April 4, 2009
नर्डिक भ्रमणको 'विण्डफल' एउटा परिहास ।
हो कामरेड , ध्वंस गर्न, फुटाउन, ध्वस्त पार्न , सफाया गर्न , बिनास गर्न मात्र सजिलो हुन्छ , सकारात्मक र निर्माणको काम फलामको च्यूरा नै हुन्छ । हिजो तपाईँको समूहले हिंसाको ताण्डव नेपाली भूमिमा नाच्दै गर्दा, श्रीलंकाको शान्ति प्रकृयामा सहयोग गरेको नर्वेले नेपालमा पनि तपाईँहरू शान्ति प्रकृयामा आउनुभयो भयो भने धेरै कुरामा सहयोग गर्नेछौँ भन्ने आश्वासन तपाईँलाई दिएको थियो , तर आज तपाईँहरू आफ्नो हिंसात्मक युद्दको अध्याय अधकल्चो पारेर ( बिसाएर भन्न भएन, किनभने हिंसा बिसाउनु भएको त छैन ) , सत्तामा हुनुहुन्छ र नर्वेले तपाईँलाई 'ललिपप' दिएर फकाउनु पर्ने दरकार नै छैन । भात खान निहू खोज्ने रूञ्चे बेबिलाई पो चक्लेट किन्दिऔँला भनेर फकाउने हो , खाइसके पछि त 'जा गएर पढ वा काम गर' भन्ने हो नि !
कामरेड प्रचण्डले एकहप्ते नर्वे-फिनल्याण्ड भ्रमणको पोको बिसाउँदै खुइय्य गरेछन् र भनेछन् ' हावाबाट बिजुली निकाल्ने कुरा हावा नै रहेछ' । नजिक बसेकी कामरेड सीता अनि नवयुवराज प्रकाशले पनि भृकुटी खुम्च्याउँदै नर्वे भ्रमण मन नपरेको छनक दिए । उनीहरूले नर्वे फिनल्याण्ड त्यति 'इन्जोए' गरेनछन् । सायद उत्तर ध्रुवको नजिक अवस्थित , यी अँध्यारा मुलुकहरूले महारानी सीता देवि तथा , मजाकिया मिजासका नवराजकूमारलाई त्यति दित मर्ने आनन्द प्रदान गर्न सकेन ।
अनि पहिलोपल्ट अचानक स्थगित गरेर पुन: २,३ महिना पछि साइत जुराएर बडो तामझाम र चर्चा बीच गरेको भनिएको यो 'बिजुली' भ्रमणले कुनै गुल खिलाउने वा बुलुब बलाउने छाँट देखिएन । प्रधानमन्त्री प्रचण्डले केवल परिवारसहित एक हप्ते बिदा बिताएर 'अप्रिल फूल' मनाउने र मुलुकलाई पनि 'फूल' बनाउने सौभाग्य पाउनु भयो । देशमा बिजुलिको हाहाकार भएका कारण आत्तिएर , १६ घण्टे लोडसेडिङलाई कम गर्न , ठूला ठूला बिजुली उत्पादन गर्ने पंखाहरू सापटी माग्न वा किन्नका लागि उता जानुभएका प्रचण्डलाई कुनै 'विन्डफल' त भएनछ भन्ने कुरा बुझियो नै , साथसाथै हरेक भ्रमण जस्तो यो भ्रमण पनि केवल 'उत्पादक' मात्र बन्न पुगेछ, दु:ख लाग्यो । आशा गरे जस्तो 'अत्यन्त सफल' र 'चामत्कारिक' स्तरको भ्रमण भयो भन्ने सम्मको प्रतिकृया नआएको खण्डमा , भ्रमणहरू आशातित नभएको अर्थ लाग्ने भएको हुनाले, कामरेड परिवारको नर्डिक मुलुकको भ्रमण 'विण्डफल' सपनामा 'हावादारी' मा घटुवा बन्न पुगेछ । कामरेड सिताको मुखमण्डलमा पनि त्यो कान्ति नदेखिएका हुनाले , कामरेड प्रचण्डको 'बिजुली भ्रमण' को उत्साह भविष्यको कुनै समयमा फिनल्याण्डले बनाइदिने भनेको 'पोलि टेक्निकको' कथात्मक आश्वासनमा खोजिने छ ।
मेरो सल्लाह छ , अहिले मुलक मै बसेर काम गर्नूस् । आफ्ना कार्यकर्ताका कारण थिलोथिलो बनेको मुलुकको शान्ति प्रकृयालाई उकेरा लगाउनुस्, सबै दलहरूसंग मित्रतापुर्ण सम्बन्ध कायम गरेर एउटा सर्वसम्मतिको नया संविधान निर्माणमा पहल गर्नूस्,मुलु भित्रको सम्पदाको वैभवलाई कसरी अधिकतम ढमगले परिचालन गर्न सकिन्छ भन्ने बारेमा एउटा बृहद् 'गोलमेच'सम्मेलन डाक्नूस् , एउटा सर्वदलीय संयन्त्र बनाएर त्यसलाई विश्वासमा लिई नजिकका छिमेकी भारत र चिनसंग जलविद्युत , पर्यटन र ट्रान्जिट रूट निर्माणका बारेमा सन्तुलित प्रस्ताव लैजानूस् र लगानीको वातावरण निर्माणमा आश्वस्त पार्नूस् । अन्य दातृराष्ट्रसंग आफ्ना प्रतिवद्दता, र व्यवहारिक अठोट एवं इच्छाशक्तिले बार्गेन गर्नूस् किनभने बाँकि संसारले हामीमा स्थायी र विस्वासिलो शान्ति खोजेको छ जुन बाहिरबाट प्रष्ट देखिन सकोस् । बाँकि संसारलाई तपाईँ वा अर्को अमूक समूहले हाइज्याक गर्न खोजेको राजनितिक 'तन्त्र'को कथित शान्तिको हौवामा विस्वास छैन । पहिला, हामी नेपालीबोधको समष्टिपूर्ण शान्ति स्थापनाको विश्वासिलो प्रस्थापन गरौँ अनि अरूले विश्वास नगर्ने कुरै छैन । यसो गरेनौँ भने , हावाले बिजुली बाल्ने हावादारी भ्रमणको सिलसिला 'हावा नै रहेछ ' भन्दै 'भ्रमण उत्पादक रह्यो' बन्ने कस्मेटिक राग अलापमा समाधिस्थ बन्ने नौबत आइरहनेछ ।
हेल्लो कामरेड, तपाईँले भन्ने गरेको 'जनता' को हो ?
राष्ट्र र जनताको पक्षमा निर्णय नगरी व्यक्तिको पक्षमा निर्णय गर्ने अदालत नै होइन ― रक्षामन्त्री थापा -विक्ली नेपाल डट कम
" जनताले अदालतको फैसला मान्न पर्छ भन्ने छैन" - राम बहादुर थापा
" जनतलाई अदालतको फैसलाको बिरोध गर्ने हक हुन्छ" - एकराज भण्डारी माओवादी कानूनविद्
" अदालत र सेना जनताको पक्षमा ल्याउनु पर्छ र मात्र गणतन्त्र बलियो हुन्छ"- बाबुराम भट्टराई
यसो त माओवादीको नामले चिनिने सबै कुरामा 'जन' वा 'जनता' को फूर्को टाँसिएकै हुन्छ । नेपालमा मात्र हैन संसारकै दुर्नाम तानाशाह किम जोङ इलको कम्युनिष्ट उत्तर कोरया पनि 'जनवादी गणतन्त्र' नै हो । नेपालको सन्दर्भमा 'जनयुद्द', 'जनसेना', 'जनपक्षीय, ,'जनदिसा', आदि क्याचवर्डहरू माओवादीका एकल पेवा हुन पुगेका छन् । पञ्चायत अवसान हुनु पूर्व 'जनपक्षीय' भनेकाहरू बामपन्थी खेमामा उभिएका पञ्चायती राजनीतिकार मानिन्थै भने कांग्रेसीहरू आँफूलाई प्रजातन्त्रवादी भनेर चिनाउने गर्थे । तर समयक्रम संगै 'जन' को यो फूर्को माओवादीले 'हाइज्याक' गरिसकेको छ । माओवादिको बुझाइ र दावालाई मान्ने हो भने अबको नेपालमा 'जनता' वा 'जन'शव्दको एकल प्याटेण्ट राइट ऊसंग मात्र छ , कुनै अर्को शक्तिले यो दावा गर्न सक्दैन ।
भर्खरै सेनाका ८ जर्नेलहरूको सेवा अवधि नबढाउने भनी रक्षा मन्त्रीले गरेको फैसलामाथि अदालतले अन्तरिम आदेश गरी सरकार बिरुद्द निर्णय दियो । माओवादीले आफ्ना कतिपय सभासद, नेताहरू समेत सहभागी रहेको बिरोध जलुस निकालेर अदालका यस्ता माओवादी निर्णय बिरुद्द उभिन खोज्ने न्यायधीशहरूलाई 'फाँसी'हुनुपर्ने क्रानतिकारी माग सहित आफ्ना मजदूर, जातिय संगठन र अन्य भ्रातृसंठनका 'जनता' सडकमा उतारेर बिरोधको ताण्डव सिर्जान गर्यो । यस कालको सिलसिला नया पनि हैन, हिजो पनि कथित जनयुद्दको क्रममा माओवादीका कार्यकर्ता वा नेताहरूको उर्दि बमोजिम बिरोधी दलका कार्यकर्ताहरू कत्लेआम गरिन्थ्यो अनि सरकारको पक्षमा जासूसी गरेको कसुरको झ्याली पिटाएर ' जनताले' कार्वाहि गरेको भनेर सजायँ पछिको माओवादी फैसलाहरू आउने गरेको हामीले सुने जानेकै हो ।
