मैले चिनेका केही मान्छेका नामहरू वास्तवमा अत्यन्त विपरित अर्थ लाग्ने खालका छन् । एकजना कर्ण बहादुर हुनुहुन्छ । वहाँको नाम अनुसार वहाँका कानहरू एकदमै टाठा हुन पर्ने हो । तर अफशोस वहाँ चर्को कुरा मात्र सुन्ने खालको बहिरो मान्छे हुनुहुन्छ । त्यस्तै अर्का नेत्रपाणी बाजे हुनुहुन्छ, तर नामको सार्थकता झल्किनु पर्नेमा विधिको विडम्बनाले वहाँ कानो हुनुहुन्छ र एउटा आँखा पटक्कै देख्नुहुन्न। अहिले बूढेस कालमा अर्को आँखाको तेजमा पनि कमी आउनाले वहाँ लगभग अन्धो हुन पुग्नु भएको छ, लट्ठिको भरमा हिँड्नु हुन्छ । झन अर्का बुद्ध बहादुर त बुद्धको अहिंसाको धर्मलाई धज्जी उडाउन नै जन्मेका जस्ता छन् । उनी परोस् नपरोस् मारमुङ्ग्रीमा उत्रीने, अति धेरै मासु-माछा र मदिरा सेवन गरिरहन पर्ने र मान्छे मार्ने र पिट्ने कुरामा जाइलाग्ने खालका छन् । अहिले मेरो जिल्लाका माओवादी नेता रहेका उनले गाउँतिर पसेर त्रास नै मच्चाउने गरेका छन् । केही समय अघि गाउँमा भेट हुँदा मलाई माओवादीको समर्थक नभएको थाहा पाएका उनले कथित जनयुद्दमा कम्तिमा ५०,६० जनाको आँफू एक्लैले सफाया गरेको वीर-गाथा अति घमण्डका साथ सुनाएर मलाई अप्रत्यक्ष धम्काए । एकै स्कूलमा पढेका हुनाले र कहिले काहीँ त्यो बेलाका परीक्षाहरूमा चीट चोर्न पर्दा मबाट पनि मद्दत लिएको सम्झेका उनले, अबको नया नेपालमा म जस्ता पढे लेखेका सामन्ती र बुर्जूवा डिग्रीधारीको कुनै भूमिका नहुने फरमान पनि सुनाए, मैले चूपचाप सुनेँ किनभने यस्ता कुराको प्रतिवाद गर्नु नया नेपालको शासनमा वर्जित छ । ज्यान जोगाउने कुरालाई ठूलो ठान्न पर्ने भएकाले मेरो तर्क र बौद्दिकता बुद्धेका क्रन्तिकारी हिंसात्मक गालीमा नतमस्तक बने ।
माथिका तीनजना सत्य पात्रहरूको शारीरिक वा मानसिक कमजोडिलाई मैले परिहासमा ल्याउन खोजेको भने हैन। प्रकृति वा भगवानले हामीलाई जस्तो बनायो त्यस्तै हुने हो, हाम्रो चाहनाले हामी कोही राम्रो वा नराम्रो बन्न पुगेका हेनौँ होला । तर कतिपय कुरालाई मान्छेले चाहे सुधार गर्न सक्छ, जस्तो कि बुद्धेले सभ्य मान्छे बनेर जीउनु पर्छ अनि बाँच र बाँच्न देऊ भन्ने कुरा चाह्यो भने अपनाउन पनि सक्छ । तैपनि माथिका उदाहरणहरूले के कुरा दर्शाएको देखियो भने नाम जे भए पनि काम त्यही अनुरूपको हुनुपर्छ भन्ने छैन । नेपालमा अहिले माओवादीहरूको एउटा सेनाको धेरै चर्चा हुने गरेको छ जसलाई माओवादी र उसका समर्थकहरूले जनसेना भन्ने नाम दिएर बोलाउन छन् । मेरो बुझाइमा माओवादीको यो जनसेना, कर्णबहादुर, नेत्रपाणी बाजे र बुद्धेका नामहरूमा एउटा किसिमको एकरूपता छ त्यो के भने सबैका नामहरू र तिनले धारण गर्ने अर्थहरूमा ठीक विपरित खालको सम्बन्ध छ ।
साँचो जनसेना त्यो हुन पर्ने हो जसले जनताका दु:खहरू हरण गर्न वा हटाउन भरसक प्रयत्न गर्छ वा गरेको थियो । साँचो जनसेना त्यो हो जुन राजनीतिको साँघूरो र परस्पर एकापसमा घृणा गर्ने संकृणताको सीमाबाट माथि उठेर जनतालाई अपनाउँछ । उसले राजनीति, धर्म , जात, भेक, रङ ,नाक-नक्सा र विचारका आधारमा मान्छेलाई मेरो र तेरोको व्यवहार गर्दैन र अझ भन्ने हो भने जनताको अनुमति बिना केही लिँदैन बरू दिइमात्र रहन्छ, सताउँदैन बरू सहन्छ । जनतालाई प्रताडित गर्ने कुराको कल्पनामा पनि जनसेना काँप्छ, उसले आफ्नो विचार, व्यवहार र कर्मले कतै कसैलाई बिघ्न पुग्ला कि भनी आँफूलाई हर्दम संयम र नियन्त्रणमा राखिरहन्छ । तपाईँको विचारमा यस्तो कल्पनातीत जनसेनाको झूण्ड नेपाली भूमिमा कदाचित देखिन पुगेको छ ?, के माओवादी लडाकू जसले स्वयंघोषित जनसेनाको नाम र पगरी टाउकोमा गूथेर नेपालमा ढलीमली गरिरहेको छ , उसका समग्र क्रियाकलापहरू माथि वर्णित बुद्द बहादुरका जस्ता छैनन् र ?
जनताको जीवन, बाँच्न पाउने अधिकार, गास, बास, र आवरण अनि आवरूलाई नेपालको इतिहासमा सबैभन्दा विभिषिकापूर्ण कहालीलाग्दो वातावारणको बन्दी बनाउने जमात जनसेना हुन्सक्छ भने हाम्रा शव्दकोषका परिभाषाहरूलाई विपरितार्थक तर्फ मोड्ने हो कि ?
यदि मेरो बुझाइमा कतै भ्रम रहेछ भने, माओवादी लडाकूहरू जनसेना हुन सक्ने र हुनु पर्ने पक्षमा केही अकाट्य तर्कहरू पो छन् कि ?
February 14, 2009
के माओवादी लडाकूहरू जनसेना हुन त ?
Subscribe to:
Posts (Atom)