April 2, 2009

एक मित्रले सोधे नेपालमा अहिले कस्तो छ? के उत्तर दिनु खै??

समय मिल्दा दौतरीको फेसबुकमा छिरीहाल्छु। फेसबुकमा छिरेपछी प्राय हेर्ने भनेको What's on your mind? नै हो। सबैले आफ्नो दिमागको कुरा लेखेका रहेछन। अब आफ्नो दिमागमा बाड्ने कुरो केही पनि थिएन के लेख्नु? एक छिन यसो दिमाग घुमाए, अनि सम्झिए एक जना भारती मित्रले सोधेको कुरा याद आयो "जापानमा अहिले कस्तो छ?" मैले भने मेरो घर कांहा जापान हो त, नेपाल पो। ए! ए!, नेपालमा अहिले कस्तो छ भन्न खोजेको के, उनले आफुलाइ तुरुन्तै सुधारे। मलाइ के भन्ने के भन्ने भयो। उसंग फुत्कन ठिकै छ भनेर हिड्न लागेको अहिले आंतक त छैन नेपालमा, प्रश्न थपिहाले। शान्त छ भनौं त मान्छे मरेका मरै छन, बन्द हडताल उत्तीकै छ। शान्त छैन भनौ सबै पार्टी मिलेर संबिधान बनाउन कस्सिएका छन। ठिकै छ तर त्यस्तो शान्त त छैन भने।

किनहो शान्ती नभएको ती मित्रले प्रश्न पून थपिहाले। कस्तो गार्हो प्रश्न सोधे। सारा राजनितीक दिग्गज देखी नागरीक समाज, बिध्वान देखी बिदेशका नेपालीले भेट्टाउन नसकेको कुरो मैले कसरी फ्याट्टै भनुं। उनलाइ उत्तर दिएर भाग्नु त थिदै थियो। कानुन कमजोर छ के सोमालियामा जस्तै। आफुलाइ तुरुन्तै सुधारें, सोमालिया जस्तै त नभनौं, २०-३०% सोमालिया जस्तो होला। त्यसो भए त अधिनायकबाद होला है त्याहां, उनले ढुक्कै भने। क्या फसाद, उनलाइ कसरी सम्झाउ दिक्क लाग्यो। संबिधान बनाउदै छन क्या नेपालमा। जनताले नै भोट दिएका मान्छे हुन संबिधान बनाउने। त्यो त राम्रो हो,पहिलाको संबिधान राजाले बनाएको होला नि हैन? दिक्कै लगाए मेरो मित्र ले। २०४७ सालको संबिधान बनाउने पनि यिनै कांग्रेस र एमाले त हुन नि। अहिले माओबादी थपिएको त हो। उनलाइ उत्तर त दिनु नै थयो। अनि भने पहिला पनि यिनैले बनाएका हुन, अलि राम्रो भएन के। पहिला को अप्रजातान्तरीक होला नि, उस्ले आफै प्रष्टायो। खै के भन्नु उनलाइ, पहिलाको प्रजातान्त्रीक, अहिलेको लोकतान्त्रीक। प्रजातन्त्रलाइ डेमोक्रेसी भन्छन, लोकतन्त्र देशमा आएको पनि २ बर्ष हुन लाग्यो यसलाइ अंग्रेजीमा के भन्छन थाहा छैन। अहिलेको अलि "मोर डेमोक्रेटीक" भनेर हाम्रो संबिधान सभाको इज्जत बचाउन प्रयास गरें।

उनले फेरी थपे राजाको पावर त गयो होला। अब त सेरोमोनियल भयो होला। हैन राजा हाम्रोमा छैनन। अहिले गणतन्त्र भइसक्यो। किना फालेका त राजा, उ निकै बदमाश थियो कि ट्याक्स मनी सबै खान्थ्यो। सोचे उनलाइ सहि नै भनौं। पहिला का राजा त राम्रै थिए यो चाही अली बदमास निक्ल्यो। ट्याकस् मनी त सरकारमा जान्थ्यो सरकारले नै उस्लाइ छुट्टाएर दिन्थे। त्यसो भए किन निकालेको त? प्रश्न तेर्साइहाले। हैत्तेरी के भन्नु अब। भारतमा गणतन्त्र आएको कती बर्ष भइसक्यो तर उनिहरु नेपालमा अझै राजा रहुन भन्ने सोच्छन। उनिहरुको सोच छ नेपालमा राजा भए सबै हिन्दुहरुको आत्मबिश्वास रहिरहने छ। अब भारतका नेताले नेपालका नेतालाइ जांतो घुमाए जस्तै गर्छन यि भारती मित्रहरु भने राजा हटाएको मा दुखी छन। उनले अझ थपे नेपाल र भारत त एक्दम मिल्ने देश बन्नुपर्छ। बिस्वका हिन्दु देश यि दुइ मात्र त हुन। यता हेर्यो बंगलादेश,उता पाकिस्तान। चिनको त के कुरा गर्ने, मिल्ने भनेको नेपाल र भारत नै हो, उनले मेरो काननेर आएर भने। उनको भनाइले मलाइ एक किसीमको भवुक बनायो। कसौटी देखी इन्डियन आइडल सबै भ्याउंछौ। मौका मिले भारती जस्तै देखिने तराइका नेपालीलाइ पनि पिटपाट पार्न बेरलगाउदैनौं। आर्थिक बिकासमा नं १ हुन लागेकको भारतसंग जोरी खोजेर हैन जोडी बनेर नै हामी उंहो लाउन सक्छौ, यो धुर्व सत्य नै हो। मैल भने उसलाइ हो हो हामी एकदम मिलेर नै अघीबड्नुपर्छ। कती छ नेपालको र भारतको पैसाको फरक? उनले फेरी सोधे। भारती १०० रुपयांको नेपाली १६० रुपया हुन्छ मैले उत्तर दिए। ए तिमीहरुको पनि रुपया नै हो, उनी नेपाली र भारती दाजुभाइ नै भए जस्तै गरी दंग परे। साच्चै हामी भारतीहरु संग दब्बिएको महशुस नगरी कुममा कुम मिलाएर अघी बढे दाजुभाइ जस्तै भइने रहेछ भन्ने जस्तो लाग्यो मलाइ। समय मिल्यो भने पशुपती नाथ त पुग्नेछु, उनी नेपाल जाने आफ्नो धोको पोखे। मन मनै सोचे आफ्नो गाउं त नपुगेको कती भयो होला अब के जालान यि नेपाल? मलाइ एक जना भारतीले सामिप्य देखाएकोमा खुशसीहुन भन्दा पनि नेपालमा राम्रो भइराखेको छ भन्न नपाउदा मन खिन्न भयो। खिन्नै मनमा भने उनलाइ, अरू कुरा पछी गरौंला, आहिले घर तिर लागौं।



11 Comments:

Himal_paari said...

Kya gajab lekhnu bhayechha Nepalean jee.........ramro lagyo.......आर्थिक बिकासमा नं १ हुन लागेकको भारतसंग जोरी खोजेर हैन जोडी बनेर नै हामी उंहो लाउन सक्छौ, यो धुर्व सत्य नै हो ..........

हाम्रो देश ले समग्र भारत को आर्थिक प्रगती बाट केही सिक्न सकेन । खाली बिहार को फोहोरी राजनीति सिवाय

वसन्त बलामी said...

नेपालयन जी तपाइँलाइ भ्रम भएछ । २०४७ को संविधान नेपाली जनताले चुनेर पठाएकाहरूले बनाएका होइनन् । त्यो त राजाको कोटको खल्तीबाट निकालेर पढेर सुनाएपछि जारी भएको थियो नेपालमा ।

अर्कोकुरा, भारतले नदबाएको भए हामीले दबिएको महसुस गर्ने नै थिएनोे । दबाउने र दबिनेबीच त दाजूभाइको होइन केवल साइनो रहन्छ मालिक र नोकरको मात्र । मेरो अर्थ पनि भारतीय सँग जोरी खोज्ने होइन तर कुनै भारतीयले तपाइँलाइ होच्याउन कै लागी पो यी प्रश्न गरिरहेका छन् की ?

नेपालमा चलेको जनयुद्ध विधिवत रूपमा अन्त्य भएको छ । समझदारी रूपमा यसरी युद्धको अन्त्य भएको विश्वमा कतै उदाहरण नै छैन । हामी अाफ्नै भाग्य (संविधान) लेख्ने तयारीमा छैँा । यो जति ठूलो कुरो के हुन सक्छ विश्वमा देखाउनको निम्ती । देशमा चलीरहेको संक्रमणकालीन अवस्थालाइ नकार्न सकिँदैन तर त्यो नै हाम्रो अन्त्य त होइन नि ।
नेपालयन जी अाशावादी हुनुहोस् , निराशाले जीवन चल्दैन न त चल्छ राष्ट्र नै ।

Luna said...

त्यो भारतीय लाई नेपाल को राजनीति बारेमा राम्रै जानकारी रहेछ । उस्को सोधाई बुझ्दा उस्ले जानी जानी खिस्याउदै अनी अन्त मा भारत कै जय होस् भन्यो भने तिमीहरु को पनि जय हुन्छ है भन्दै चेताबनी स्बरुप भने जस्तो पो लाग्यो । शूद को अ न्श परेको रहेछ मोरो त !
राजनीतिक हिसाब ले भारत को दाजु भाई नेपाली त हुनै सक्तैन ! गुलाम हुन सक्छ गुलाम !
उहिले ठाडै फ लामे सिक्री घाटिमा बाधेर गुलाम बनाउथे अब अहिले चाँही कागज को माध्यम बाट गुलाम बनाउछ्न ! फरक यती नै हो ।
नेपाली नेताहरु रुघा खोकी ला ग्दा पानी धारो लाएर भारत जाने र त्यही मौकामा भारतीय शासक हरु को धोती उचालेर पंखा हम्कने गरिरहुन्जेल सम्म हामी नेपाली को शिर ठाडो हुन पाउने छैन ।
तर पनि एक दिन त यि नेता हरु ले बाटो लाग्नु पर्छ नि , नेपाल आमाको गर्व-ग र्भ बाट असल -इमान्दार नेता हरु को जन्म नै नहुने त होइन नि !
जन्मी सकेका छन कि ! मा त्र समय ले अगाडि ल्याउन बाँकी होला !
निराश भ ई हाल्नु हुँदैन अहिले नै ।

एकलव्य ( Eklavya) said...

फोस्रो क्रान्तिकारी राष्ट्रवादको डींग हाँकेर २१ औँ शताब्दिको नेपाल पार लाग्ने वाला छैन । नेपाल भारतबाट हेपिएको छ भन्ने मानसिकतामा खोट छ र दासताको दिमाग तिनै क्रान्तिकारीहरूको उपज हो जसले नेपालको राष्ट्रवाद भारत बिरोधबाट शुरू गरेर त्यहीँको चक्कर लगाएर पूरा गर्ने गरेका छन् । अति बिरोध र लाजलाग्दो समर्पणको गोलचक्कर नेपाली राष्ट्रवादको ढ्वांग पिटाइ हो ।कहिले विस्तारवादसंग मुकाबिला गर्न सुरुङयुद्द खन्ने र कहिले प्रचण्डको कारवाहीमा परेको बाबुरामको जीवन रक्षाको लागि साउथब्लकको त्वंशरणंमा जीवन दान माग्न ल्याप्चे धस्ने माओवादी, हर्दम भारतको निगाहमा सत्तादान माग्ने कांग्रेस र पश्चिमबंगालदेखि १० जनपथसम्मको चाकरीमा यता र उताको दिसा हराएको एमाले ; कसैले देखाएको क्रन्तिकारितामा कुनै दम छैन ।

सकिन्छ लडेर हराए हुन्छ वा उतै मिसाएर एउटा गोर्खे प्रान्त बनाए हुन्छ। हैनभने सहअस्तित्वमा बाँचेर छिमेकीसंग बढीभन्दा बढी फाइदा लिएर आफ्नो उन्नतिको बाटो खन्न जाने हाम्रो भलो छ।

के अष्ट्रिया र स्विटजरल्याण्डको भूपरिवेष्ठितपना उसको अभिषाप बनेको छ ? के ती युरोपेली मुलुकले जर्मनी र फ्रान्स वा इटालिको निगाहमा आँफूलाई मोहताज बनाएका छन् र ? छैनन्, बरू यो मानवीय चरित्र हो कि ऊ आँफू कमजोर र हुतिहारा बन्छ अनि आफ्नो किच्चडपनको कारण अरूको शरीरमा हिँडेको जुम्रामा खोज्छ । हामी नेपालीको अधोगतिको कारण हामि स्वयं हौँ , भारत र भारतीय होइनन् । उनीहरू कुनै विषयमा दोषी होलान तर हाम्रो कुन त्यो महानता छ जस्ले हाम्रो अस्मितालाई माथि उठाउन खोज्दा भारतीय बाधक बने ?

परस्परको सजिलो र अपनत्वको सम्बन्ध, असल र दृढ राजनैतिक इच्छाशक्ति बोकेका इमान्दार नेताहरू र ती नेताहरूलाई आधार दिने विश्वासिला र सकारात्मक उर्जायुक्त समर्थकहरूको जनउभार हुने हो भने देश अरूले बन्न नदिए पनि बन्न सक्छ ।

राजनितिक दूराग्रहको दुषित विषले दिमाग रंगिएकाहरू जब हिंस्रक पागलपनको नशामा जब आफ्ना दुर्गन्धित आक्रोसलाई राजनीतिक रंग दिएर त्यही अकाट्य सत्य हो भन्ने बनाउँदै राज्यतन्त्रमा कब्जा जमाउँछन्, अन्ध राष्ट्रवादको नारामा जनतालाई लठ्याएर आफ्नो स्वार्थको एजेण्डामात्र अगाडि सार्छन, त्यो मुलुक सद्दाम हुसेनको इराक बन्छ वा जनतालाई अन्नको सट्टा मिसाइलको परिकार खुवाउने उत्तर कोरिया बन्छ । त्यसैले भारतसंग हाम्रो सम्बन्ध त्यस्तै हुनुपर्छ जुन हुन जरूरी छ , 'विस्तारवाद मूर्दावाद' भन्दै सात दिनमा सात पटक राकेश सूदको दरबार धाउने खालको भन्दा फरक ।

Luna said...

एक लब्य जि !
सप्पै नेपाली तपाईंको जस्ताइ सोच हुनु भएको भए १९५० को स न्धी को दोब्बर स न्धी गरी सक्या हुन्थियो भारत ले -----

Anonymous said...

मैले पोहोर साल माओवादि मन्त्रायणिलाइ भेट्ने मौका पाएको थिएँ । धेरै विषयमा धेरै कुरा भए तर उनले भनेको एउटा कुरा मनमा राम्रै सँग अड्कियो । उनले ढाँटेकि हुन या सत्य बोलेकि हुन त मलाइ थाहा भएन तर माओवादि सरकारले भारतलाइ साष्टाङ्ग दन्डवत गरेको त उसैको पुराना कुराको विपरित भएन र? भन्ने प्रश्न को उत्तरमा उनले के भनिन भने, नेपालको सरकारि लगायत धेरैजसो सेक्टरहरुमा भारतले मद्दत नगर्ने हो भने दुइ दिन भन्दा धान्न सकिन्न रे, आर्थिक मामिला मा । विकास र पुर्वाधारका कुरा त परै छाडौ । भोगे पछि थाहा भयो रे, त्यसैले खुलेर भारतको विरोध गर्न नसकेका रे ।

यदि कुरा यस्तै नै हो भने यो कुकुर भुकाइ नै गलत छ भनेर स्विकार गर्नु पर्ने हुन्छ र भारतको सहयोग आवस्यक छ भनेर भन्न सक्नु पर्छ । अनि निस्चत दुरि निर्माण गर्नु पर्ने हुन्छ । दुरि को परिमाण कति भन्ने हामि नै रोज्ने हो । यो दुरि हेर्दा टाढा तर वास्तविकतामा भारत-निर्भर नेपाल अशान्त आक्रान्त छ भने उता दुरि निर्धारण नजिक गरेको भुटान शान्त छ । अहिले परिवेस हेर्दा हामिले वुद्धि पुर्यायोभने भुटान जति झुक्नुपर्ने पनि हुँदैन तर सरकारमा जाने हरेक जोगिको कान भारतले चिर्ने गरेको छ भने सरकार विरोधिहरु सधै भारतको अति-विरोध गर्ने गर्दछन । स्वतन्त्र स्वाधिन नेपालको लागि सरकार र सडकको विदेश नितिमा एकरुपता हुनु अति आवस्यक छ । क्रान्तिकारि सडक र नतमस्तक सरकार वा नेता हरु विचको विन्दु वमोजिमको छिमेक-निति निर्धारण नभए सम्म उक्त मन्त्रायणिले भोगेको यथार्थ सधैँ दोहोरिने छ ।

मिलन said...

एकलब्य दाईको कुरामा मेरो पुरा सहमती छ | हो हामी आफु सप्रिनु भन्दा अरुलाई शंका गर्न र बिगार्न बढ़ी खप्पिस छौं | भारतले हेपो भनेर सधै बिग्री रहनु भन्दा दाईले भने झै सहअस्तित्वमा बाँचेर छिमेकीसंग बढीभन्दा बढी फाइदा लिएर आफ्नो उन्नतिको बाटो खन्न जानु हाम्रो लागी भलो छ।

तर शायद राष्ट्र बनाएर राष्ट्र बादी बन्नु भन्दा बिदेशी को बिरोध गरेर राष्ट्र बादी देखिनु बढ़ी सजिलो होला..| त्यसैले त सधै बिरोधी स्वर हरु मात्र सुनिन्छ...की कसो लुना दीजू ?

मैले त नेपोलियन दाईले भेटेको ति भारतीय साथीले नेपाली राष्ट्रीयता बिरुद्ध एक शब्द पनि बोलेको देखिन...

Himal_paari said...

एक्काइसौं सताब्दी को यो प्रतिस्पर्धात्मक समय मा आत्मनिर्भर नभएर खाली परनीर्भर मात्र हुने अनि आफु मेहनत नगरेर दोष जती भारत लाई थुपार्ने बानी मा सुधार नभए सम्म न हामी नेपाली को जीवन स्तर माथि वढ्छ न त हाम्रो देश नै उंभो लाग्छ । भारत ले हेप्छ र दबाउंछ भन्ने सोच्नु भन्दा मेहनत र पेरिश्रम गर्ने र कसरी भारत, चाइना,अमेरिका र जापान भन्दा बढी अर्थीक प्रगती गर्न सक्छु भन्ने सोचाई राखे मात्र देश ले अर्थीक प्रगती गर्न सक्छ। आफु मेहेनत गर्न अल्छि गर्ने, competitive nahune, अनि अर्को ले हेप्यो भन्ने Inferiority complex राखुन्जेल सम्म कहिले पनि प्रगती हुँदैन । आफु मेहेनत चै नगर्ने, सधैं बन्द र हडताल गर्ने, नुन तेल लुगा सप्पै भारत बाटै आयत गर्नु पर्ने, सत्ता र सरकार पनि भारत ले नै टिकाइ दिनु पर्ने, काम गर्नु साटो दिन भरि चोक र बजार मा बसेर राजनीतिक भाषान र गफ मात्र छाट्ने गरुन्जेल हाम्रो नियती भनेको दिन भरी भारत लाई गाली गर्‍यो, रात परे पछि भारतीय च्यानल हेर्दै अनि भारतीय गीत गुनगुनाउदै सुत्ने बाहेक अरु केही हुन्न । अर्का ले हेप्यो भन्दै रुनु भन्दा नेता र जनता सबै काम गर्ने, ध्वंस नगर्ने, र मेहेनत गर्दै अघी बढे देश भारत भन्दा अगाडि बढ्छ । जनता बिबेकी र मेहनती भए देश को चिन्ता गर्नै पर्दैन देश आँफै सम्बृध्ह बन्छ । जनता को हात मा बन्दुक थमाइ दिएर र फोस्रो राष्ट्रबाद पढाएर जनता बिबेकी र मेहनती हुँदैनन, स्कुल पठाउनु पर्छ ।

एकलव्य ( Eklavya) said...

सरी लुनाजी,

मलाई यो सस्तो क्रान्तिकारी राष्ट्रवाद सबै भन्दा फोस्रो लाग्छ । अब यसो भएको भए , यसो हुनथ्यो होला भन्ने मेटाफिजिकल डिबेटमा नजाऊँ किनभने यसरी केही निस्कर्षमा पुगिन्न । देश निर्माण, देशको अस्मिताको रक्षा र उन्नति आक्रोसमा निहित हुन्छ भन्ने मेरो सोच छैन र म त्यति ठूलो क्रान्तिकारी सोचको पछि छु जस्तो पनि लाग्दैन । तर मेरो सामान्य बुझाइ के हो भने, मेरो पल्ला घरको ठूलो , धनी र थुप्रै परिवारका सदस्य भएको छिमेकीसंग म कसरी मिलेर रहन सक्छु भन्ने खोज्नुमा मेरो त्यो छिमेकको बसाइ व्यवहारिक रूपमा सजिलो हुन्न र ? हैनभने ठुलै ग्याङ बनाएर उसको उठिबास बनाउन सक्नु पर्‍यो मैले र भोलिका चुनौतिरूलाई पनि त्यहि ढंगले फेस गर्न पर‍्यो क्यारे हैन र ?

कि त मेरो घरवास बेचेर म कतै मुभ गर्न पर्‍यो , तर देशको मामिलामा त यसो गर्न पनि सकिन्न नि ।

ल , भैहाल्यो म जस्तो सोचकाले २ टा १९५० का सन्धि गर्थ्यो रे , तपाईँको विकल्प पनि सुनौँ न, कस्तो हुन्थ्यो होला तपाईँको सोचले ल्याउने कुरा चाहिँ ।

नेपालियन said...

मेरा भारतीय मित्र हाल अमेरीकामा बसोबास गर्छन र उनी अहिले अमेरीकी नागरीक भएका छन। खासमा धेरै भारतीले नेपाल हिन्दु राष्ट्र (थियो) भएकै कारण उनिहरुका छिमेकी देश बंगलादेश या पाकिस्तान भन्दा चासो लिंदा रहेछन। बेला बेलामा उनिहरुकै छिमेकीबाट आतंकबादी आक्रमण हुने तर नेपाल उत्तरमा शान्त रहेर भारतीयलाइ कहिल्यै दु:ख निदिने भएर नेपालीप्रती उनिहरुको स्नेह बढ्तानै हुने रहेछ। त्यसैले नेपाली घटनाक्रम सके सम्म नियाल्न प्रयास गर्ने रहेछन तर उनी मित्र जान्न उत्सुक भएर आफ्नो ज्ञान सच्चाउदै थिए।
२०४७ को संबिधान लेख्ने दमन नाथ ढुंगाना लतायतका मानिस राजाका ब्यक्ती नभएर पार्टीहरुले नै चुनेका थिए। त्यो संबिधान राजाले बनाएको भन्नु अहिले संबिधान दिल्लीमा बन्दैछ भन्ने हल्ला जस्तै हो।
साथीहरुले अहिले संक्रमणकाल छ भन्नुभयो तर यो माओबादीको लागी मात्र संक्रमणकाल हो। माओबादी जस्ता हतियार धारी जथ्था बिभिन्न राजनितीक रंग भरेर टोल टोलमा उदाएका छन। यिनीहरुलाइ न त पुलिसले नै केही गर्न सक्छन, न त यिनीहरु माओबादीसंग नै डराउन सक्छन, यो सबैले देखेको कुरा हो। जनताको जिबन माओबादी युद्दकालको जस्तै अझै पनि असुरक्षित छ, यो देखे भोगेको कुरा हो, नकार्न नै सकिदैन।
हामी भारतसंग जोरी खोजेर माथी जान सकिन्छ कि मिलेर माथी जान सकिन्छ त्यो महत्वपूर्ण कुरा हो। देशको स्वार्थ हेरेर जिबनस्थर उकाल्न जे गर्नुपर्छ त्यसको लागी पछाडी हट्नुहुदैन। भारत उन्नतीको बाटोमा बढ्दै छ, सके मद्दत लिने नभए पनि त्यसको सिको हामीले गर्ने हो । हामी आफै सबल बन्ने हो अरुलाइ दोष लगाउने होइन।
हिमाल पारीले भनेको "दिन भरि चोक र बजार मा बसेर राजनीतिक भाषान र गफ मात्र छाट्ने गरुन्जेल हाम्रो नियती भनेको दिन भरी भारत लाई गाली गर्‍यो, रात परे पछि भारतीय च्यानल हेर्दै अनि भारतीय गीत गुनगुनाउदै सुत्ने बाहेक अरु केही हुन्न ।" चाही दामी लाग्यो। नेपालीको नियाती त्यही नै छ।

Luna said...

अहिले पेट भर्न पाए भोलिको हाम्रा स न्तती हरु भा ड् मा जाउन !भोलिको नेपाल भा ड् मा जाबोस !
अहिले सम्म त भुटान बनाउन सकेको छैन , कोशीस जारी छ भारत को । चुप चाप पेट को मुख हेरेर समर्पण हुँदै गयौ भने निकट मै हाम्रो मुलुक को अस्तित्ब लाई भुटान बनाउछ भारतीय शासक ले ।
( तर त्यस्तो नहोला किनकी नेपाल को अस्तित्ब को लागि शाहीद बन्ने हरु को कमी छैन नेपाल मा -----)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !