May 21, 2009

खुल्ला किताब

आचार्य प्रभा
(अमेरिका )

खुल्ला किताब सम्झिएर पढ्न खोज्यौ कि ?
बिझाउने काँडा बनी गड्न खोज्यौ कि ?

रोकिएका पाइलाहरु अघी सार्न खोज्दै
मेरो हात समाइ अघी बड्न खोज्यौ कि ?

आफ्नो ब्यथा लुकाएर मनभित्र भित्रै
मेरो पीडा पैंचो माग्दै लड्न खोज्यौ कि ?

शितल त्यो मनभित्र किन राप पाल्छौ ?
मेरो मनको ताप लिइ डढन खोज्यौ कि ?






नेपालले श्रीलंका बाट सिकोस

शेखर ढुङेल

हालै दक्षिण एसियाको एक सुन्दर र बुद्ध मार्गि देश श्रीलंकाले आफ्नो २५ बर्षे पिडादायक गृहयुद्ध बाट मुक्ती पाएको छ । अफनै बुद्धिमता पूर्ण रणनिती र फौजी कुसलतामा। यो पछील्लो फौजी कार्यबाही असफल भएको भए भारत को घूमाउरो कुटनैतीक पहलमा बेलायत, नर्वे, अस्ट्रेलिया र क्यानडाको दबाबले अल्पसन्ख्यक भारतीय मुलका तमिलहरुको लागि छुट्टै राज्य स्विकार गर्नु को बिकल्प श्रीलन्काली सरकारसंग बाँकी रहने अवस्था थिएन । ति राष्ट्रहरुको सुझाब र दबाबमा सयुक्त राष्ट्र संघ हिंसा रोक्ने बहानामा इन्डोनेसिया बाट इस्ट-टिमोर अलग गराए झै तमिललाई श्रीलन्का बाट अलग गर्नै पर्ने मनस्थितीमा पुगेको थियो ।

मध्यस्तताको नाममा आतंककारीहरु लाई मान्यता दिने वा युद्ध लम्ब्याउने सयुक्त रास्ट्र संघको मार्टिन प्रबृतिका छल बुझेर यस पटक श्रीलन्काले बेलायति र नर्वेका कुटनितिज्ञ लाई प्रबेश आज्ञा समेत दिएन । आफ्ना मुलका नागरिकको सुरक्षाको नाममा शैनिक हस्तक्षेप गर्न चर्को दबाब परेको भएता पनि चुनाबि अवस्थाको कारणले भारत अगाडि बढ्न सकेको थिएन तर सयुक्त राष्ट्र संघ मार्फत नरसम्हार रोक्न भनी दुबै पक्षलाई युद्ध बिरामको लागि ठुलो दबाब पर्‍यो । पराजयको मुखमा पुगेको लिट्टेले घोषणा गरे पनि जितको संघारमा पुगेको सरकारी फौजले कार्यबाही अगाडि बढाइ सफलता हासिल गरी छोड्यो । बेलायति, अस्ट्रेलियन, क्यानेडाली पत्रकार, ( बेलायत को च्यानल ४ टिभी ) डाक्टर, मानबाधिकारी कार्यकर्ताले सरकार लाई पछी हट्न चर्को अन्तरराष्ट्रिय दबाब पुर्‍याउने काम गरे पनि सफल हुन सकेनन । अन्दाजी एक लाख श्रीलन्काली जनताले आहुती दिईसकेको यो गृहयुद्धको अन्तिम लडाईंमा सोचे भन्दा बिपरित र न्युन रक्तपातमा सम्पन्न भयो । बधाई श्रीलन्काली जनता र सरकार लाई ।

यसै सन्दर्भमा नेपालका केही ब्यक्तित्वले ''एक मधेश एक प्रदेश '' को माग पुरा नभए श्रीलन्का बनाउने धम्की दिएका छन । तराइमा '' एक मधेश एक प्रदेश ' को माग पुरा गराउन छेत्रीय दल शसक्त रुपमा लागि परेका छन । त्यस्को बिरोधमा तराइका आदिबासी थारुहरु पनि प्रतिकारमा उत्रेका छन । मधेसबादी दल लाई भारतले श्रीलन्काली तामिल लाई झै प्रतक्ष सहयोग गरी राखेको र नेपालको उपल्लो राजनीतिमा पनि बलियो प्रभाब पार्दै गएको छ। केही समय अगाडि पौने करोड भारतीय मुलका लाई बितरण गरिएको नागरिकता त्यस्को प्रमाण हो । नेपालमा भारतको बढ्दो हैकम, प्रभाब र नेताहरुको आज्ञाकारी कार्यकर्ता जस्तो नतमस्तक हुने प्रबृत्तीले डर लाग्दो भबिश्‍यको अनुमान गरिदै छ । जसरी श्रीलन्का ले बिदेशी हस्तक्षेप लाई निस्तेज गर्‍यो र आन्तरिक राजनीति सन्चालन गर्‍यो, के हामी त्यस्को अनुसरण गर्न सक्दैनौ ? सत्तामा जान र टिक्न प्रत्यक दलका नेताले भारतीय आसिर्बाद थाप्न जाने हो भने कसरी जोगिन्छ हाम्रो स्वतन्त्र, स्वाधिन राष्ट्र को अस्तित्व ?। यो लेख लेखी रहदा प्रस्ताविक प्रधान मन्त्री माधव नेपालले भारतीय बिदेश मन्त्री प्रवण मुखर्जी लाई फोन गरी माओवादीले सदन अबरुद्ध गरी राखेका छन भनी गुनासो गरे भन्ने समाचार सुन्दा कुन शब्दमा नेपालको भर्त्सना गर्ने होला ?

देशको स्वतन्त्रता, स्वाधिनताको मर्म र देशको नेता हुनु को धर्म र गर्ब समेत नबुझ्ने राजनीतिज्ञहरुले श्रीलन्का बाट शिक्षा लिनु जरुरी छ । हामी जनता र हाम्रो नागरिक समाज को जीम्मेवारि हो राष्ट्रको स्वतन्त्र, स्वाधिन अस्तित्व कायम राख्नको लागि कुनै पनि प्रकारको बिदेशी हस्तक्षेप रोक्न दल र नेता हरु लाई खबरदारी गर्ने अन्यथा चितुवा आयो चितुवा आयो भनी गाउले लाई झुक्याइ मजा लिने भेडा गोठालो को नियती नेपालले भोग्नु पर्ने छ ।



लिट्टे र प्रभाकरणको अवशान अनि नेपाली प्रभाकरणहरू:

- एकलव्य

हरेक राजनैतिक एवं दार्शनिक आन्दोलन वा हिंसात्मक क्रान्तिहरू कुनै वास्तविक अहं मुद्दाहरूमा स्थापित भएकै हुन्छन् । त्यो विषयका पक्षधरहरूले त्यही कुरालाई क्रान्तिको विरोचित जामा पहिराउँछन् भने त्यो धारणाको बिपरित दिशामा उभिनेहरूका लागि त्यो भावनात्मक आतंकको एउटा नशा सिवाय केही ठहर्दैन । आँफूलाई क्रान्तिकारी ठान्नेहरूले अक्सर भन्ने गर्छन, ‘ज्यानको बाजी थापेर लडेका मान्छेहरूको निष्ठामा शंका गर्नु हुन्न’ । निष्ठा विवादको विषय हुन नसक्ला तर औचित्यका बारेमा त्यसै भन्न सकिन्न । यस्तो परिभाषा अनुसार, ज्यान दिनेहरू निश्चित रूपमा उच्च कोटिका ठूला मान्छेहरू हुन् र अरू ज्यानको माया गर्ने सामान्य मान्छेहरू क्रान्तिकारिताको महानता बुझ्ने औकात नभएका कायर हुन । बिगत २६ वर्षदेखि संसारकै अत्यन्त डरलाग्दो मानिएको श्रीलंकाको पूर्व र उत्तरमा चलेको अपरम्परागत ( unconventional domestic war) आन्तरिक युद्ध, यो युद्दका प्रणेता र लिबरेसन टाईगर्स अफ तामिल इलम र यसका प्रमुख बेलुपिल्लइ प्रभाकरणको अन्त्य संगै हिंसात्मक युद्धका धेरै पाटाहरू सतहमा आइपुगेका छन् – थोरै जवाफहरू र धेरै प्रश्न र प्रतिप्रश्न सहित ।

सन् १९४८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र बनेको हिन्दमहासागरीय टापू राष्ट्र श्रीलंका कुनै जमानमा पूर्वको मोतिको उपनामले समेत चिनिन्थ्यो । सामूद्रिक मागमा पर्नाले अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बन्ने सम्भावना भएको यो मुलुक चिया, मसला र अन्य कृषिजन्य नगदेवाली तथा खनिजको प्रचूरताका लागि विख्यात त छँदै थियो । यही देखेर, सन् १९६५ तिर इङ्ल्याण्ड जाँदै गर्दा सिंगापुरका संस्थापक प्रधानमन्त्री लि क्वान यू ले श्रीलंका देखेर भनेका थिए रे ‘ अबको दश वर्षमा सिंगापुरलाई श्रीलंका जस्तो बनाउनेछु’ । श्रीलंकामा ब्रिटिशहरूले बनाइदिएको ४५० किलोमिटर भन्दा लामो आन्तरिक नहरहरूको नाभिकिय मार्ग, रेलमार्गको सन्तुलित विकास र उपनिवेशकालीन भौतिक संरचनाको अति सम्पन्न विरासत थियो र यही कुरा देखेर लि क्वान यू समेत प्रभावित भएका थिए । तर १९४८को स्वतन्त्रता पश्चात, सिंहालीहरूको ८०% बहुमत रहेको यो मुलुकमा सयौँ वर्षदेखि बसिरहेका १७% भारतीय मूलका तामिलहरूको अस्तित्वलाई सकारात्मक रूपमा स्वीकारिएन र गलत राजनैतिक निर्णय लिएर ब्रिटिशकालीन श्रीलंकामा विशेष अधिकारसहित बसोवास गरिरहेका अल्पसंख्यक तामिलहरूको हैसियतलाई नकार्दै उनीहरूलाई गैर र आप्रवासी ठानेर त्यही दर्जाको भेदभावपूर्ण छाप लगाइयो अनि तामिल भाषा र हिन्दू धर्मलाई राज्यको आलेखबाट समेत निरस्त गर्ने निर्णय गरियो । फलत: बिद्रोह , बगावतका क्रमहरू शुरू भए र यिनै छिटपूट आन्दोलनको बाटोबाट सन् १९८० को दशककको शुरवातसंगै श्रीलंकाली धरतीमा संसारको सबैभन्दा दूर्दान्त, त्रासदिपूर्ण र डरलाग्दो नरसंहारकरी युद्दको प्रारम्भ र विकास भयो । यो कार्यको प्रणेता थियो – LTTE ( Liberation Tigers of Tamil Elam )भन्ने क्रान्तिकारी वा आतंकाकारी संगठन । यसको नेतृत्वमा रहेर आन्तरिक युद्धको कार्यनीति र तरिकालाई मान्छेले सोच्नै नसक्ने खालको बिभिषिकापूर्ण रूप दिने काम गरे यसका नेता बेलुपिल्लई प्रभाकरणले ।

प्रभाकरणको नीतिमा युद्धका लागि सबै कुरा जायज थियो । उनले संसारकै इतिहासमा आत्मघाती मानव बमहरूको ( suicide bombers, human bombs, Explosive human death squads ) श्रृंखलाको आविष्कार र तीनीहरूको डरलाग्दो ढंगले प्रयोग गरे । आधिकारिक आंकडाका आधारमा , अल्पसंख्यक तामिलहरूका लागि पूर्व र उत्तरी श्रीलंकाको एक तिहाइ भूभागमा स्वतन्त्र तामिल राज्यको लागि लडिएको यो लगभग तीन दशक लामो युद्धमा लगभग ७०-९० हजार मान्छेहरूको मृत्यु भैसकेको छ । यो समयावधिमा थुप्रै हजार सर्वसाधारण श्रीलंकाली नागरिकहरू, प्रहरी ,सेना , मध्यमार्गी र नरमपन्थी तामिल कार्यकर्ता र नेताहरू, अन्य श्रीलंकाली दल र सरकारका नेताहरू अन्य राजनेताहरू सहित श्रीलंकाका विदेश मन्त्री तथा तामिल नेता लक्ष्मण कादिगमर, पूर्व राष्ट्रपति रणसिंहे प्रेमदासा, भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी यो युद्धको शिकार हुन पुगे ।

प्रभाकरणको शव्दकोषमा , तामिल राज्यका बिरुद्द उभिने कसैका लागि पनि कुनै उदारता र क्षमा उपलव्ध थिएन । थुप्रै शान्ति प्रकृया र शान्तिकालागि दिइएका भारतीय तथा अन्तर्राष्ट्रिय मध्यस्थततालाई नकार्दै प्रभाकरण केवल युद्धको लागि लागिरहे र यसको परिणाम अहिले विश्व सामू प्रष्ट भैसकेको छ । हिजो बेलुकासम्ममा , प्रभाकरण , उनको परिवारका सबै सदस्यहरू , तामिल टाइगर्सको सम्पूर्ण उच्च नेतृत्व र सेना सबै श्रीलंकाली सेना र उसको चीनिया हतियारको शिकार बनिसकेका छन् । यसरी एउटा कहालिलाग्दो युद्धको निरिह पटाक्षेपहुन पुगेको छ । कुनै बेला प्रभाकरणको दाहिने हात मानिने जनरल करूणा जसले सन् २००४ तिर हजारौँ टाइगर्स छापामारसहित प्रभाकरण बिरुद्द बिद्रोह गरेका थिए र अहिले एउटा तामिल पार्टी खोलेर सरकारमा समेत मन्त्री छन् उनलाई हिजो एउटा भारतीय पत्रिकाले अन्तर्वार्तामा सोधेको थियो – ‘यो युद्धबाट श्रीलंकाली तामिलहरूले के पाए त ?’ र उनले जवाफमा भनेका छन् ‘केही पाएन वा शून्य’ । यत्रो रक्तरंजित युद्धको परिणति आज आएर ‘ वर्ग एक’ ( back to square one) मा खुम्चिएको छ । कुनै बेला एक तिहाइ श्रीलंकालाई आफ्नो प्रभावमा राख्न सफल आफ्नै हवाइ ( air-force) र नाभिकिय ( naval force) सामर्थ्यले सुसज्जित अनि निजी सैन्य दस्ता समेत भएको टाइगर्स आज नेस्तनाबूद बनेको छ । यसको औचित्यलाई इतिहासले आफ्नै ढंगले व्याख्या गर्ला नै तर , यो खरानीको थुप्रो बनेको इतिहासमा विस्मृत हुन ज्यान गुमाएका लाखौँ श्रीलंकालीहरू र अन्य जीवनहरूको बारेमा सोच्दा हिंसात्मक युद्धको औचित्यका बारेमा असंख्य प्रश्नहरू मनमा उम्रिनु स्वाभविक छ । के रह्यो त यसको विरासत ? युद्द लडेर मात्र हुन्न तिनको सेफ ल्याण्डिङ पहिल्याउन सकिएन भने परिणति यस्तै बन्न सक्छ ।

श्रीलंकाली गृहयुद्धको पृष्ठभूमि, कथा र व्यथाको आकार र प्रकार सबै कुराहरू नेपालको अशान्तिको निकट इतिहासबाट पूर्णत: पृथक छन् । तर एउटा कुरा नेपालका बारेमा भन्न सकिन्छ – या त पक्ष वा विपक्षमा युद्धको निष्कर्षयुक्त पटाक्षेप हुनैपर्छ कि त शान्ति र समन्यवका लागि इमान्दार निष्ठा र व्यवहार देखिनै पर्छ युद्धका पक्ष-विपक्षमा। अर्को शव्दमा , युद्धका लागि परिस्थिति नबनेको वा नरहेको र युद्ध नै नभएको राम्रो हो तर यदि हुनु नै छ भने ,युद्धको फैसला युद्ध मैदानमा निर्णायक बनेर एउटा वा अर्काको निर्णायक जय वा पराजयमा टुंगियो भने त्यसपछिको थालनीले सही बाटो पहिलाउन सजिलो पर्छ । अधकल्चो प्रण र युद्धको धङधङी थाति राखेर चोर उद्देश्यमा अल्झिएको छलछामले दीर्घकालीन अशान्तिलाई नै निम्ताइ रहन्छ, शान्तिका लागि निदान पहिलाउन्न । शान्ति, समन्वय र समझदारीको नाममा मौकापरस्त रणनिति र चालबाजीको शिकार बन्दा हाम्रो अपेक्षा केवल थिलोथिलो बन्छ ; निष्कर्षमा शान्तिको गन्तव्य फेला पर्दैन । श्रीलंकाको असफल गृहयुद्धको निरस , निरिह र दु:खदायी परिणति र पटाक्षेपले हामीलाई पनि युद्धको मादक अर्थहीनताका बारेमा केही पाठ पढाउन सक्नु पर्छ ।



यहाँ फूल फूल्नै पाएनन्

मृदुल

यहा फुल फुल्नै पाएनन् बसन्त आउदा पनि।
आशु कैलै हाँसो बनेन अबसर पाउँदा पनि॥

केवल हाउभाउ मात्रै देखायो पछि फर्कि हेरेन।
हात्ति आयो फुस्सा मात्रै नयाँ काँचुली फेरेन।

यहाँ पालुवा पलाउन पाएन बसन्त आउदा पनि
दुख कैलै सुख बनेन अबसर पाउँदा पनि॥

पार्नु सम्म कुण्ठित पारी ह्दय यो जलायौ
आशको निरास पारी आखिर के नै पायौ॥

रंग कैलै फेरियन यहाँ बसन्त आउदा पनि।
चिन्ता कैलै खुसी बनेन अबसर पाउदा पनि॥