शन गर्ने बाटोलाई समाएर मनमा जागेका भावना र तरंगहरुलाई बिसाउने चौतारीको रुपमा यसलाई पाएँ। शुरु-शुरुमा त ब्लग लेख्ने कुनै औपचारिक योजना थिएन कसैको बिचार र बन्धन बाट बिचलित नभै आफ्नै स्वतन्त्र बिचारमा विचरण गर्न पाइने र धेरै कुरा सिक्न पनि पाइने हुनाले करिब एक बर्ष पहिले मैले ब्लग लेख्न शुरु गरेको हुँ ।
तपाईका गजल र अन्य रचना पढ्दा त निकै परिष्कृत लाग्छन, तर यो 'सिकारु' नाम चाही किन र कसरी जुर्यो ?
रमाइलो प्रश्न ! सर्वप्रथम धन्यबाद दौँतरीलाई ! मेरा रचना र भावना प्रति नजर राखीदिनुभएकोमा । सिकारु उपनामको लहरो काँहा र कसरि उत्पन्न भयो भन्ने कुरा मैले मेरो केहि अघिको बार्षिक उत्सवको पोस्ट सिकारु बर्षदिनमा गोरेटो र ब्लगरहरु मा पनि प्रस्तुत गरेको छु तैपनि छोटकरीमा जवाफ दिनु पर्दा अतितको पराजयलाई हतियार बनाएर बर्तमानलाई सरल र सवल ढंगले परिचालन गर्न अनि बिगतको अनभिज्ञतामा जन्मेको मानसिक पीडालाई राहत प्रदान गर्दै बर्तमानमा रमाउन सिकारुको श्री गणेश भयो । अर्को शब्दमा आफ्नो पक्षधरता र अनुकुलतामा बिचार प्रवाह गर्ने हरुले सत्य र सहि मार्गमा लाग्न प्रेरित गर्ने कुरालाई मनोगत चिन्तन बनाई सधै सानो र अबोध भएर साहित्यिक सर्जकहरुको माया बटुल्न सिकारु जन्मिएको हो ।
ब्लग लेखनबाट भएको तिता मिठा अनुभव के कस्ता छन ?
मैले ब्लग लेखनबाट सबैमाझ धेरै कुराहरुको मिठा अनुभव प्राप्त गरेको छु । सामान्य देखि लिएर पृथक साहित्यप्रेमीहरुसंग भलाकुसारी गर्ने अवसर पनि प्राप्त भएको छ । लाग्छ, म पनि अब नेपाली ब्लगरको बृहत संजालभित्र बाँचिरहेको छु । तिक्तता भने खासै केहि छैन बेलाबखत केहि मित्रहरुले आफ्नै साथीभाइका लेख-रचना हरुलाई बिना सूचना अनुकरण गर्दा भने (मेरो त भेटेको छैन ) अलि नरमाइलो लाग्छ ।
"विद्युतिय साईनो" कस्तो चल्दै छ ?
हा.. हा.. हा.. हा.. विद्युतिय साइनो त चलेकै छ बिस्तारै, तर पहिले जस्तो द्रुत गतिमा भने हिँडेको छैन । किनकी साइनो की पात्र दुर्घटनाको शिकार भएकी छन्। अब छिटै पुनर्मिलन सहितको दोस्रो भाग प्रकाशन गर्ने तयारीमा छु पढन नछुटाउनु होला । हाम्रो पनि पनि विद्युतकै साइनो हो यो पनि सदा सदा बाँचिरहोस।
नेपाली ब्लग जगतको अबस्था कस्तो छ जस्तो लाग्छ?
नेपाली ब्लग जगतको सन्दर्भमा आजभोली एउटा आशालाग्दो बर्तमानमा सुनौलो भबिष्य देखेको छु मैले । ब्लगको संख्यात्मक वृद्धि भन्दा गुणात्मक पक्षमा ध्यान दिनु अत्यावस्यक छ । यसको जगेर्नामा दौतरीले बेला-बेलामा सामुहिक भेला गरेर ब्लग उठानमा परिवर्तन गर्ने जमर्को गरेको पनि छ । आशा गरौ, भबिष्य सृजनशील हुदै बर्तमान साक्षात्कर्मको भावनाद्वारा पाठक हरुमा रसमय आनन्द फैलाउदै आदर्शको यथेष्ट आकर्षण बढाउदै लैजाओस नेपाली ब्लगलाई ।
मन पर्ने विधा कुन हो र नयाँ पाठकले तपाईको ब्लग पढन खोजेमा कुन चाही पोस्टबाट पढ्न सुरु गर्न सल्लाह दिनु हुन्छ ?
खासगरी विधाको बारेमा कुरा गर्दा, बाल्य अवस्थामा त कविता नै बढी लेखिन्थ्यो । यसका अलावा निबन्ध, लघुकथा र दैनिकी पनि लेख्ने गर्थे । यीबाट धेरै पटक पुरस्कृत पनि भएको छु । आजकालको माहौलले गर्दा पनि होला गजल तर्फ पनि आकर्षण बढेको छ ।
लाग्न त आफ्नो सबै पोस्टको लागी आफ्नो उत्तिकै मेहनत परेको हुन्छ तैपनि नयाँ पाठकले मेरो ब्लग पढन खोजे गजल बाटै शुरु गर्ने सल्लाह दिदै सम्पूर्ण ब्लग एकपटक हेरिदिनुस भन्न चाहन्छु किनकी पाठकको सानो सुझावले मलाई निर्णायक बनाउन सक्छ।
धेरै नेपालीहरु विदेशबाट ब्लगीङ गर्छन, विदेशीनु र ब्लगीङ बीच केही सम्बन्ध देख्नुहुन्छ ?
हुँदा सस्तो र नहुँदा कस्तो भने जस्तै हो यो कुरा पनि । मानिसमा बढी मात्रामा माया मोह तब जाग्दो रहेछ जब उ मातृभूमि छोडेर विदेशको बन्धनित लक्ष्मण रेखाभित्र गुम्सन्छ । तिनै पीडा र ब्याथा बाट उत्पन्न भावना हरुलाई छताछुल्ल पारेर पोख्न सजिलो माध्यम बनेको छ ब्लग अहिले । अर्को कुरा बिदेशमा नेपाली खोज खबर को पहुँच पनि न्यून भएकोले होला बिदेशमा ब्लग लोकप्रिय हुन् पुगेको (मेरो बिचारमा )
आफ्नो र दौँतरी बाहेकका पाँचवटा उत्कृष्ट नेपाली ब्लगको नाम लिनु पर्दा कुन कुन ब्लगलाई सम्झनु हुन्छ?
हुन त नेपाली ब्लगरहरु प्रा:य (निरन्तरता पाइरहेका ब्लगरहरु )सबै राम्रो नै लाग्छ । सीमित साथीहरुको नाम लिदा अन्याय हुन्छ की ? । तैपनि जवाफमा भन्नु पर्दा कयाफे मंगलम, बिचार र अभिव्यक्ति, बसन्त गौतम को ब्लग, भोजपुरे ब्लग र साहित्य संसार मा प्राय: छिरिरहन्छु ।
तपाई रचनाहरु बसेर लेख्न थाल्नुहुन्छ कि फुरे पछि लेख्न बस्नुहुन्छ ?
रचना फुराउनको लागि निश्चित बेला त चाहिन्छ नै ! त्सैले मैले बिशेष गरि फूर्सदको बेला नै बसेर लेख्न सुरु गर्छु ताकी अरु काममा बाधा नपरोस ।
के विदेशिए पछि नेपालको बढि माया लाग्ने कुरा सहि हो ?
सहि हो मैले भोगेको भोगाइलाई हेर्दा ।
नेपाली ब्लगरहरुले भोगीरहेका मुख्य समस्या के हो? र यसको उत्थानको लागि के गर्न सकिएला?
सर्व प्रथम त एकता नै सबै भन्दा ठुलो कुरा हो जसलाई दौँतरीले मनन गरेर एक सूत्रमा बाँध्ने प्रयास पनि गरेको छ । जसमा दौँतरीलाई आभार प्रकट गर्न चाहन्छु । समस्याको कुरा गर्दा परिपक्व सामुहिक संयन्त्रमा नव आगमनलाई प्रोत्साहन गर्दै, प्रविधिलाई अझै सवाल बनाई सबैमाझ पुरयाउन आवश्यक छ । बिना सुचना कसैको प्रस्तुतिलाई नक्कल गर्ने कामलाई पूर्ण रुपमा निरुत्साहित गर्नु अर्को मुख्य कुरा हो ।
ब्लगले समाज वा देशलाई केही दिन सक्ला जस्तो लाग्छ ?
मेरो बिचारमा ब्लगले समाज वा देशलाई धेरै कुरा दिन सक्छ । कतिपय साथीहरुका ब्लग पढदा सामाजिक रुपान्तरणलाई नयाँ दिशा दिन सक्ने पृथक लेखहरु पनि छन । सामुहिक एक्यबद्धतालाई उजागर गर्दै नकारात्मक प्रवृतिमा खबरदारी र सकारात्मक प्रवृतिलाई उत्साहित गर्दै जाने हो भने पक्कै ब्लगरले समाज र देशमा सशक्त भूमिका खेल्न सक्छ ।
ब्लग र पत्रिकामा एउटै घटनाको बारेमा दुईथरी समाचार आए कुनचाही लाई विश्वास गर्नु हुन्छ?, किन?
त्यो त आफू -आफूमा भर पर्ने कुरा नै हो । मलाई पत्रिकाको जोहो गर्नु भन्दा ब्लगमै हेर्न रमाइलो लाग्छ किनकी बानि नै भै सक्यो ब्लग पढने ।
दौँतरीलाई सुधार गर्न के गर्नु पर्ला ? के कस्ता खुराकहरुको दौँतरीमा अभाव देख्नुहुन्छ?
दौँतरीको बारेमा खासै सुधार गर्नु पर्ने नयाँ कुरा मैले देखेक छैन । मलाई लाग्छ छोटो समयमा दौतरीले ठुलो सामुहिक संयन्त्र बनाउन सफल भएको छ । सम्पूर्ण बिधाहरुको पक्षमा शसक्त भएर उभिनु नै यसको सवल पक्ष हो । समय संगै बगेर नयाँ सोच र नयाँ खोजमा अनन्त सम्म बाँचिरहोस दौतरी मेरो शुभकामना !
हामीले छुटाएको तर तपाईले भन्न चाहनु भएको केहि कुरा छन कि ?
मेरो कुरा यो छ की दौँतरीलई सफल बनाउन लागि पर्नुहुने सम्पूर्ण सदस्य हरु प्रति सफलताको शुभकामना ब्लग तथा बक्तिगत जीवनप्रति पनि । ब्लगर भेला संगै समेटिएका प्रत्येक ब्लगका बुझाई र लेखाईहरु को क्रियाकलापलाई ठिक ढंगले समन्वित गर्दै अगाडी बढेमा पक्कै पनि ब्लग जगतलाई निर्द्दिष्ट लक्षमा पुरयाउन दौतरीले नयाँ र पुराना पिंढीका लागि अर्थपूर्ण अवसर ,साहस र उत्प्रेरणा प्रदान गर्दै, अन्धबिस्वासका खोटा बिचारहरुलाई विस्थापित गरि युगानुकुल नयाँ बिचारमा विचरण गर्न प्रतिबिम्बित गर्नेछ । यो यात्राले हामी सबैको गरिमालाई माथि पुरयाई समयमै नव प्रतिभा,सर्जक, अन्वेषक तथा बौद्धिक व्यक्तित्वहरुको अनुभव र दैनान्दिनीलाई लिपिबद्ध गर्न यथेष्ट सहयोग गर्नेछ ।
साथै ब्लग भित्र ब्लगमा सहभागी हुने अवसर दिनुभएकोमा तपाइहरुप्रति कृतज्ञता ब्यक्त गर्दै सबैलाई दौँतरीमा सहभागी हुन आग्रह पनि गर्न चाहन्छु ।
सुर्य जीको ब्लग: सिकारुको गोरेटोमा