उर्वर फाँट , हरियो तराई , टल्केको हिमाल
कलकल नदी, पहाड , ताल फुलेको नेपाल
सुन्दर छवी , शान छ हाम्रो कीर्ति त कति पो !
सम्हाले आफ्नो अतितको गाथा भविष्य हाम्रो हो ।
एक थिए पूर्खा मिलेर तिनले सिर्जना गरेका
माटोको नशा, देश हो मुटु ज्यान दिँदै लडेका
रगतको दान गरेर तिन्ले सीमा त्यो कोरेका
जात र भाषा धर्म र दम्भ माथि ती उठेका ।
देउथलको युद्द नाला र पानी कुमाउ र टिष्टाका
गाथा र कन्था , घाउ र व्यथा सम्झेर हेर त
जीवनको मोह , तेरो र मेरो देखिन्छ कहीँबाट ?
सकिन्न उठ्न तोडेर स्वार्थ लत्रेको भूईँबाट।
नलाऊ भाग , नबनाऊ साँध पूर्खाको छातिमा
फुटेर भाइ ननिम्ताऊ चोर अँध्यारो रातिमा
बनेर आँफू बनाऊ अरू , हातमा हात देऊ
सम्हाल साँध बलियो बनाऊ मेचि र काली छेउ।
बनाए बन्छ भत्काए ढल्छ जीवनको यो गति
माटो हो मुलुक बगाए बग्छ भएमा दूर्गति
ढल्दिनन् आँफै सिर्जना देवी सुरम्य वसुधा
सम्हाले हुन्छ, जोगाए बन्छ देशको अस्मिता ।
तेरो र मेरो स्वार्थको भाव फुटेको मानव
आकार मात्र भएर हुन्न , सोचको दानव
इमान सोच बेहोरा रित्तो हामी यो के भा’को
लत्याई विचार , शान र मान हाम्रा ती पूर्खाको
हटाई हिंसा , मलहम लगाऊ मुलुक हाम्रो हो
सय थरि भाषा जाति र धर्म मिलेकै राम्रो हो
मिलेर झिँजा बलीयो भारी दाउराको बनेको
मिलेरै बन्छ हजारौँ खोला विशाल नदी त्यो ।
- एकलव्य
April 18, 2009
Subscribe to:
Posts (Atom)