एक महिना भन्दा बढी समय लागेर सम्पन्न भएको संसारमै सबैभन्दा ठूलो संसदीय निर्वाचनको मत -गणना एकै दिनमा लगभग सकिएको छ । सम्पन्न निर्वाचन परिणामले भारतीय राष्ट्रिय कांग्रेस पार्टीलाई सन २००४ मा उसले हासिल गरेको १४५ सिटको तुलनामा ६० भन्दा बढी सिटको बढौति दिएको छ भने कांग्रेसले नेतृत्व गरेको युनाइटेड प्रोग्रेसिभ एलायन्सलाई संसदमा पूर्ण बहुमतको सरकार बनाउन चाहिने २७२ स्थानको नजिक पुर्याईदिएको छ। अहिले नै कांग्रेस गठबन्धनमा रहेका पार्टीहरूले २६१ स्थान जितेका छन् ।
चुनाबी सर्वेक्षणहरूले कांग्रेस र भारतीय जनता पार्टीका अलग अलग गठबन्धनका बीचमा कडा प्रतिस्पर्धा हुने र अबको संसद झनै अस्थायी प्रकारको हुनेछ भन्ने दावा गरे पनि निर्वाचन परिणाम त्यो भन्दा अलग देखिएको यो सन्दर्भमा , निर्वाचनले कांग्रेस पार्टीको पुनरुत्थान मात्र गराएको छ । दक्षिणपन्थी मानिने हिन्दूवादी भारतीय जनता पार्टीले सन् २००४मा आँफूले प्राप्त गरेको १३८ स्थानहरू घटाएर ११६ मा झरेको छ भने उसको सरकार गठन गर्ने बहुमतमा पुग्ने उद्देस्यले नराम्रो धक्का खाएको छ किनभने उसको एलायन्सका साथिहरू समेत बिजेपीले १५७ सिट मात्र जित्न सकेको छ ।
वास्तवमा अहिलेको निर्वाचनले मध्यमार्गमा रहेर कांग्रेसको सरकारमा जोडघटाउ र भागबण्डाको खेलमा लागिरहने लालु यादव, राम विलास पासवान जस्ता राजनैतिक खेलाडीहरूलाई आफ्नो हैसियत अती कमजोड रहेको देखाइदिएको छ भने भारतीय बामपन्थी पार्टीहरूले नराम्रो धक्का खाएका छन् । सन् २००४ को निर्वाचनमा ५७ स्थान पाएको बामपन्थीहरूको सिपिआइ ( एम) र सिपिआइ पार्टीहरू नराम्ररी पछारिएर २४ सिटको तालिकामा झरेका छन् । बामपन्थी पार्टीहरूको वर्चस्व रहेको पश्चिम बंगालमा समेत कम्युनिष्टरूले ३२ वर्षपछि बहुमत लोकसभा स्थानहरू गुमाएर पछारिएका छन् भने दक्षिणको केरलामा पनि बामपन्थी पार्टीले पराजयको धक्का खान पुगेको छ । भारतीय राष्ट्रिय कांग्रेसलाई निर्वाचनको अन्तिम समयमा धोका दिने गठबन्धनका दलहरू समेत यो निर्वाचन परिणामले बढारिन पुगेका छन् भने कांग्रेसले जो र जुन दलसंग गठबन्धन गरेको थियो ती सबै फलदायी भएर प्रकट भएका छन् ।
पछिल्लो निर्वाचन परिणामको सफलताको श्रेय अहिले राजीव गान्धिका पुत्र युवा नेता राहुल गान्धी , राजीवकी विधवा सोनिया गान्धी र सफा, विद्वत र इमान्दार छवी बोकेका निवर्तमान प्रधानमन्त्री मनमोहन सिंहलाई दिइएको छ भने , मनमोहन सिंह जवाहरलाल नेहरु पछि लगातार निर्वाचित बन्ने दोस्रो प्रधानमन्त्री बन्न पुगेका छन् । जहाँसम्म सरकारको नेतृत्वको प्रश्न छ , भारतीय कांग्रेस भित्रका परम्परावादी नेहरू-गान्धी परिवारका विश्वासपात्रहरू भने अहिले नै राहुल गान्धीलाई यो सफलताको एकल श्रेय दिँदै उनैलाई प्रधानमन्त्री बनाउनु पर्ने आवाज पनि उठाउँदै छन् । यस्तोमा मनमोहन सिंहको नया कार्यकालको ५ वर्ष पूरा नहुँदै बीचमा राहुल गान्धीलाई प्रधानमन्त्री बनाइयो भने पनि आश्चर्य मान्नु नपर्ने हुन सक्छ ।अहिले नै राहुल गान्धी क्याबिनेट मन्त्रीको रूपमा आउने कुरा लगभग निश्चित भैसकेको छ । यसरी दक्षिण एशियाको राजनीतिमा परिवारवादको प्रभावको वरिष्ठता फेरि प्रमाणित भएको छ । किन भारतीय जनताहरू , नेहरू-गान्धी परिवार भन्दा पर पुगेर लोकतन्त्रको भविष्य देख्न चाहन्नन् भन्ने प्रश्न फेरि उजागर बनेको छ ।
जहाँसम्म भारतीय नया राजनैतिक तस्वीरले नेपालमा कति प्रभाव पार्ला भन्ने प्रश्न छ त्यो खासै परिवर्तन हुने देखिन्न । प्रणव मुखर्जीको बिदेश मन्त्रीको बिभाग अब अहिलेका वाणिज्य मन्त्री कमलनाथले लिने चर्चा चले पनि, कांग्रेसको बिदेश नीति सम्बन्धी कुरामा धेरै परिवर्तन आउने स्थिति छैन । क्षयीकरणको मारमा मर्माहत बामपन्थीहरूको प्रभाव कमजोड बनेको हुँदा , उनीहरूले केही अघिसम्म कायम राखेको प्रभाव भने कमजोड बन्ने देखिन्छ । तर पनि, अहिलेकै सरकारको निरन्तरता भएको हुनाले र तुलनात्मक रूपमा ५ वर्षे कार्यकालको स्थायी सरकारको स्थिति बनेको हुँदा, भारतीय कांग्रेस पार्टीको बिदेश नीति नै नेपाल मामिलामा पनि प्रभावी रहने निश्चित छ । यो नै सन् १९४७ देखि बीचका केही वर्ष छाडेर भारतीय बिदेश नीति रहिआएको छ । तसर्थ, भारतको नेपालप्रति को नीति र प्रभावमा केवल निरन्तरता मात्र देख्न पाइने अनुमान गर्न सकिन्छ ।
May 16, 2009
भारतीय निर्वाचन परिणाम र नेपाली राजनीतिमा यसको असर
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !