December 8, 2009

यो देख्नु वा सुन्नु परेको भए कार्ल मार्क्स रूँदा हुन कि !


International Management Consultancy firm Hay Group ले हालै गरेको एउटा आर्थिक सर्वेक्षणले मेरो ध्यान अचम्मै रूपमा खिच्यो । यसको कारण थियो यो सर्वेक्षणले देखाएको बिभिन्न मुलुकमा तल्लो तहको अफिस काम (clerical) गर्ने र उच्च पदका व्यवस्थापकीय ( managerial or executive) तहका जागिरेहरूका बीचमा उनीहरूले हासिल गर्ने तलब सुविधाको भिन्नताको अनुपात ।

हे ग्रुपको यो सर्वेक्षणले मध्य पूर्वका तेल उत्पादक धनी राष्ट्रहरूका- कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमान, बहराइन र साउदी अरेबिया - व्यवस्थापकीय ओहदामा काम गर्ने व्यक्तिहरू आँफ्नो कमाइको भरमा सबैभन्दा बढी पैसा खर्च गरेर जिन्दगी व्यतित गर्ने हैसियत राख्छन् भन्ने कुरा पत्ता लगाएको छ । यसको मुख्य कारण , ती देशहरूमा कार्यरत उच्च ओहदावाला व्यवस्थापक वा म्यानेजरहरूले प्राप्त गर्ने उच्च तलब सुविधा र ती मुलुकमा सरकारलाई फिर्ता बुझाउनु पर्ने न्यून करको व्यवस्था नै हो ।

प्रस्तुत सर्वेक्षणको रमाईलो पक्ष भने यस्तो रहेको छ । यहाँ एशियाका केही चुनिन्दा मुलुकहरूमा हालका वर्षहरूमा अफिस वा फर्महरूमा काम गर्ने तल्लो र माथिल्लो तहका जागिरेहरू बीचमा कायम रहेको तलब सुविधाको अन्तरको अनुपात देखाइएको छ ।

जागिरेहरूको आयको ( कमाइको ) अन्तर दर गुणा ( अनुपात) थोरैदेखि धेरै क्रममा :

देश

२००६

२००७

२००९

जापान

३.३

३.२

३.४

दक्षिण कोरिया

३.१

३.७

४.१

सिंगापुर

४.९

४.७

मलेशिया

६.२

हङ्कङ्

५.५

५.८

६.३

भारत

७.४

७.७

९.१

भियतनाम

११.७

११.८

९.८

थाइल्याण्ड

१०.६

१०.७

११.४

इण्डोनिशिया

८.७

९.१

११.८

चीन

१०.५

११.८

१२.६

प्रस्तुत सर्वेक्षणले पत्ता लगाएको आयको अन्तर अनुपात एशियाका पूँजीवादी मुलुकहरू मध्येका जापान र दक्षिण कोरियामा सबैभन्दा कम र कम्युनिष्ट मुलुकहरू भियतनाम र चीनमा ( टेबलमा रातो अक्षरमा ) सबैभन्दा बढी रहेको छ भन्ने प्रष्ट देखियो । हामीले अक्सर सुन्ने गरेको तथा कम्युनिष्ट नेताहरूले अक्सर हामीलाई सुनाउने गरेको कम्युनिष्ट मुलुकमा गरीब धनी बराबर वा समान हुन्छन् र ती देशमा जनताको बीचमा आर्थिक विषमता भन्ने कुरा हुँदैन भन्ने कुराको बिरुद्ध माथिको तथ्यांकमा आधारित तथ्यले मजाक गरेको हो कि जस्तो देखिन्छ ।

पूँजीवादी भनिएका मुलुकहरूमा बरू , ट्रेड युनियन र श्रमिक वेलफेयर ( कल्याणकारी) कानूनहरूको उचित व्यवस्था हुनाले त्यहाँका नागरिक वा कामदारहरूको हितमा पारदर्शी ढंगले नियम र व्यवहारको कार्यावन्यन र व्यवस्थापन हुने गर्छ , तर कम्युनिष्ट अधिनायकवादको चरित्र भित्र , पारदर्शिता भन्दा नारा र दावालाई चर्को प्रपोगाण्डाका विधिबाट जनतामा छरेर वास्तविकतालाई पर्दा लगाउने कोशिश गरिएको हुन्छ भन्ने सत्य यो कुराले जगजाहेर गरेको छ । अत: आर्थिक समानता र विषमता अन्त्यको खोक्रो दावामा , कम्युनिष्टहरू अरू बढी र सबैभन्दा चर्का पूँजिवादी हुँदै गरेको सत्य तथ्य मात्र यहाँ प्रकट भएको मान्नु पर्छ । नेपालका कम्युनिष्टहरू बलजफ्ति चन्दा, धान लुट्नेदेखि र महायज्ञबाट धन जम्मा गर्ने समजावादी कर्ममा लिप्त भएको देख्नु परेको भए अनि कम्युनिज्म भित्र समानताको यस खाले धज्जी उडाइको बिडम्नापूर्ण हूर्मत देख्नु वा सुन्नु परेको भए , कार्ल मार्क्स बाजे धुरूधुरू रून्थे होला !

स्रोत: http://www.haygroup.com/ww/press/index.aspx