आखिर को हो त नेपालमा यो 'जनता' शब्द्ले चिनिने यस्तो नाम नखुलेको अमूर्त समूह ? वास्तवमा नेपाली भनेर चिनिने सबै स्वदेश र बिदेशमा बसेका नेपालीहरू जो मोटामोटी ३ करोडको हाराहारीमा छन्, ती सबै जनता हुनु पर्ने हो । तर माओवादीको परिभाषाको पछि लागेर जनताको निर्क्योल गर्ने हो भने यस्तो हिसाब हुन आउने रहेछ । नेपालको सम्पूर्ण जनसंख्या मध्ये लगभग १ करोड ५० लाख बालिग मताधिकार गर्ने योग्यता पुगेको हरूको आँकडा हाम्रो सामू छ । यी १ करोड ५० लाख मध्ये लगभग ६०% ले मतदान गरेको मान्ने हो भने ९० लाख नेपालीले मतदान गरेको मान्नु पर्ने हुन्छ । थाहा भएको आँकडा अनुसार माओवादीले गत निर्वाचनमा तमाम कारनामा र कृत्यका बाबजूद प्राप्त गरेको मत लगभग २९ लाख जति हो जुन समग्र नेपाली बालिग जनसंख्याको २०% हो , खसेको मतको २९% जति हो र समग्र जनसंख्याको १०% भन्दा पनि कम हो । अनि माओवादी वा अन्य कुनै दललाई मत हाल्नेहरू मध्ये पनि सबे ती दलका हरेक कुरामा सती जान चाहने 'डाइ हार्ड'फ्यानहरू पनि हैनन्, जुन 'एब्स्ट्रायाक्ट जनता' को हवाला दिएर आफ्ना हरेक आग्रहरूलाई सही ठहर्याउने दुहाइ दिन सकियोस् ।
सरकारमा बसेर काम गर्ने भए पछि , राष्ट्र सञ्चालन मेकानिज्मका अबयबहरू न्यायपालिका, कार्यपालिका र विधायिकाका कार्यक्षेत्रहरू र तिनले गर्ने कार्यहरूलाई एकअर्काले कसरी अपनाउने वा प्रतिकृया धारण गर्ने भन्ने सम्बन्धमा स्पष्ट विधिहरू छन्। विधिको शासनमा प्रतेक कुरा र कामको निरूपण गर्न निश्चित प्रकृया र बाटोहरूको व्यवस्था गरिएको हुन्छ । विचार पुर्याएर निर्णय लिन नसक्ने , निर्णय लिने कुरामा केवल बिद्रोही राजनीतिको पूर्वाग्रह मात्र कारक बन्ने र पछि गएर निर्णयहरू उपर सर्वत्रबाट प्रहार हुने , कानूनी त्रुटीहरूको बोझ पैदा हुने र निर्णय फिर्ता लिने नौबत पैदा हुने शैलि वर्तमान माओवादी नेतृत्वको सरकारको चरित्र रहेको छ । यस्तोमा आफ्नो , लाज बचाउन हरेक असफलताको नाङ्गोपन ढाक्न माओवादी राजनीतिका हर्ताकर्ताहरू यो कथित 'जनता'को दुहाइ दिएर के कुरा साबित गर्न खोज्दैछन् , बुझ्न खोज्नु नै उदेक लाग्दो भएको छ । यस्तोमा मेरो प्रश्न छ , कामरेड को हो त्यो 'जनता' जसले मात्र तपाईँको पक्षमा हरेक ज्यादतिलाई क्रान्तिको रूपमा ग्रहण गर्ने गर्छ ? के 'जनता' नामको त्यो अमूर्त हौवा खडा गरेर त्यही कौपिनको टालोले माओवादीको इज्जत र आबरू जोगिइरहन सम्भव होला र ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest