December 16, 2008

यता उताबाट

चिकन सेन्टर कि हट बाथ सेन्टर !

क्यलिफोर्नियाको केन्टकी चिकन सेन्टरमा काम गर्ने दुई युवतीहरुले किचनको सिङ्कमा “हट बाथ” गरेर त्यसको फोटो इन्टरनेटमा “माइस्पेस” मा राखिदिएछन र लोकल पत्रिका मार्फत बोसलाई सो कुराको जानाकारी भएपछि उनिहरुलाइ के एफ सीबाट निकालिएछ ।

लिटल बम्जन पछि नेपालमा राम सीताको अवतार

बाराको “राम कहानी” पछि मोरङको बराहक्षेत्रमा एक युगल जोडीले आंफुलाई राम र सीताको अवतार बताउंदै जंगलमा ध्यान गरेर बसेका छन रे । टाइम्स अफ इन्डियाका अनुसार सुनसरीका राम घिसिङ र उदयपुरकी सृजना राइ (मानविकीमा स्नातक) १४ महीनासम्मको तपस्या र बनबासको लागि उनीहरु त्यसो गर्दैछन रे । बच्चा देखि नै अध्यात्मिक रुची भएका दुवैजनामा पहिले सृजनाले तपस्या शुरु गरेकी र पछि रामले साथ दिएका हुन रे । अहिले भक्तजनले बनाइदिएको कुटीमा राम सीताको वास छ रे ।
धन्य छ हाम्रो देश अझै पनि भगवानको अवतार र हजारौं भक्तजनहरुको कुनै कमी छैन ।

बुश माथि जुत्ता प्रहार गर्ने पत्रकारको हालत

इराक भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बुशलाई जुत्ता प्रहार गर्ने इराकी पत्रकार मुन्ताजर जैदीलाई सुरक्षा बलले निर्मम तरीकाले कुटपिट गरी करङ र पाखुराको हाडहरु भांचिदिएका छन् । सुरक्षा बलले तत्कालै लडाएर घिसार्दै लग्दा कार्पेटमा रगतको दागको लर्को देखिएको भन्ने कुरा त्यति नै बेला बाहिर आइसकेको थियो । सी एन एन हेर्दा हेर्दैको तत्कालिक दृश्यमा पनि "अमेरिकी मोडलको इराकी प्रजातन्त्रमा" मानवधिकारको हविगत कस्तो होला र ती पत्रकारलाई कस्तो व्यवहार गरिएला भन्ने कौतुहलता त्यतिबेलै मनमा जागेको थियो ।

बुशले मन्द मुस्कान साथ जुत्ताको साइज बताउंदै त्यस्तो घटनालाई सामान्य देखाउन थपथाप कुरा गरे पनि हस्ताक्षर गर्ने बेलामा उनको मुहारमा प्रष्ट रुपमा त्यो घटनाको "फेसियल एक्सप्रेसन“ देख्न सकिन्थ्यो । मानवअधिकारको रक्षा गर्न केहि वर्ष अगाडि इराक पसेका बुशले अब त्यो पत्रकारको रक्षा कसरी गर्लान र मालिक रिझाउन इराकी लठैतहरुले उनका कतिवटासम्म करङ भाच्लान हेर्न बांकी छ ।

तर लेवनानी टेलिभिजन एन टी भीले भने उनलाई पहिलो जुत्ता प्रहार गरेको क्षण देखि आफ्नो संस्थामा नियुक्त गरेको र उनको सम्पुर्ण कानुनी खर्च बेहोरिदिने घोषणा गरेको छ ।



गजल - घुस र अख्तियार

सुमन बगाले
आबुँ खैरेनी ५ ढकलटार तनहुँ (हाल इराक )


घरै जान्न म जहिलेपनि श्रीमतिको गनगनी
बोल्छे झर्की हेर्छे तर्कि रिसले घुम्छे भनभनी

मेरोपनि त्यस्तै हून्थ्यो अहिले भाएको छ शान्त
चुपचाप हुन्छिन उनी जब गन्छु दाम खनखनी ।

दिन दिनै गन्ने दाम कहा पाउछ तिमीले
मन्त्रालयमा बसेर घुस खान्छौ कि त दनदनी ।

खान्न भन्दापनि आजभोली सुखै पाइदैन हेर साथी
बोकी ल्याउछन दिन भनि झोलामा खादि टनटनी ।

अख्तियारले घेरा हाल्ला जाला मान इज्जत पनि
दिए भन्दै जनताले ननिल्नु नी घुस सनसनी ।

अख्तियार र घुसको सम्बन्ध निकै गहिरो बन्दैछ
घुस बजाउछ ताली अख्तियार नाच्छ फनफनी ।

भन्छन घुस दिने घुस खाने दुबै देशको शत्रु हुन
तर के गर्ने हजुर हो नेपाली जनता नै बेइ मानी …।


(सुमनभित्रको सुधा गजल सँग्रहबाट साभार)



एक छिन हासौंन - ५

IMG_0268[2]आचार्य प्रभा, अमेरीका

अब यस्ता भोगिएका र देखिएका धेरै कुराहरु हुन्छन। कत्ती त पोख्न मन लागेर पनि पोख्न सकिन्न। कत्ती चाँही भन्न नमिल्ने अर्थात अपाच्य पनि हुन्छन।

अब म यस्तै अर्को भोगाइको प्रसँग बद्लौ है त?भनौ न आफ्न छोरा छोरी अर्थात केटाकेटिको बारेमा कुरा गर्ने हो भने यहाँको अनुभव र हाम्रो देश समाजको भोगाइमा पनि भिन्न्ता पाइयो । हुन त यहाँ कानुन र नियम अधिकारलाई शिरोपर गर्ने देश हो। यहाँका मान्छेहरु कानुन बिपरित चल्न चाहदैनन। नियम कानुन मिच्न चाहदैनन तर हाम्रो भने कानुन र नियम कागजमा मात्र सिमित हुन्छ। नियम बिपरित गइयो भने पनि त्यस्लाई मल्हम लगाउने ओखती छदैछ। अनी के चाहियो र ? जस्ले जे गरेपनी ?भन्नु को तात्पर्य के हो भने यहाँ बाल अधिकार पनि प्रष्ट छ। जस्तै भनु न बार्ह बर्ष मुनिका बच्चाहरुलाई आमा बाबुले एक्लै छाड्न पाइन्न । कुट्न,पिट्न त परै जाओस ठुलो स्वरले कराउन पनि पाइन्न। अब यो राम्रो भनु वा नराम्रो ?हाम्रो मानसिकता के छ भने बच्चाहरुलाई धेरै छुट दिनु हुन्न। बेलै देखी अर्जाप्नु पर्छ नत्र पछी कामनलाग्ने छाडा हुन्छन,अटेर हुन्छन,बाबुआमालाई नटेर्ने हुन्छन इत्यादी हो पनि हाम्रो सँस्कार अनुसार त्यस्तै देखिएको भोगिएको पनि छ। तर यहाँ भने बेग्लै छ त र मेरो सोचाइमा यो पनि ठीक हो।

धेरै गाली गरेर सदाउछु भनेर पनि कहिले त त्यस्को नकारात्मक असर् पनि पर्छ। चाहिने लाड,प्यार र चाहिने अनुशासनमा राख्नु त ठीक हो त र यहाँ चाँही मैले के पनि सुने भने हाम्रै नेपाली दाजुभाइका बच्चाहरुले पनि आमाबाबाले अलिकती कराए भन्दैमा पुलिस बोलाउने, आमाबालाई नै थर्काउने जस्ता घटना हरु पनि भए रे वा हुन्छन रे। त्यो चाँही अलिक मलाई नपचेको जस्तो लाग्यो किन भने हाम्रो संस्कृतिमा आमा बाबुलाई मान्ने चलन छ। जत्ती नै छोरा,छोरी पढेर जान्ने बुझ्ने भए पनि आमा बाबु लाई इज्जत नै गर्छन तर यहा त उस्तै पर्‍यो भने ४। ५ बर्षका आफ्नै छोराछोरी हरुसङ पनि डराउनुपर्ने स्थिती रैछ कतै पुलिस बोलाउला कि भन्ने। त्यसैले पनि आफ्नो छोरा,छोरी भनेर अलिक अधिकार जमाएर कुरागर्नु पनि डर भए पछी यो भन्दा दुर्भाग्य के हो हाम्रो समाज,संस्कृतिको लागि। कि कसो ? गल्ती भएमा क्षमा याचना सहित् अर्को अंकमा ।

क्रमश: