February 2, 2009

डलर टिप्ने यात्रा १

शेखर ढुङेल

बिदेश, बिदेश, बिदेश याने कि मनी, मनी, मनी !!! पन्जाब होसियारपुरका पाजीहरु पछी बिदेश हात खुट्टा नै फ्याकेर दौडने मा हामी नेपाली हरु दोस्रो मा पर्दछौ क्यारे । पढेर १८० कै डिग्री लेका हुन कि ० डिग्री सम्म का सब लाई बिदेश नै प्यारो, भलै घर को भैंसी बेचेर बिदेश भेडा चराउन नै किन नपरोस , भलै घर को दुधे बच्चा छोडेर बिदेश मा बेबी सिटिङ नै किन गर्न नपरोस , भलै घर का बुढा आमा बाबु छोडेर बिदेश मा सिनियर को सेवा गर्न किन नपरोस झर्नु पर्‍यो डलर !!

नेपाल मा ८० दशक को मध्य देखी नै बिदेश जानेहरुको लहर एबम चर्चा ले राम्रै बजार छाइ सकेको थियो । त्यस बेला बिशेष गरी अमेरिका र जापान नै मुख्य लक्ष हुन्थे । आफु लठ्ही घुमाउने र बन्दुक पडकाउने जागिर मा छिरेको भए पनि न त लठ्ही घुमाएर फाईदा लिने कला सिकियो न त बन्दुक पडकाएर सोझा लाई तर्साउन जानियो । बिहान बुढी को पटुकि बाट झारी लाग्यो बेलुका सुक्को बगली मा हुन्नथ्यो । घुर्की सुन्नु पर्दथ्यो कस्तो डन्ठे हाकिम हो! अरु लौरो हल्लाएर कमाएर लेराउदछन हाम्रो बुढो भने सिध्याएर खाली हात घर आउछंन । दैनिक खर्च बढ्दो छ, बाउ बाजे को सम्पत्ति बेचेर खाएर कती दिन घर चलाऊने ? लठ्ही घुमाउने सोझा लाई धम्काउने र भ्रष्ट, माफिया लाई सेलुट गर्ने कला आफुमा भएन आफ्नै समुह का साथी हरु का चुरी फुरी र दिनानुदिन आर्थिक सम्पन्नता देखदा आफ्न्तहरु नै खुचिङ हुतिहारा डन्ठे हाकिम भन्थे । साथीहरु हरा भरा भाई राखेका बेला आफ्नो टाउको को गुदिमा भने बिदेश गएर डलर टपाटप टिपेर लेराइ साथी हरु लाई देखाउने युक्ती सुध्यो ।

आफन्तको एउटा नाम चलेको गार्मेन्ट को म्यानेजर हुँ, तिम्रो देश मा ब्यापार बढाउन जान लाग्या भिषा दिन्छौ भनी आबेदन गरेको त ढ्याम्म लौखा गरी खा भने झै ठोकी दियो भिषा ।यस्सरी झुक्काउन सकिएला भन्ने सत प्रतिसत विश्वाश रामो राम थिएन ल । अध्यारो मा हानेको गोली ठाउमा लागे जस्तो भयो मेरो लागि । १९९२ को मे को १५ तारिख मा डलर टपाटप टिप्ने रहर बोकी अमेरिका को नियुयोर्क शहर मा आइपुगे । ४ दिन सम्म त उठ्ने खाने सुत्ने मै बित्यो देख्या त होइन खै के लाग्यो भन्थे हबाइ जहाज मा उडे पछी धेरै लाई त्यस्तो के हो लाग्द छ रे ?

अली तङ्रग्रिए पछी नेपाल तिर गफ दिनु पर्‍यो भनेर सस्तो फोन कार्ड किन्न भनी म्यान हाटन तिर हात मा पैसा बोकी लागिएको थियो । एउटा रिठ्हेले एक झड्का देर हात को २० डलर बाज ले माछा टिपे झै थुतेर लाग्यो । रुनु कि हास्नु भयो डलर टिपुला भनी आको उल्टो खोसेर पो लाग्यो । मन ज्यादै खिन्न भयो देश को लौरे बिदेश मा आएको हफ्ता मा नै धक्का खाएर लुटिनु पर्दा कस्तो भयो होला ? बिदेस को त्यो पहिलो नमिठो अनुभूती थियो ।

