May 30, 2009

जिन्दगी, खजाना र हामी


'गमका खजाना तेरा भी है मेरा भी
ये नजराना तेरा भी है मेरा भी... ।'
- (जगजीत/लता)

जब-जब गजलका तिनै सेरहरू अति जतनसाथ आवाजमा पाउजु चलाउँछन्, म शून्यमा बस्न पुग्छु । अर्थात् यसदेखि बाहेक कतै छँदै छैन अर्को स्वर्गीय सतह ! शब्दको ढाढस कतिसम्म न्यानो हत्केला भएर शिरमा नरम मालिस बन्न सक्छ, यही गजलले मलाई प्रवचन दियो । यसको तालले आफ्नो बेताललाई कहाँसम्म प्लास्टर गर्छ भने, घाउको चिराचिरा स्वतः मखमलको स्वाभाविक जुनीमा फेरिइसक्छ ।

मानौँ हामी जिन्दगी नामको प्रतियोगीतामा कुदिरहन्छौँ र एउटा-एउटा खजानाको तिर्खाले रन्थनी छुटेर बहुलाइरहन्छौँ । यस्तो बहुलाइरहनुको निरन्तरता त्यहाँसम्म चालू भइरहन्छ, जहाँहाम्रो समग्र दौडको अघिल्तिर एक मान्छे खरानी वा माटोको चिता वा खाल्डो जम्काभेटमा देखिँदैन । खजाना भेट्ने लफडामा हामी जिन्दगीलाई सुमसुम्याउन छाडेर एकैचोटि मृत्युको काखमा सुहाउँदो बच्चा बन्न पुग्छौँ क्यार । तर लफडैलफडाको धुनमा सँगालिन आइपुगेको हाम्रो दुःखको भने कुनै तौल रहन्न । संवेदनाको चौकिल्ला छल्दैछल्दै तौलको हिसाब निकाल्ने त्यसो त हामी जुँगामुठे व्यापारी पनि होइनौँ । यद्यपि यही दुःख पनि त यात्राभरि कमाएको र हाम्रै भागको खजाना हो नि, माथिको गजलले यस्तै केही भन्छ सायद । र, यस्तो निर्विवाद खजानाको धनी आफू एक्लै पनि त होइन नि ! म पनि तिमी पनि... । साथी भएपछि कहीँ नभएको कहाली ब्युँताएर सुर्ताउने के नै काम ?
यसैकारण आत्माको इनारमा तृप्‍तिको फिँज उठ्छ ।

जिन्दगीमा हामीलाई छडीले छुलुक्क पारीपारी पाठ पढाउने गुरु दुःखहरू निकै हुन्छन् । हामी अनुभूतिमा नोट गरिरहन्छौँ । गुरुको अपेक्षा त हामीलाई सदा रहन्छ नै । गुरुकै कुरामा, बालापनमा तिनले कति-कति हाम्रा बदमासीका अघि पनि आँखा चिम्लिँदै उल्टै मिठाइ टक्र्याएर फकाएका छैनन् (थिएनन्) र ? दुःखहरू पनि ती गुरुभन्दा कुनै मानेमा कम छैनन् । तिनले यात्राभरिको रङ्गीविरङ्गी मन्डपमा हाम्रो सिर्जनशीलताको सिउँदो भरेर समाजमा निर्भीक भएर हिँड्न भरपर्दो रेखा दिन्छन् । भने, दुःख बेकामी हुन्छन् नै कुन अर्थमा र ? प्यारा गुरु दुःखहरू.., जसले हामीलाई कुनै मोडमा खुत्रुक्कै बसाए पनि सम्हालिएर चिप्लिनलाई सरल 'लिक' दिए ।

भित्ताको तस्वीरमा एकपटक हाँसेको त्यो रुप र त्यही पल छाडेर हामी हिँड्दै गर्छौँ अघि झन् अघि ...। तर तस्बिर उस्तै गरी हाँसिरहन्छ । तस्वीरमा कैद हुनुको कुनै अपशोच त्यस चेहरालाई हुन्न । कारण, त्यही त त्यसको स्वाभाविकता हो क्यार । अर्थात् फ्रेमको चार कुनामा स्थिर जीवन रच्नु । दुःखको फ्रेमभित्र हाम्रो यात्रा पनि त्यस्तै तस्वीरजस्तो स्वाभाविक लाग्छ । यही दुःख त रहेछ अन्तरङ्ग साथी, जसको आडमा हामी सुख र चैनको झिल्कादार आतिसबाजीलाई झट्ट नियाल्न भ्याउँछौँ-सक्छौँ ।

कसैले भनेको छ कतै- 'फकाउने मान्छे भएसम्म जति रिसाए पनि कुनै फरक पर्दैन ।' हामीमध्ये धेरैजसो त्यस्तो फकाउने मान्छे नभएर निस्ताउँछौँ । घरमा बसिरहँदा 'खाजा खायौ ? खानुपर्दैन त बदमास मान्छे ?' भन्ने गाली सुन्न नपाएर भोकै दुब्लाउँछौँ । कलेजमा कक्षा सकिएपछि घर फिर्ने बेलामा 'बाइ है फुच्चु !' भन्ने बिदाइ-सम्बोधन नपाएर एक्लिन्छौँ । 'राम्रो नाटक चल्दा पनि तिमीबिना त्यो नाटकघरमा भूतघर बेहोर्नलाई जान मन लागेन' भन्ने समभाव व्यक्त गर्ने आत्मीय साथी नपाएर हुरुक्क बन्छौँ । आफू मन दुखाएर अनाम नदीको किनारैकिनार एक्लै बहकिइरहँदा खोजी गर्ने कोही नहुँदा पटक-पटक मर्छौँ ।

- तर दुःख त अपेक्षाभरि सधैँ साथै हुन्छ ।
- कुनै गुनासोलाई मनबाट निकासी गर्नुपर्दैन ।
- हैरानीलाई पकेटमा च्यापेर हिँड्ने मौका मिल्छ ।


5 Comments:

बिप्लब said...

धाइबा जी तपाइ त्यसै भएर दुब्लो हुनुभाको हो कि? हामीमध्ये धेरैजसो त्यस्तो फकाउने मान्छे नभएर निस्ताउँछौँ । घरमा बसिरहँदा 'खाजा खायौ ? खानुपर्दैन त बदमास मान्छे ?'
कि लेखमा मात्र यस्तो हो?

प्रबिण थापा said...

धाइबा जि का लेखहरु पढ्दा किन किन म आनन्दको अनुभुती गरिरहेको हुन्छु । उहाको लेखन शैली र शब्द चयनले मलाई सधैं लोभ्याइरहन्छ, हो म पनि सहमति छु यदि सुख दुखका सहनुभुतिहरु कोहि कसैसग साट्न नपाएसम्म जिबन कता कता खल्लो महशुश हुदो रहेछ।
उत्कृठ लेख धाइबा जि!

nepalean said...

सायद यो नै जिबन हो क्यार हामी मन दुखाएर अनाम नदीको किनारैकिनार एक्लै बहकिइरहँदा खोजी गर्ने कोही नहुँदा पटक-पटक मर्छौँ ।

तर लोभ र मोह नहुंदो त संसार फिकै हुनेथ्यो। हामी एक्लोपनमा निसासिदै यत्रत्र बहकिदा कतै कसैको सामिप्य पाउंदा त्यतै हराउंछौ। सायद भोकाएर यसरी नकुदैको भए भेटिएको सामिप्य काफी हुदैनथ्यो होला। र हामी झन दुखी हुन्थ्यौं अनी बहकिरहन्थ्यौं नटुगिंने त्यो अनाम नदीको किनार यात्रामा।

तपाइका लेख राम्रा हुन्छन। यो पनि उत्क्रिष्ठ नै छ। पुन दौतरीमा यसरी छाउंदै जानुहोला। हामीलाइ तपाइको सरल लेखमा यसरीनै रेशमी कुकुनमा बेर्दैजानुहोला।

Luna said...

उत्कृष्ट लेख !

Jotare Dhaiba said...

सबै शुभेच्छालाई स्वागत गर्छु, पठनका निम्ति धन्यवाद ।

विप्लवजी, रमाइलो कुरा गर्नुबयो । पूरापूर त होइन, आंशिक रूपमा त्यो पनि हो है म दुब्लाउनाको कारण :) लेखमा मात्र बनावटी कुरा कसरी पो गर्नु र ?

प्रवीणजी, नेपालियनजी र लुनाजी हरूको अपेक्षा आगामी लेखोटमा पनि पूरा गर्न सकूँ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !