September 27, 2008

हुन दिनुपर्छ सुन्दरी प्रतियोगिता

माओवादी जनयुद्दले  नेपालका गाउँघरमा त्रासदि मच्चाएका बेलाको  कुनै समयमा तेह्रथुमको म्याङ्लुङमा एउटी कलेज पढ्ने केटीले जिन्सको पाइण्ट लगाएको र कपाल काटेर छोटो पारेको आरोपमा ती छात्रालाई, त्यतिबेला जनताको यु्द्द लडेका भनिएका माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीले कार्वाही गरेको थियो । बेलाबेलामा हाम्रा क्रान्तिकारी तथा राष्ट्रवादी समूहहरूबाट यो र यस्तै खालका घटना देशव्यापी रूपमा घटाउने र चर्चामा आएर सेलाउने गरकै हुन् त्यतिबेला । यस घटनामा कारवाही स्वरूप ती अभागी वालाको  कपाल पूर्ण मुण्डन गरिएको  थियो र उनको जिन्सको पाइण्टलाई छिया छिया पारेर बेइज्जति गर्दै बजार घुमाइएको घटना समेत त्यतिबेला समाचारको विषय बनेको थियो । .........  तर समयको गति न हो ,क्रान्तिकारिताको यो स्वरूपमा अहिले आएर १८० डिग्रिको परिवर्तन आइसकेको छ , किनभने ब्वाइज कट काटेको कपाल र जिन्सको पाइण्ट लगाएर माओवादीकी एकजना शिर्षस्थ महिला मन्त्री हिसिला यमीले आफ्नो पद तथा गोपनियताको शपथ दुई तीन पटक ग्रहण गरिसक्नु भएको छ। त्यस्तै पम्फा भूसालले पनि गरिन् क्यारे  । त्यसकारण, मन्त्राणी स्वयंले औपचारिक अनुमोदन गरिदिएको त्यो पहिरन र आवरण अब विवादको वस्तु नरहेको हुनसक्छ ।


तर नया नेपालमा नेपाल सुन्दरी ( मिस नेपाल ) प्रतियोगिता  हुन दिने कि नदिने कुरा सर्वथा विवादमा रहिआएको छ र हुन नदिने भन्ने पक्षका हर्ताकर्ता माओवादीहरू सत्तामा पुगेपछि भने मिस नेपालका आयोजकहरूको जागिर र जाँगर दुवै झन निरिह बन्न पुगेको छ । सुनिएको छ हिडन ट्रेजर नेपाल भन्ने संस्थाले आयोजना गर्ने मिस नेपाल प्रतियोगिता हालैका मितिमा आइपुग्दा  हुनबाट छैटौँ पटक रोकिएको छ । यो प्रतियोगिता हुन दिने र नदिने पक्षका आ-आफ्ना तर्कहरू पक्कै छन् । यसको विरोधमा न्वारानदेखिको बल खर्चिनेहरूका अनुसार यस्तो प्रतियोगिताले महिलाहरूको मानमर्दन गर्छ र महिला अस्मिताको बिरूद्द उनीहरूको बजारीकरण गर्दै अवमूल्यन गर्छ । अनि सञ्चालकहरूले प्रतियोगिताको नाममा सुन्दरी कन्याहरूलाई गर्नु नगर्नु गरेर लाभ लिन पनि सक्छन् र यसले समग्र नारी अस्तित्वको बजारमा लिलामी गर्छ । अत: महिला अस्मिता बिरूद्द गरिने यस्तो पूँजिवादी कर्तूतबाट जोगाउन , मिस नेपाल जस्ता प्रतियोगिता सञ्चालन रोक्नुपर्छ ।

उता सुन्दरी प्रतियोगिता हुनुपर्छ भन्नेहरूको पनि त्यति बडेमानको माग केही छैन । संसारभरि लगभग ( उत्तर कोरिया र मुसलमान मुलुकको भने थाहा भएन ) जतासुकै हुने र गरिने यस्तो प्रतियोगिता नेपालमा मात्र रोक लगाएर केही राम्रो हुने हैन भन्ने उनीहरूको भनाइमा असहमत हुनुपर्ने कुरा पनि केही छैन । यसका पक्षधरहरूका अनुसार सुन्दरता नारीहरूको पहिलो सम्पत्ति हो , र बाह्य र आन्तरिक सुन्दरताको प्रष्फुटन र प्रतिष्पर्धामा भाग लिने अवसरबाट बञ्चित गर्ने कुनै पनि कार्य अलोकतान्त्रिक त हुँदै हो , यसले महिलाको न्यूनतम् मानव अधिकार माथि पनि धावा बोल्छ भन्ने कुरा पनि साँचो नै ठहर्छ । अरू प्रतिस्पर्धाहरू जस्तै उमेर पुगेका सुन्दरीहरू तँ भन्दा म के कम राम्री छु ? भन्ने खालको प्रतिस्पर्धामा लड्न चाहन्छन् भने , सरकारको टाउको दुख्नु पर्ने कुनै कारण हुनुपर्ने केही देखिन्न ।

समग्र देश हिंसाग्रस्त छ , मुलुकभरि अव्यवस्था अनि राज्य र दण्डविहीनताको जगजगी मच्चिएको छ  । मान्छेको बाँच्न पाउने अधिकार , निर्भय रहेर आफ्नो दु:खसुख गरी परिवारसंग रहन पाउने अधिकार, आधारभुत सेवा ,सुविधा र वस्तु हासिल गर्न पाउने अधिकार, शिक्षा , स्वास्थ्यका अधिकार कुनै पनि कुरा देशमा अस्तित्वमा देखिन्नन् तर राज्य भने आफ्नो उपस्थिति दर्शाउन , केही चर्चित मुद्दामा आफ्नो संलग्नता देखाउन लागेको देखिन्छ ।

हुनत सुन्दरी प्रतियोगिता हुन दिँदा वा नदिँदा , नेपालीको भाग्यमा कुनै कायापलट हुने पनि हैन र यसले हाम्रो नियतिमा त्यति ठूलो तात्विक अन्तर ल्याउने पनि हैन , तैपनि नारीहरूले आँफुले सुन्दरी प्रतियोगितामा भाग लिएर , जितेर आँफुले गौरव हासिल गरेको अनुभव गर्न चाहन्छन् भने त्यो उनीहरूको मानव अधिकार हो र त्यसको रक्षा राज्यले गरिदिनु पर्छ । माओवादी राजनीतिको आदर्श मानिने कम्युनिष्ट मुलुक चीनले समेत सन् २००३, २००४, २००५ र २००७ मा  मिस वर्ल्ड  प्रतियोगिताको आयोजना आँफै गरेको छ । आधुनि विश्वमा सबैभन्दा बढी पट यो सुन्दरी प्रतियोगिताको आयोजक  कुनै पूँजिवादी मुलक नभएर कम्युनिष्ट मुलुक चीन रहेको कुरा  पढेका र देखेका जो कोहीले बुझ्न नसकेको पहेली के हो भने यो सुन्दरी प्रतियोगिता महिला अस्मिताको बिरुद्द नै हो  कि नेपालमा अहिलेका  सत्तापक्षकाहरूको राजनैतिक स्टण्ट मात्र ?  बुझ्न सकिएको छैन ।  सुन्दरी प्रतियोगिता हुन दिएर  हामीलाई हुनुपर्ने घाटा केही छैन, भयो भने थोर बहुत फाइदा नै होला । अत: कसैको राजनैतिक अडानको स्वार्थमा यो प्रतियोगिताको भविष्य जोडिनु पर्ने केही कारण देखिन्न । त्यसैले हुन दिनुपर्छ सुन्दरी प्रतियोगिता, कसैको केही खोसिने वाला छैन यसो गर्दा , इच्छुकहरूले भाग लिन्छन् त्यत्ति हो । बरू यो प्रतियोगिता ठीक हैन भनेर बिरोध गर्ने अर्को महिला समूह भएमा, तिनलाई पनि टुँडिखेलमा बिरोधसभा राख्ने अवसर दिँदा हुन्छ, भिडन्त टार्नु पर्‍यो त्यत्ति हो । तर, राजनीति नगर्ने हो भने कसैलाई बिरोध गर्न जानु पर्ने दरकार पनि हुन्न ।


गृहमन्त्रीको अरण्य रोदन र माओबादीको हुंकार

आज एकै दिनमा नेपालका मिडियामा दुईवटा अति भिन्न र पूर्ण विपरित समाचारहरु आए:

पहिलो समाचार थियो: उप-प्रधानमन्त्री तथा गृहमन्त्री बामदेब गौतमको संसदमा हतियार निषेध गरीएको 'अरण्य रोदन'। अरण्य रोदन यस मानेमा कि, उनको कुरा सुन्दा यस्तो लाग्थ्यो कि उनि हतियारलाई संसदमा मात्रै निषेध गर्न चाहन्थे र माओबादिलाई अनाधिकृत हतियार लिएर देशका अन्य कुनै पनि भागमा विचरण गर्न भने होलसेलमै छुट दिईएको छ । अनाधिकृत हतियार कसैले पनि कहि पनि लिन वा राख्न हुन्न भन्ने आँट गृहमन्त्रीलाई पनि आएन ।

शायद एकदमै शाहस जुटाएर उनले यत्ति पनि उदघोष गरेका थिए, तर उनको यो रोदन मिस्रित दरिलो उदघोषले केहि घण्टा पनि 'हिट' हुने मौका पाएको थिएन, राष्ट्रमा जुन बेला, जहाँ पनि र जे पनि गर्न अग्राधिकार प्राप्त माओवादिका तर्फबाट एक जना वरिष्ठ नेता टोपबहादुर रायमाझीले आफूहरुले त्यो निर्देशन पालना नगर्ने चुनौती दिई हाले।

रमाईलो कुरा त उनले बामदेवको ठाडै खिल्लि उडाएर त्यो उनको व्यक्तिगत विचार भएको बताए । वाह! गुण्डागर्दिको राजको यो भन्दा ठुलो आर्को के उदाहरण खोज्ने?। जहाँ देशका मूल कानून वा संबिधान निर्माण गर्ने दिग्गजहरुको भेलामा ज्यान लिन सकिने हतियारहरु आरामले बिना रोकतोक जान सक्छन र कानूनको ठाडो उलंघन त्यहि बाटै हुन्छन ।

एकातिर आफ्ना सुप्रिमोको कुनै यौटा जमघटमा अमेरिकि राष्ट्रपतिसंग भएको 'जम्काभेट' लाई 'वृहत वार्ता' र 'गहन छलफल' को नाम दिएर जहाँ माओबादिहरु, अमेरिकाले उनिहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको र यो 'भेट-घाट' पछि अमेरिकि नजरमा माओबादिहरु आतंककारी नभएको पुष्टि गर्न लागी परेका छन भने त्यहि बेलामा दिउसै हतियारधारिहरु सभासदको भिडमा प्रवेश गरि आफ्नो त्रास कायम राख्दैछन ।

माओबादिले पटक-पटक आफू नसुध्रीने वा आफुलाई समान्य नागरिक भन्दा बिशेष सम्झिने कुराहरु यस्तै हरकतहरुबाट प्रदर्शन गर्दै आएकाछन भने अन्य दलका जिम्मेबार नेताहरु पनि खालि झारा तिर्ने हिसाबले मात्रै त्यसको बिरोध गर्दै आईरहेका छन । यस्तै कानून तोडने हिम्मत र झारा टार्ने बिरोध चलिरहे भोलिका दिनमा हाम्रो देशको हाल के हुन्छ सहजै अनुमान लगाउन सकिन्छ । तर कानूनको पालना गर्दा नूर गिर्ने माओवादिको यो सोच त्यत्तीनै हलुका र बिकृत छ जत्ती बन्दुक बोकेर हिडंदा शान बढने उनिहरुको आडम्बर । यो कुरा समयमै बुझेमा सबैभन्दा बढि फाईदा माओबादि लाई नै हुन्छ ।



निरिह संविधानसभा , नेताजीको सपरिवार विदेश शयर : न्यू नेपालको विचित्र मोडेल (एक परिहास)

     संविधानसभाको निर्वाचन भएको पुगनपुग ६ महिना हुन थाल्यो । २ वर्षे पधावधि रहेको सभाको मुख्य काम हो नया संविधानको लेखन, अनुमोदन र जारी भएको घोषणा गर्नु । तर नेपालको हालत देखेर यस्तो लाग्दैछ कि , संविधान लेखनको कार्य कतै प्राथामिकतामा नै छैन । ६०१ जनाको सभा गठन गर्दिएर अलिकति बेरोजगार पार्टीका हुल्लडहरूलाई जागिरको जोहो मिलाइएको छ । ती पार्टीको श्‍वरमा समर्थन जनाउन जम्मा पारिएका लठैत हुल्लडहरूलाई तलब र भत्ताको टौवा ठड्याइदिएर त्यहीँ चर्न अह्राइएको छ र ती त्यहीँ भुल्दैछन् । मन्त्री बनेका सुपर लठैतहरू भने आजकल , नया नेपालको राजनैतिक मोडेल खोज्न- भेट्टाउन जहान परिवार सहित सरकारी कोषको ब्रम्हालुट गर्दै विदेश शयरमा मस्त छन् । अनौठो छ, जनताको युद्द लडेका जनताका पार्टीमा सरकारी भ्रमणदलमा मिसिन जनता नै छैनन् , केवल छोराछोरी, पति-पत्नि र नातागोता मात्र छन् । अहिले जुन द्रूत एवं भीमकाय गतिमा माओवादी नेतृत्वको मन्त्री मण्डलका मन्त्रीहरू विदेश यात्रामा निस्केका छन् , त्यो देख्दा यस्तो लाग्छ मानौँ उनीहरू नया नेपालको विचित्र राजनैतिक मोडेल भित्र्याउन व्यग्र र आतुर छन् । हेर्नुस न नेताजीहरू भ्रमण गर्दै गरेका मुलुकहरू कस्ता कस्ता फर्मूला बोकेका छन् :

माओवादी पार्टी सुप्रिमो र मुलुकका प्रधानमन्त्री दुवै बनेका पुष्पकमल उर्फ प्रचण्ड साम्राज्यवादी अमेरिकाको भ्रमणमा छन् । उनले त्यहाँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागिता देखाउने तथा अमेरिकी राष्ट्रपति बुशले दिने सामूहिक जलपानमा भाग लिने काम गर्ने छन् भन्ने विश्वास थियो। यो उनले गरिसके , तर नेपालमा रहेका माओवादी समर्थित मिडियाले भने यो सामूहिक जलपानको समारोहमा राष्ट्रपति बुशसंग मुखामुख भएको एउटा सामान्य सन्दर्भलाई माओवादीको अमेरिकमाथि भएको कुटनैतिक विजयको घटनाको रूपमा बहुप्रचारित पार्ने कोशिस गरे । यस्तै केही अमेरिकामा रहेका माओवादी समर्थक विद्यार्थी एवं अवसरकै मेसो खोजी रहने व्यवसायी र दूतावासका कर्मचारी अनि सानो गोराहरूको समूहलाई भेटेर प्रचण्डले गफगाफ गर्न पाएको साधारण घटनालाई उसका समर्थक चाटुकारहरूले प्रचण्डलाई अमेरिकामा भयंकर स्वागत गरिएको रूपमा प्रचार गर्ने कोशिस गरे । तर पनि वास्तविकता के हो भने, संयुक्त राष्ट्रसंघको यो कुम्भ मेलामा जात्रा भर्न जाने विदेशी नेताहरूको न्यूयोर्क र अमेरिकामा यतिबेला लथालिङ्ग उपस्थिति हुन्छ । राष्ट्रपति बुशसंग मुखामुख गर्न पाएको सन्दर्भलाई लिएर यति बिघ्न उत्तेजित बन्नु पर्ने कुनै कारण देखिन्न । तर पनि, भयंकर अमानुष र अमानवीय हिंस्रक शैलिको त्रासदि मच्चाएर संसारमै अछूत सरह तिरस्कार गरिएको समूहलाई भने यस्तो सामान्य भेट सन्दर्भ पनि पारसमणिले छोएर सुन बनाउने वा पवित्र पार्ने चमत्कारको लाग्न पनि सक्छ। यो छलाङ नै होला !

जनताको गणतन्त्रमा आफ्नी पत्निका साथमा छोरालाई स्वकीय सचिव बनाउँदै सरकारी खर्चमा कम्युनिष्टहरूले जन्मेका दिनदेखि नै साम्राज्यवादी भनेर गाली गर्न मन पराउने अमेरिका शयरमा निस्केका प्रधानमन्त्रीको यो भ्रमण उनले नै भन्ने गरेको आगामी नेपालमा लागू गर्ने भनिएको अनौठो मोडेलको तन्त्रको फर्मूला लिनका लागि पनि हुनसक्छ । प्रचण्डले भन्ने गरेको पूँजिवादी आर्थक चमत्कारको यो मोडेलवाला राजनैतिक परिपार्टीको अलिकति फर्मूला पूँजिवादी अमेरिकाबाट ल्याउने कुराका लागि उनी वहाँ पुगेको आशंका गर्ने हो भने , उनकै पार्टीका अन्य नेताहरूका बाँकि भ्रमणहरूको पनि चर्चा गर्नै पर्ने हुन्छ ।

सुनिएको छ , अर्का माओवादी मन्त्री रामबहादुर थापा आफ्ना छोरालाई सरकारी कोटाको सुरक्षा सल्लाहकार बनाएर चीनको रेडआर्मीले खेल्ने परेड हेर्न चीन पुगेका छन् । उनले रेड आर्मीको परेड हेरेर आएपछि माओवादी लडाकाहरूलाई कसरी नेपालको सरकारी सेनामा मिसाएर समग्र देशलाई माओवादी पार्टीकरण गर्ने भन्ने टेक्नोलिजीलाई मजाले प्रयोग गर्नेछन् । माओवादी नामले लडिएको यो युद्दलाई भर्खरै काठमाण्डौली जनताको निधी जात्राहरूको बजेट काटेर साँस्कृतिक क्रान्तिको पूर्व-पीठिकाका रूपमा प्रयोग गर्न थालिएको सन्दर्भमा , माओको देशबाट आयात गरिने नया मोडेलको राजनैतिक परिपार्टीको तन्त्रको प्रयोगका लागि , सँधै सेना र लडाईँको महत्वलाई मात्र बुझ्न चाहने माओवादी लडाका कमाण्डर एवं अहिलेका सरकारी रक्षामन्त्रीले आफ्ना सूत्रहरू र पाटपूर्जा लिन त्यहाँ गएका होलान् भन्ने बुझ्न गाह्रो छैन ।

माओवादी शान्ति-प्रकृयामा गएपछि सदावहार रहेका अर्का मन्त्री कृष्णबहादुर महरा पनि माओवादी मोडेलको आदर्श मानिने मुलक उत्तर कोरिया शयरमा आफ्ना सुपुत्र सहित निस्केका रहेछन् । आफ्ना पुत्रले बिदेश घुम्न पाउनु पर्ने जिरह गर्न थालेपछि यी कामरेडले पनि सरकारी कोटाको शाखा-अधिकृत बनाएर आफ्ना पुत्रलाई जनवादी शैलिले भ्रमणदलमा घुसाएका रहेछन् । उत्तर कोरिया भ्रमणबाट मन्त्री महराले ‘जनताको जनवाद र जुछ्छे विचारधारा’ को आदर्श फर्मूला ल्याएर नेपालमा प्रयोग गर्न चाहन्छन् भन्ने कुरा विश्वास गर्न सकिन्छ ।

उता अर्का माओवादि मन्त्री गोपला खुम्बु सपत्नि सरकारी भ्रमणमा ससुराली भेट्न हङ्कङ गएको कुरा पढ्न पाइयो भने सरकारमा रहेका माओवादी इतरका तीनवटा मन्त्री पनि मुलुक बाहिर नै छन् रे !

यता माओवादी पार्टीको प्रतिवद्दता पत्रमा रहेको १० वर्षमा १० हजार मेगावाट बिजूली निकाल्ने योजना कार्यान्वयन सजिलै गर्न सकिन्छ भन्ने उद्घोषका साथ , ठूलो भारतीय दलबल र त्यहाँका उर्जा मन्त्री जयराम रमेशको नेतृत्वमा काठमाण्डूमा ‘पावर समिट’ सम्पन्न गरियो , त्यही समिटको बाँकि रहेको कामकुरो पूरा गर्न अर्को सम्मेलनमा हिजैदेखि भारतको वराणसीमा हुँदैछ र त्यहाँ पनि माओवादी कानून मन्त्री देव गुरुङ पुगेका छन् । जति बेला चाहे पनि जान सकिने भएर होला त्यहाँ कामरेड गुरूङले आफ्ना जहान केटाकेटी लाने चहाना राखे राखेनन् त्यति चर्चा भएको छैन । तर पनि, माओवादीले भनेको चमत्कारी विकास र अभुतपूर्व मात्रामा निकालिने बिजुलीको यो ठूलो परिकल्पनामा भारतीयहरूको यति अन्तरंग चासो देख्दा भने, माओवादी प्रतिवद्दतापत्रको निर्माण पनि उतैका मित्रशक्तिले गर्दिएका रैछ्न् कि भन्ने कुरा सोच्नै पर्ने हुन्छ ।

घटानाक्रमलाई नजिकबाट नियाल्दा अनि संविधानसभा नामको जम्बो जुलुसका खातेपिते-रमिते सदस्यहरूको नकाम देख्दा अनि सरकारी नेताहरूको भ्रमण र सुख शयल देखेपछि भने आजकल यस्तो पनि लाग्न थालेको छ कि हामीले खोजेको संविधान पनि प्रोफेसर एस डी मुनी, प्रकाश कारत, इन्दर गुजराल, डिपि त्रिपाठी आदि महान राजनीतिज्ञ र राजनेताहरूको सल्लाहमा विज्ञहरू मिलेर जवाहारलाल नेहरू विश्वविद्यालयको विशाल पुस्तकालय भित्रै पो लेखिँदैछ कि ! हाम्रो चमत्कारी विकास र संविधान लिएर मित्र मुलुकका मित्रहरू नै हाम्रो कायापलटका लागि लागेपछि हाम्रा मन्त्रीहरूले के काम गर्ने त विदेश शयरको आनन्द नलूटेर ? यत्रा वर्ष जनतालागि जनतालाई नै डसेर जंगलमा बसियो, अब पनि विश्व भ्रणकको मंगल-आनन्द नलिने ?