भोली पल्ट डलर टिप्ने ठाउमा जाने कुरा भयो । एक जना होसियारपुरका पाजीको साथ मा । तीन ब्लक पर पैदल नै गैयो । गर्मी को मौसम थियो तैपनी मान्छे को दाँया हात मा ओभर कोट बाँया हात मा छाता बोकेर हिंडेका देखे । अचम्म लागेर पाजी लाई सोधे उन्ले भने ‘अरे भाई, यस मुलुकमा तीन डब्लु को ठेगान हुन्न भन्या थाहा छैन?’, मैले थाहा नभएर त सोधेको नि पाजी उन्ले बुझाए मैले बुझें अनी दंग परे । अर्थ न बर्थ गोबिन्द गाई भने जस्तो काम पाउन सामाजिक सुरक्षा को कार्ड चाहिने रे ? कस्ले दिन्छ? कहा दिन्छ? कहिले दिन्छ ?, मनमा त्यस्तै सोच्दै थिए पाजीले डलर टिप्ने ठाउँ आइपुगे को संकेत गरे । कता बाट हो नेपाल मा समेत कहिल्यै नाकमा नपुगेको डुङ डुङ गन्ध आइरहेको थियो । प्रस्ताब आयो ६० मिनेट मा ४ डलर झर्ने कामको पत्तो न तरिका को आफु अलमल्लमा परेको देखेर पाजीले भने ‘चलो चलो काम मिल्ना मुस्किल हे, जो मिला कर्ते रहो दुसरा मिलेगा तो फिर देखलेँगे खाली बैठ्ना नही है’ । ओके अच्छा अच्छा ओके भने । पाजी फर्किए, राम्रो सित काम गर्ने अर्ती दिएर । हुल्यो मेक्सिकन ले डलर टिप्ने कम्पाउँड भित्र प्लास्टिकको सेतो टोपी लाउन दियो, पहेलो रङको जाली जाली भएको इस्ट कोट दियो अनी आरमान्दोले भन्यो क्यान क्यान कम्पनी कम्पनी एका तिर बोत्तल बोत्तल कम्पनी कम्पनी एका तिर दाँया हेनेकेन बाँया कोरोना पूर्व बडवाइजर पस्चिम सियरा नेभाडा दुई त के चार हात ले पनि गर्न नस्क्ने काम गर्नु पर्‍यो । पोख्त मेक्सिकन हरु ले ४ ड्रम भरुन्जेल आफु ले एक पनि भर्न सक्या होइन । दुई घण्टा पछी दश मिनेट ब्रेक भने को थियो आफुले सधैं को लागि ब्रेक लिएर हिंडे ।

त्यस पछी एकहफ्ता खाली बसी सरसल्लाह, छलफल, भेटघाट, बिचार-बिमर्श गर्दा एउटा सुत्र फेला पर्‍यो, अनी सयुक्त राष्ट्र संघ मा शान्ती मिसनको लागि निबेदन दिएँ । तत्कालिन नेपालका स्थाई प्रतिनिधि जयराज आचार्यजिको सहयोगमा अन्तर्वाता पनि भयो पास पनि भएँ, तर आर्को ४ महिना कुर्नु पर्ने र संपर्क ठेगाना अमेरिकामा नै हुनु पर्ने ४, ४ महिना के गरेर बस्ने ह्वया?, नेपालबाट हिडेको दिन देखी डलर टिपेको हिसाब राख्न सुरु भैसक्यो बेतलबी लेखापाल कती हुन कती डलर टिप्न आको खाली हात कसरी बस्ने ?चिन्ताले कम्मर पातलो भयो सातै दिनमा । जापान मा भएका एक जन मित्र लाई फोन गरे उन्ले भने यता आउनुस यता दुई देखी तीन लाख एन कमाइ हुन्छ । समय खेर फाल्नु नहुने सिधान्त मा अडिग मैले जापान जाने बिचार गरे एक जना ब्यापारि मित्र को सहयोग मा रिफ्रेन्स पत्र बनाएर जापानी दुताबास मा गएको त त्यहा पनि ढ्याम भिषा दियो । तुरुन्तै टीकेट काटेर महिना दिन को अमेरिका को बसाइ लाई बाइ बाइ भन्दै जापान को नारिता बिमान्स्थल तिर लागियो मान का मान एन टिप्ने सपना बोकेर ।

अर्को सपना को संसार मा पुगियो टोक्यो नगिचै को शहर कवागुची भन्ने ठाउँ मा । छतमा काठ ले बेरेको एउटा सानो कोठा को भुइ मा सिङल मेट्रेस्स मा ५ जना सुत्ने ठाउँ रहेछ मेरो नम्बर एस् भयो । एउटा मेट्रेस्स मा दुई जना सुत्छौ हजुर हाम्रो जापान मा एक मित्र ले थपे । म आउने खबर ले सँगइ खाना खाने भनी कुरेर बस्नु भएको रैछ मित्रहरु खाना खाने प्रस्ताब राखे एक मित्र ले सबै को सर्ब सहमति भयो । गहिरो बड्को मा अस्ट्रेलिया को भेडा को मासुमा मुला मिसाएको तरकारी मास को दाल अनी स्वागत को लागि सापूरू बियर वा क्या मज्जा ?, बियर खम्पाइ गरेर एक दुई चम्चा खाना मुख मा के हालेको थिए त्यो दिन को खाना पकाउने पालो परेका मित्र ले मलाई सोधे सियो कस्तो छ?, कता को सियो ? लामो सियो, छोटो सियो ? मोटो सियो पातलो सियो ?कस्तो सियो ?दिमाग घुम्यो एक छिन । त्यसै बिच अर्का मित्रले सम्झाये नुन कस्तो छ भनी सोधेको नि?, बल्ल दिमाग शान्त भयो । भोलीपल्ट बिहान नै सबैको काम भएकाले सुत्ने प्रस्ताब आयो, त्यस मा पनि निसर्त सर्ब सहमति भयो सुतियो अरु त सुते यता घुरुरु उता घुरुरु दोहोरी खेल झै घार र घुर त्यो पनि नयाँ ठाउँ नयाँ बिस्तरा आँखा पिरो पार्दै रमिता हेर्दै रात बित्यो बिहान सबै काम मा गए अनी आफ्नो साम्राज्य छायो । बांकी पछी....

(यो यात्राको दोस्रो भाग यहाँ )



गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - 2

आचार्य प्रभा
म केही गाह्रो र अप्ठ्यारोकोको सामना गर्दै त्यो भाइको पछी लागें । हामी भद्रकाली सम्मको बसमा चड्यौं । भद्रकाली उत्रेर हामी आर्मी हेडक्वाटरको रेडियो शाखा भित्र छिर्‍यौं । हामी भित्र पस्दा पस्दै केही सिपाहीहरुले हामीलाई प्रश्न गरे कस्लाई भेट्न आउनु भएको भनेर? हामीले जवाफमा भन्यौ । ''हामी मेजर (त्यो समयमा आनन्द मेजर हुनुहुन्थ्यो )आनन्द अधिकारीलाई भेट्न आएका हौ भनेर । ''तर त्यो समयमा आनन्द त्यहा हुनुहुन्थेन । त्यो सिपाहीले भने ''मेजर साब रेडियो नेपाल सवारि हुनु भएको छ एकै छिनपछी आउनु हुन्छ त्यहा बस्दै गर्नु होस्'' भनेर आनन्दको अफिस कोठातिर इङित गरे । हामी त्यो कोठाभित्र पस्यौ । मलाई एउटा कुर्शिमा बस्ने आग्रह गर्दै त्यो भाइले भन्यो कि ''दिदी आनन्द सर अहिले हुनुहुन्न रहेछ एकैछिन म बाहिर गएर आउछु हजुर बस्दैगर्नु होला'' भनेर निस्क्यो। मैले पनि एकछिन छिन् त होला भनेर '' हुन्छ'' भनें । त्यो भाइ पनि निस्कियो । म एक्लै त्यो कोठामा बस्न वाध्य हुनु पर्‍यो ।
मैले त्यो कोठाको चारैतिर आँखा दौडाएं, चारैतिर किताब र कपीहरु छरिएका थिए मानौ त्यो कोठा कुनै आर्मी अफिसरको नभएर कुनै एउटा कबी लेखको झै लाग्दथ्यो । म मन मनै सोचिरहेकी थिए । आनन्द सर कस्तो हुनु हुन्छ होला ?, की बोल्न नै गाह्रो पो मान्ने किसिमको पो हुनु हुन्छ कि ? म कसरी वहाँको सामु बोल्ने होला? यसरी म आफ्नै मन सँग कुरा गरिरहेकी थिए । अनायस मेरो दृष्‍टि भित्तामा झुन्ड्याएको आर्मिको सर्टमा पर्‍यो । त्यस्मा आनन्दको आइ डि कार्ड टासिएको थियो । आनन्दको आइ डि को फोटो देखेर म अचम्भित भएँ । मैले सोचेको र कल्पना गरेको आनन्द भन्दा त्यो फोटोको आनन्दमा धेरै फरक थियो । म त एक्छिन त किङ्कर्तब्यबिमूढ भएँ किन कि मेरो अड्कल र कल्पनामा आनन्द अलिक पाको हुनुहुन्थ्यो भने त्यो तस्बिरको आनन्द त सोचेभन्दा जवान लाग्यो । बल्ल मलाई अलिक राहत मिल्यो कि अब भने आनन्दसँग म सजिलै कुरा गर्न सक्छु भनेर । किन कि म जहिल्यै पनि जुनसुकै क्षेत्रको होस् आफ्नो समकालिन र आफुभन्दा सानो उमेरका हरुसँग नै सङत गर्दै आइरहेको बानिले गर्दा होला अलिक आफुभन्दा सिनियर सँग मलाई कुरा गर्न धक नै लाग्दथ्यो । तर आनन्दको फोटो हेरे पश्चात भने मेरो त्यो अप्ठ्यारोपन र धक भागी सकेको थ्यो । म आनन्दको प्रतिक्षा गरिरहेकि थिए । त्यो भाइ पनि कता हरायो । म केही लेखी पनि रहेकी थिए । त्यहा केही सिपाहीहरु आएर मलाई आश्वासन पनि दिरहेका थिए कि “आनन्द सर आइहाल्नु हुन्छ” भनेर । म केहीलेख्दै समय कटाइरहेकी थिएं। आनन्दको अफिस कोठामा मलाई पट्यार पनि लागिरहेको थियो तापनि गीतका केही हरफहरु कोर्दै समयलाई बुढो बनाइ रहेकी थिए यत्तिकैमा बाहिर जुत्ताको टक् टक् आवाज आयो, मैले अड्कल काटे पक्कै यो चाँही आनन्द नै हुनु पर्छ । म संयमित भएर बसे । त्यो आवाज म भएतिर नै पस्यो । मैले आनन्दको प्रवेशलाई मन भित्रबाट नै स्विकार गरिसकेकी थिए ।
क्रमश:


राज्यको पुनस्रंरचनामा राज्यको दायित्व

विजयकुमार श्रेष्ठ धादिङ्ग
हाल ईराक
माघ ३ गते २०६५

संघीयताको आवश्यकता किन ?

नेपाल बहुजातिय बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक देश हो भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । तथापि यो देशमा १४० बर्षसम्म एकजाति एक धर्म एकभाषा एक संस्कृतिको शासन रह्यो । पौराणिक कालमा यो देशमा जनकपुर कपिलबस्तु जस्ता गणराज्य थियो जहाँका राजाहरुलाई जनताद्वारा चुनिन्थ्यो भन्ने कुरा इतिहासबाट थाहा हुन्छ । त्यसपछि किराँत लिच्छवि मल्ल हुँदै शाहकालसम्मको इतिहास करिब करिब सबैले जानेबुझेकै कुरा हो । नेपाल एकीकरण हुनु भनेको नेपालीको लागि गौरबको बिषय हो । तर पृथ्वी नारायण शाह जसरी देशलाई एकीकरण गर्न सफल रहे त्यसरी नै देशमा रहेका बिभिन्न जातजातिहरुलाई भावनात्मक रुपमा एक सूत्रमा बाँध्न असफल रहे । उनकै पालादेखि नेपालको शासन संयन्त्रमा आदिवासी जनजाति तराईबासीहरु बहिष्कृत हुँदै गए । राजा पृथ्वी नारायण शाह लिम्बुहरुसँग सुलह गरी स्वायत्त शासन र किपट हकभोग गर्न दिएका थिए भने पंचायती शासकहरुले उक्त अधिकार खोसेका थिए । शाहकाल, राणाकाल, पंचायतकालसम्म आदिवासी जनजातिहरु दलितहरु तराईबासीहरु अधिकारको लागि खुलेआम कुरा गर्न नसकेपनि भित्रभित्रै संगठित हुँदै गए । देशमा अन्याय अत्याचार र दमनले सीमा नाघेपछि दमनबाट बच्न बि.सं. १९८३ मा नेवारहरुले च्वासापासा खोलेर भाषिक आन्दोलनको सूत्रपात गरे भने थारुहरु बि.स. २००५ मा थारु कल्याणकारिणी सभा खोलेर सचेतना अभियान शुरु गरे । अन्याय र अत्याचारबाट त्राण पाउन एकपछि अर्को जातिय संगठनहरु खुल्दै गए । तर यी जातिय संगठनहरु खुलेआम अधिकारको वकालत गर्न सक्तैनथे । यिनीहरु समाजसुधारको नाउँमा भित्रभित्रै हक अधिकारको कुरा सिकाउँथे । तर पनि शासक जातिबाट आदिवासी जनजातिहरुको जल जमिन र जंगल खोसिंदै गयो । यही क्रममै बि.स. २०४६ पछि जब राजासहितको बहुदलिय प्रजातन्त्रको स्थापना भयो तब जातिय संगठनहरुको संख्यामा पनि बृद्धि हुन गयो ।

अहिले आदिवासी जनजातिहरुको सूचीमा मात्रै ५९ जाति सूचीकृत छन् भने ५० वटा जातिय संगठनहरु आदिवासी जनजाति महासंघको छातामुनि गोलबन्द छन् । यसरी नेपालमा यो वा त्यो नाममा शासनप्रणाली फेरिएको हल्ला समय समयमा गरियो तर व्यवहारमा उही राणाकालीन एवं पंचायती भूत सवार भइरह्यो । दलित आदिवासी जनजाति मधेशीहरुमा तीब्र असन्तुष्टी फैलीदैं गयो । सो असन्तुष्टीका कारण राणाकालमा सिरीथेवे लिम्बुले लिम्बु भाषा र लिपीमा पढाउन खोज्दा उनीमाथि दमन भयो र उनी सिक्किम निर्वासित भए । बि.स. २०१७ सालमा बझाङ्गका युवराज ओम जंगबहादुर सिंहले स्वतन्त्र बझाङ्ग राज्यको कुरा उठाउँदा शाही सेनाबाट मारिनु पर् यो । मधेश मुक्ति मोर्चाले बि.स. २०२० सालमा तौलिहवामा सशस्त्र बिद्रोहको झण्डा उठाए तर सफल भएनन् । पंचायतकालमा सर्बप्रथम जातिय तथा क्षेत्रीय स्वशासनको कुरा उठाउने खगेन्द्रजंग गुरुङ्ग ७ बर्षको कठोर काराबास र त्यसपछि पनि दमन र निगरानी बेहोर्नु पर् यो । नेपालको जातिय तथा क्षेत्रीय बिभेद यस्तो हुँदाहुदै जान्दाजान्दै पनि दुःखको कुरा राजासहितको बहुदलिय प्रजातान्त्रिक कालमा शासन गर्ने हाम्रा नेताहरु यी कुरामा गम्भिर हुन सकेनन् । फलस्वरुप भित्रभित्रै आक्रोशको आगो दन्किरह्यो । २०४७ को परिबर्तनपछि काजीमान कन्दङवाले स्थापना गरेको जनजाति पार्टीले पहिलो पल्ट संघात्मक राज्य र समानुपातिक प्रतिनीधित्वको वकालत गर् यो । शेर बहादुर देउबाको प्रधानमन्त्रीत्वकालमा माओवादीहरुले जब ४० सूत्रीय माग पेश गरे, मुट्ठी भरका ब्यक्तिहरु के गर्छनू भन्ने देउबाको लडकपनले माओवादीहरु जंगल पसे अनि भयो जनयुद्धको रामकहानीको थालनी । उनीहरु यही जातिय र क्षेत्रीय बिभेदको तीतो सत्यको पाठ आदिवासी जनजाति मधेशी दलितहरुलाई पढाउन सफल भए उपयोग गर्न सफल भए र राजासहितको बहुदलिय प्रजातन्त्रलाई नाकाम सिद्ध गरिदिए । अन्ततोगत्वा तत्कालिन राजा ज्ञानेन्द्र र संसदवादी दलहरुबिचमा फाटो आयो । राजा ज्ञानेन्द्र सत्ता हत्याए र संकटकालको घोषणा गरे । संसदवादी दलहरु र माओवादीबिच १२ बुँदे सहमति भयो र जनआन्दोलन २०६२-०६३ सफल भयो ।

तर पनि दलहरु संघीयतामा जाने वा नजाने कुरामा दोमन थिए । त्यसपछि २०६३ को पहिलो हप्तामा तराई आन्दोलन यति उत्कर्षमा पुग्यो कि हालका प्रधानमन्त्री पुष्पकमल दाहाल आत्तिएर हो वा सैनिक उन्मादले मात्तिएर हो माघ १३ गतेतिर अब तराई आन्दोलनलाई सरकारी सेना र माओवादी सेना लगाएर दबाउनुपर्छू भन्न समेत पछि परेनन् भने तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा रहेको नेपाल सरकारले अब देश संघीयतामा जान्छू भनेर सम्बोधन गर्न करै लाग्यो । अनि देश संघीयतामा जाने पक्कापक्की नै भयो ।

जातिय आधारमा संघीयता दिन सरकार बाध्य छ

देशलाई संघीयता त्यसै आवश्यकता परेको होइन भन्ने कुरा स्पष्ट भैसक्दा पनि अहिले देशमा कतिपय व्यक्ति संघ र संगठनहरु बिना मौसमको बाजा बजाइरहेका छन् । कुरो यत्तिमै मात्रै सीमित छैन । सरकार तराईमा जातिय आधारमा संघीयता दिन पनि बिबश छ भन्ने कुरा हरेक नेपालीले बुझ्न आवश्यक भैसकेको छ । बिबश हुनुको प्रमुख दुइटा कारण छः- पहिलो हो सरकारको नैतिक दायित्य र दोश्रो हो कानुनी दायित्व ।

नैतिक दायित्वभित्र १) १२ बुँदे समझदारी २) २०६३ कार्तिक २२ मा सम्पन्न शिखर बैठकका निर्णय ३) २०६३ मंसिर ५ गते नेपाल सरकार र नेकपा माओवादीबिच भएको बिस्तृत शान्ति सम्झौता आदि पर्दछन् । ४) संसद घोषणा पत्र जसमा दलहरु सरकारहरुले राज्यको अग्रगामी पुनस्रंरचना सम्बन्धमा सहमति जनाइसकेका छन् । हस्ताक्षर गरिसकेका छन् । नैतिकवान सरकारको लागि यो नैतिक दायित्व हो ।

त्यसैगरी १) आदिवासी जनजातिको अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणा पत्र २०६३ २) नेपालको अन्तरिम संबिधान ३) संघीय गणतान्त्रिक मोर्चा र नेपाल सरकारबिचको सम्झौता ४) आदिवासी जनजाति महासंघसँग गरेको सम्झौता र ५) अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि न। १६९ सरकारको लागि कानुनी दायित्व हुन पुगेका छन् । सरकारले संघीय गणतान्त्रिक मोर्चासँग थरुहट स्वायत्त राज्य बनाउने कुरामा हस्ताक्षर गरेको छ भने आदिवासी जनजाति महासंघसँग जाति भाषा र क्षेत्रको आधारमा संघीयता दिने कुरामा सम्झौता गरिसकेको छ । आदिवासीहरुको अधकिकार सम्बन्धि घोषणा पत्र आई एल ओ महासन्धि न। १६९ ले आदिवासीहरुलाई आत्म निर्णयको अधिकार छ जल जमिन र जंगलमाथि अग्राधिकार छ भनिसकेको छ । सरकारलाई अन्तर्राष्ट्रिय यी संगठनहरु घाँटी अँठ्याउने बेला भैसकेको छ । यी भनेका कानुनी दायित्य हुन् । जसबाट उम्कन अब सरकारलाई निकै गाह्रा छ ।

निष्कर्ष

तसर्थ छोटकरीमा के भन्न सकिन्छ भने नेपालको लागि संघीयता आवश्यक भैसकेको छ । बिश्वमा भूगोल मात्रै संघीयताको आधार हुँदैन । संघीयताको जन्म बिबिधताबाट हुन्छ । जाति भाषा धर्म फरक पर् यो यसको आधारमा बिभेद भयो भने यसको आवश्यकता पर्दछ । आवश्यकता परिपूर्ति नभएसम्म कचिङ्गल जारी रहन्छ । फेरी नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र हो । संयुक्त राष्ट्र संघले आदिवासीहरुको अधिकार सम्बन्धमा घोषणा पत्र जारी गरिसकेको छ भने अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि न। १६९ लाई अनुमोदन र पारित गरिसकेको छ । अनुमोदन गरेको १ बर्षमा यसले कानुनी मान्यता प्राप्त गर्दछ र यससँग बाझिने राष्ट्रका कानुनहरु निष्क्रिय हुन्छन् । त्यसकारण पनि जातिय आधारमा संघीयता दिन जरुरी छ । तसर्थ सरकार अहिले नैतिक र कानुनी दुबै तरीकाले बन्धनमा परेको छ । देशलाई निकास दिन अब राज्यसँग जातिय आधारमा संघ दिनुको अर्को बिकल्प छैन ।