जहिलेदेखि जंगल छोडेर , शहर पाल्नु भो मंगलै मंगल भा’को छ । चुनाबै नलडी , अन्तरिम संसदमा ८५ थान हग्ने पाध्ने हैसियत भएका सांसद पठाउनु भो अनि त्यहीँबाट ५, ७ थानले मन्त्रि खान पनि भेट्टाएकै हुन । शान्ति सम्झौता भैसकेपछि, छापामार भर्ती खुलाउनुभो र आँफ्नै भाषामा , सेनाको संख्या ४,५ गूणा बढी देखाएर क्याण्टोनमेण्टमा थन्काउनुभो भने साँच्चैका तालिमे लडाकूको अगुवाइमा वाइसिएल बनाएर बाहिरै राख्नु भो र यसैको प्रभावले चुनाब पनि जित्न सक्नु भो । हतियार दर्ता गर्ने बेला आयो , हतियार खोलाले बगायो भन्दै ,खै खोलो, सुक्यो’ भन्ने गीत गाएर मनोरञ्जन दिलाउनु भो । शान्ति भएर के हुन्छ र हामी क्रान्ति कै चरणमा छौँ भन्दै , सरकारमा बसेर पनि बाहिर आफ्ना कार्यकर्तालाई बिना बन्धन खुला छाडिदिनु भो र तिनले नै बन्द , हड्ताल, आन्दोलन र क्रान्ति सबै प्रतिपक्षीय राजनीति पनि गरिरहे । यसरी सरकारमा बसेर प्रतिपक्ष पनि आँफै बन्न सफल हुनु भो । कुनै बेला जुवा तास खेल्नेलाई तास खुवाउने क्रान्तिकारी पार्टीका मजदूर नेताको नेतृत्वमा नेपालका क्यासिनोहरूको कारोबारलाई संरक्षण गरिदिनु भो र समानताका आधारमा बिदेशी सरह नेपालीले पनि ‘क्यासिनो जान पाउने’ अधिकारको पक्षमा गजबले उभिनु भो ।
पूँजीवादीको बिरोध गर्दै आफ्नो पार्टीलाई धन आउने हरेक मोर्चामा खटाउनु भो । राजमार्ग र सडकमा ढाट तेर्साएर प्राइभेट कर उठाउने, घर घडेरी र रियल स्टेटको व्यवसायमा एकछत्र कब्जा जमाउने, खोला नालाको बालुवादेखि कवाडी उठाउनेसम्म , स्थानीयदेखि राष्ट्रियसम्मका कर, आयात निर्यात र ठेक्कापट्टामा हतियार र बलका भरमा संस्थागत नियन्त्रण राखेर सरकारी प्रशासन, सेना र प्रहरीको दोहलो काडेर आफ्नो पार्टीको वर्चस्व कायम राख्न अहोरात्र खट्नु भो । छापामारलाई शिविरमा कष्टकर जीवनमा छाडेर , अरबौँको रकम राज्यकोषबाट लिइरहनु भो र यसले हतियार किनेर सत्ता कब्जा गर्ने भाषण गरिरहनु भो । जीवनमा विलाशिता र परिवारवादको फेरोमा राम्ररी बेरिएर पनि , क्रान्तिकारी बनिरहन र गरीबको मसिहा बनेर उम्किरहनुभो । धर्म नै नचाहिने र धर्मको नामै नसुन्ने कम्युनिष्ट भएर पनि , पशुपतिनाथलाई समेत बिच्काउनु भो । हर क्षेत्रमा हात हाल्नु भो , न त कुनै काम नै फत्ते गर्नु भो । अधकल्चो र गिथलगाथलमा मात्र रमाउनु भो । कानून र राज्यको अभिभावक हुने ठाउँमा बसेर कानूनको शासन हुनुपर्छ भन्ने व्यवहार र विचारको हूर्मत लिन सफल हुनुभो । दलीय समीकरणमा सत्ता चलाउनु भो तर , निर्णय आँफूखूशी गर्न खोज्नु भो र यही कारणले राजीनामा दिएर सत्ताबाट हट्नुभो । सत्ताबाट सडकमा झर्नु भो , तर आँफै जिम्मेवारीबाट हटेको बिर्सेर फेरि सत्ता नपाएको झोँकमा बर्बराउन थाल्नुभो । यसै मेसोमा नाच्नुभो , गाउनु भो र कहिले काहीँ सुकुम्बासी उरालेर मच्चाउनुभो र मराउनुभो । १० थरिका नेतालाई प्रधानमन्त्रीको ‘अफर’ दिएर लोभ्याउनुभो र केही शिप नलाग्दा १० औँ लाखको रगत बगाउँछु भनेर पनि कुर्लिनुभो ।
सरकारका मन्त्रीहरू बिदेश बाहेक कतै सुरक्षित भएनन् सबै ठाउँमा काला झण्डामा ढुङगा बेरेर कार्यकर्ता देशभरि पठाउनु भो । सरकारमा हुनुहुन्न , तर देशलाई प्रदेश प्रदेशमा बाँडेर , सरकार त के सर्वदलीय सहमतिले पनि गर्न गाह्रो हुने काम आँफ्नै तजबीजमा जात जातलाई भाग बिलोमा बाँडिरहनुभा’छ । देश छ, सरकार छ , कानून छ , प्रशासन छ , सेना छ र पुलिस छ , तर तिनले त केवल जागिर खाने काम मात्र गरिरा”छन , यताउति घुमिरा”छन देश त सरकारमा हुँदा पनि नहुँदा पनि तपाईँले आफ्ना कार्यकर्ताका भरमा नै चलाउनुभा’छ त ! बाहिर बसेपनि सरकारमा बसेपनि देश तपाईँकै खटनपटनमा चलिरहेपछि , तपाईँलाई के कुराले पुगेन र कामरेड नागरिक सर्वोच्चताको नाममा सरकार मागिरहनुभा’छ ? छापामार, वाइसिएल र माओवादी सर्वोच्चताले मुलुक नै खग्रास नियन्त्रणमा परेको यो बेला , माओवादीरूपी बाँसको सेपिलो झ्याँग मुनि यो नागरिक सर्वोच्चताको कलिलो फूल बाँच्ला र कामरेड ? कामरेड, तपाईँको सर्वोच्चता सरकारमा नहुँदा पनि सर्वत्र छाएको छ , बाहिर बसेर पनि भित्र बस्दा हुन नसकेको कुनै काम हुन नसकेको वा बाँकि देखिएको छैन । तपाइँ नै सरकार तपाईँ नै प्रतिपक्ष, तपाईँ नै नागरिक अनि तपाईँ नै सैनिक सर्वोच्चता सबै भएको जनताले बुझेका छन् । माधव नेपालको टोलीले त सरकारी जागिर मात्र खाएका छन् , वास्तविक देश त बन्दूक बोकेका दिनदेखि हरेक भाषा, भाका र अर्थमा तपाईँले चलाउनु भएको छ । जनता सरकारसंग डराउँदैनन् तर अहिलेपनि तपाईँका शानमानदेखि थरहरी हुन्छन् अनि कसरी सोच्नुभो कि तपाईँ सरकामा हुनुहुन्न भनेर ? हाम्रो सरकार त तपाईँ नै हो । कामरेड, ती त नाममात्रका सरकार हुन, कामको सरकार त तपाईँ पो हो अनि किन यो नागरिक सर्वोच्चताको गिडगिडाहटमा सरकार मागिराहनुभा’छ ।सरकारमा बसेर मुलक हाँक्दा केही सीमा र नैतिकताकोपनि लाज राख्नुपर्छ तर , जिम्मेवारीबिहीन तरिकाले देश चलाउन पाइने यो बिद्रोही काइदाको प्रयोग गर्न पाइने भएपछि किन चाहियो त्यो देखावटी कठपुतली सरकार। हरूवाले पाएको सत्ता छोड्न चाहन्नन , जितुवाले हिंसा र हतियार बलले जितेका हुनाले हतियरै नचाएर हिंसाकै बलमा पाइन्छ भन्ठन्छन् ।
मागेर कसैले दिन्छन् ? थुतेर लिनुपर्छ क्रान्तिकारीले , जुन तपाईँले लिनुभएकै छ व्यहारमा सरकाररूपी ‘डन’ बनेर । त्यसो भए कामरेडलाई यो सरकार नै किन चाहियो ?