August 2, 2008

आफ्नै कुरा - बसाइ सराईं

Akarmanas
हुन त मैले यो कुरा गर्दा कसैलाई अलि hypocritical लाग्न सक्ला, तर समस्या भने जायज नै हो ।
सानोमा मलाई आमाले भन्नु हुन्थ्यो "बाबु राम्रो सँग पढ है, प्लान मा पढ्नु पर्छ" । हुन पनि हो, नेपालमा टेक्निकल कलेजहरु धेरै नभएकाले बिदेशी सरकारको scholarship मा पढ्न जानु ठुलै कुरा हुन्थ्यो । यहाँ कुरा पढ्न जाने मात्रा को हो है, बसाइ सराई को हैन । आफ्नो सन्तान प्लान मा पढ्दै छन भनेर सुनाउनु पाउंदा बाबु-आमा गौरवान्वित हुन्थ्ये ।


ग्लोबलाईजेसन ले पो हो कि आहिले स्तिथी अलि फरक छ । आहिलेका आमाहरु शायद यस्तो भन्ने गर्छन् : "बाबु (वा नानी) राम्रो मार्क्स ल्याउनु पर्छ है नत्र काउन्सेलरले भिसा दिंदैन" । ब्यक्ती भएर सोच्दा सबै को आफ्नो मन परेको देशमा migrate हुन पाउनु अधिकार हो । तर देश भएर सोच्दा स्तिथि भाहभय छ । नेपालको primary र secondary लेवल पढाईको उदेश्य के भन्दा बिदेशमा पढ्न जान सक्ने दक्ष जन शक्ती तयार पार्ने मा सिमित भयो जस्तो छ । देश (ब्रिद्धाश्रम ?) केबल रेमिटेन्समा मात्र चली हाल्छ नि भनेर कसैले सोच्छ भने त्यो एकदमै ठुलो भुल हो ।


समस्या औंलाउन धेरै सजिलो हुन्छ, तर त्यसको समाधानको लागि केही नबोली समस्या मात्र औंलाउनु को पनि म केही औचित्य देख्दिन । म फेरी पनि दोहोराउनु चाहन्छु मैले migration को बिरुद्धमा बोल्न खोजेको हैन; संसार पहिला जस्तो रहेन, बसाइ सराइ सबै तिर ब्यापक रुपमा बढेको छ जुन आजको आर्थिक सामाजिक विश्व परिस्तिथिको लागि अपरिहार्य जस्तै भईसक्यो ।


कारण को रुपमा मेरो विचारमा बसाइ सराई दुई थरी हुन्छन: रहर र बाध्यता को । Temporal रुपमा हेर्ने हो भने बसाइ सराई फेरी दुई किसिमको हुन्छन: अस्थाहि र स्थाहि । मेरो सबै भन्दा ठुलो चिन्ता कुनै पनि बाध्य भई अस्थाहि रुपमा बिदेशिनु परेको नेपाली बाध्यताकै कारण स्थाहि रुपमा नै बिदेशमा थन्किनु नपरोस भन्ने हो । यो नेपाली बसाइ सराई को सबै भन्दा आधारभुत समस्या हो, यसको समाधान हुन साथ अरु पनि बिस्तारै सुल्झिंदै जान्छन जस्तो लाग्छ ।


अब म आँफैंलाई प्रश्न गर्न चाहन्छु, "म किन बिदेश आएको त"? मेरो विचारमा म रहरले पढ्न बिदेश आए पनि पढाई सकी देशको अस्थिरता लाई बाध्यताको टोपी बनाइ बसी रहेको छु । हुन पनि हो, एउटा जीवन शैली मा लागेपछी फेरी नेपालको भांडभैलो सहने क्षमता जुटाउन गार्है हुन्छ । तर I.Sc. / I.Com. सक्ने बित्तिकै सबै नेपाली बिदेशिन खोज्छ्न भने देशको स्तिथी र भविश्य सजिलै अनुमान लगाउन सकिन्छ । मेरो बिचरमा बिदेशिनु पनि पर्छ, बिदेश आएर म जस्तो मखण्डीलाई त कती धेरै सही-गलत को ज्ञान भयो भने अरु नेपालीले पनि धेरै कुरा सिक्छन । तर बिदेसियका २५% पनि नेपाल फर्केनन् भने त्यो आर्जित ज्ञान को नेपाललाई केही फाईदा हुने वाला छैन ।


परिवारको भविश्यको risk लिएर नेपाल (अहिलेको स्तिथीमा) फर्किन दर्है मुटुको मान्छे हुनु पर्छ । त्यस्ता कोही नहोला भन्न खोजेको हैन मैले, तर यि बिदेशी अनुभव र बिद्धा हासिल गरेका अधिकांस फर्किन भने अहिलेको स्तिथीमा ब्यापक सुधार हुनै पर्छ। मेरो पनि अब अर्को लेभलको पढाई सकेर नेपाल नै फर्किने मानसिकता छ (सबै कुरा मैले प्लान गरे जस्तै हुन गयो भने)। तर फर्किन को लागि नेपाल सरकार संग केही न्युनतम पुर्व सर्त भने अवश्य छ :

१. नेपालमा राजनैतीक स्थाहित्व हुनु पर्छ ।
२. नियम कानुन को प्रत्याभुति हुनु पर्छ ।
३. रिसर्च र अध्ययन का प्रोजेक्टहरु कमिसन को लोभ मा कन्सेल्तेन्सी लाई हैन विश्वाबिद्यालयहरु लाई प्रदान गरी प्राध्यापक र बिद्यार्थी दुबै लाई प्राविधिक सिप निखार्ने मौका दिनु पर्छ ।


यो नितान्त मेरो आफ्नै बिचार हो, सबैका आफ्नै सोचाइ र पुर्व सर्तहरु होलान ।



माओवादीलाई सरकार: नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छा बाउको अनुहार

कुनै बेला गिरिजा कोईरालाले ठाउँ नछाडिदिएकाले , सरकार गठन गर्न नपाएको रोदन रूने माओवादीले गिरिजा कोईरालाले राजिनामा पत्र कता बुझाएर मुक्त हुन पर्ने हो सम्झिन उचित ठानेन । क्रान्तिकारी पार्टी भएकाले उग्र कुरा गर्नु र सनसनी पैदा गर्दै चर्चित बन्नु उसका स्वाभाविक स्टण्ट भइ नै रहे । यही बीचमा , संविधानसभा निर्वाचन जित्ने शैलिका कारण अरू भन्दा आँफू बढी नै बाठो भएको ठान्ने माओवादीले , सभाको सबैभन्दा ठूलो दल भएको नाताले अरू दलहरूको नाडी छाम्ने र उपयोग गर्ने अनि रछानमा मिल्काउने दूर्नियत प्रयोग गर्न खोज्दा , ऊ आँफै ' बाठोले खाएको तीन बल्ड्याङ' को गतिमा अछूत जस्तो बन्न पुगेको पत्तो पाएन । कम्युनिष्ट रूपी सगोत्री एमालेलाई अन्तिम अवस्थामा जसरी माओवादीले आँफै धोका दियो अनि सो समीकरण बिगार्नुको दोष उल्टो एमालेको टाउकोमा फाल्न खोज्यो, यो कुराले कतै माओवादीको वास्तविक उद्देश्य उजागर भएको त हैन भन्ने आशंका जन्माएको छ ।

पछिल्ला दिनहरूमा संविधानसभामा प्रतिनिधित्व गर्ने २५ वटै दलहरूको भेला ठाउँठाउँमा आयोजना गर्दै सरकार गठनको पहल गर्दै गरेको देखाउन खोजे पनि , यो अति राम्रो जस्तो देखिने अव्यवहारिक बाटोको अख्तियारी गर्दै माओवादीले वास्तविक काममा आलटाल मात्र प्रदर्शन गरिरहेको छ भन्न गाह्रो छैन । यथार्थमा यो सर्वदलीय भेलाको कलाबाजीमा नरुम्मलिएर माओवादीले अरू दलहरूले उससंग सहकार्य गर्न देखाएको अप्ठ्यारो के हो भन्ने कुरालाई आत्म मूल्यांकनसहित सच्चाउन पहल गर्नु पर्ने हो । माओवादीको सैन्य दम्भ र अहंकार अनि उसको क्रान्तिकारी नशामा बिगतका सम्झौताहरूलाई लोकतान्त्रिक मान्यताका कसीमा पालना गर्न नखोज्नु अनि यही बलमिचाहा शैलिकै भरमा अरूलाई पेल्दै आफ्नो एजेण्डा लागू गर्न सकिन्छ भन्ने माओवादी सोच र उसको यो सोचलाई अंकूश नलगाई हुन्न भन्ने अरू दलहरूको धारणाको बीचमा , अहिलेको अनिर्णयको स्थिति झुण्डिरहेको देखिन्छ । अनि राष्ट्रिय अन्तर्राष्ट्रिय चासोहरूले यो स्थितिको बीचमा खेल्न खोज्नु पनि बुझ्न सकिने कुरा हो ।

हिंसाको बलमा आँफू सफल शक्तिको रुपमा स्थापित भएको ठान्ने दल अनि धेरैजसो लोकतान्त्रिक विश्व शक्तिहरूले मन नपराएको उग्र कम्युनिष्ट पार्टी माओवादीहरू सत्तासीन बन्न आउँने कुरा नेपालका धेरै मित्र मुलकहरूलाई त्यति सुखद लागेको देखिएको छैन ।सम्भव भएसम्म त्यस्तो नहोस् भन्ने कामना कतै न कतै बन्यो भने पनि आश्चर्य हुँदैन । फेरि अल्पमतको सीमित सामर्थ्यको घोडामा चढेर अरूलाई चाबुक चलाएर आफ्नालागि एकलौटी भविष्यको राजनीति कायम गर्ने एजेण्डा लिएर क्रान्तिकारी विरासतसहित राजनीतिमा प्रविष्ट माओवादीले, अहिलेको सीमितताहरू पक्कै बुझेको हुनुपर्छ । यस्तोमा आफ्नो नेतृत्वको सरकार बनेर पनि धेरै कुरा गर्न नसकिने अहिलेको, परिस्थितिको दशा र दिशा बुझेको माओवादीले जानाजानी सरकार गठन गर्न नचाहेको देखिन्छ भने ऊ आँफू जिम्मेवारी बोक्ने कामबाट पञ्छिएको दोष पनि आँफूमाथि नलागोस् भन्ने कुरामा चनाखो देखिन चाहन्छ । राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेद्वारको पराजय पछि, कुनै बेला अरूलाई हरूवाको आरोप लगाउने माओवादीले आफ्नै भाषा बिर्सिएर माओवादीको नेतृत्वमा सरकार बनाउने भए अरूले आफ्ना तीन शर्त अरू दलहरूले पूरा गरिदिनु पर्ने अत्तो अगाडि सार्नु यस्तै उदेक लाग्दो परिघटना थियो ।

अहिले पेट्रोलियम र अन्य उपभोग्य वस्तुहरूको मूल्यवृद्दि कसैले चाहेर नियन्त्रण हुने स्थिति छैन । माओवादीले आँफैले उक्साएका, जातीय, क्षेत्रीय, भाषिक, लैंगिक समस्याहरूलाई समाधान दिन पर्ने ठाउँमा ऊ आँफै बस्दा उसको जिम्मेवारी कस्तो हुने सबैले पर्खेर हेरेका छन् । वाइसिएल र छापामारका मुद्दा आफ्नै सरकार बन्दा निरूपण हुने कुरामा ढुक्क बनेका आफ्नाहरूको आकांक्षा पूरा गर्नु गाह्रो कुरा छँदैछ । परम्परागत सेना भित्र खेल्न खोज्ने माओवादीको चाहना र योजना अनि त्यसले सामना गर्नु पर्ने अवरोध र अन्य दलहरूसंग रहेको बहुमतको साँचोले पार्ने अप्ठ्यारो लाई राम्ररी चिनेको माओवादी यो सबैभन्दा संवेदनशिल मुद्दा कै कारण माओवादीलाई सरकारमा गएर असफल र किंकर्त्व्य बन्नु भन्दा बाहिरै बसेर तमाशा गर्नु रोचक लागेको पनि हुन सक्छ । जुन कुरामा ऊ पोख्त छँदैछ ।

अत: ऊ चाहन्छ आफ्नो लागि काम गर्न अनुकूल नहुने सरकार सम्हालेर अपजशको भागिदार बन्नु भन्दा, कांग्रेस, एमाले फोरम आदिको दुष्चक्र अनि अपवित्र गठबन्धनलाई गाली गर्दै वाइसिएल र छापामार गतिविधिले अप्रत्यक्ष सरकार चलाइरहन पाउनु उसका लागि बढी आकर्षक लागेको पनि हुन सक्छ।

यति भन्दा भन्दै पनि बुझ्न सकिने कुरा हो, सत्ता वा सरकारमा प्रमुख भएर जान पाउनुको टेम्पटेसन अलग्गै छ । तर पनि केहि समय सत्ताको शिरानीमा पुगेर नालायकमा रूपान्तर बन्दै क्रान्तिकारिताको धार भुत्त्याउँदै भविष्यको गर्भमा बिलीन हुनु ठिक कि, कल्पनाकै सही, भोलिका लागि अहंकार र उग्रताको रक्षा गर्ने भन्ने द्विविधामा माओवादी नराम्ररी फँसेको प्रतीत हुन्छ पछिल्लो निर्वाचनको सफलताले दिलाएको सबैभन्दा ठूलो दलको स्थान कतै माओवादीका लागि " नखाऊँ भने दिनभरिको शिकार , खाऊँ भने कान्छा बाबुको अनुहार " भएको त हैन ?



दौतरी विनाका १२ दिन

जुलाई २१ सम्म ठिक ठाक चलेको दौतरीको पानो मेरो कम्प्युटरमा ठ्याक्कै त्यसको भोलि पल्ट अर्थात २२ जुलाई देखि खुल्न छोड्यो । कति कोशिस गरें, क्षणिक रोकावट होला भन्दै फेरि पनि पटक पटक गरेर दौंतरी पेज खोल्ने कोशिस गरें, अहं खुलेन । मैले सोचे कतै रजिष्टर गरेको कम्पनीले दौतरीले डोमेनको भाडा समयमा तिरेन भनेर त वेब साइटमा ताला लगाइदिएन ! दौतरीका एडमिनिस्ट्रेटरलाई पनि सधैं यो बोझ सम्हालिरहंदा दिक्क पो लाग्यो वा फुर्सद नभएर पो कतै हराएको र डोमेन गायब भएको पनि पत्तो नलागेको हो कि ! यस्तै कुराहरु खेलिराखे मेरो मनमा केहि दिन । लामो समय सम्म पनि केहि उपाय नलागे पछि खत्र्याक खुत्रुक यता उता गर्दै गुगलको ब्लग एकाउण्टबाट पसेर हेर्दा एकलव्यको डायरिको “काम कुरो एकातिर “ र ब्रिलियन्टमेनको “ के अरु दलहरु मात्र “ भन्ने लेखमा आंखा पुग्यो अनि बल्ल शंका लाग्यो दौंतरीको गाडी गुडिरहेको रहेछ बरु प्यासेन्जरको रुपमा म नै छुटेको रहेछु ! अनि मैले एक जना साथिलाई अनलाइन भेंटे र उनलाई एक पटक उनको कम्प्युटरमा दौतरी खुल्छ कि खुल्दैन भनेर सोधे, उनकोमा खुल्छ भन्ने जवाफ पाएं, त्यस्तै नेपालियनजीलाई इ-मेलमा सोध्दा पनि कुनै परिवर्तन गरेको छैन भनी केहि बैकल्पिक लिंकहरु समेत दिनु भयो । अहं त्यसबाट पनि खुल्दैन । कुकीहरु डिसएबल्ड भएर डेस्कटपबाट नखुलेको हो कि भनी ल्याप टप बाट पनि कोशिस गरें अहं खुल्दैन । अन्य सबै साइटहरु, ब्लगहरु सबै खुल्छन दौतरीमात्र नखुल्ने ! अफिसमा प्रोक्सी सर्भर प्रयोग हुने र कडा इन्टरनेट सुरक्षा अपनाइएकोले यस्तो भयो होला भन्ने मनमा लाग्यो , र नेट डिपार्टमेन्टबाट नै कुनै दिन यो समस्या हल गरुंला भनेर कुरेर बसें ।

यस बिचमा मैले दौंतरीको लागि लेखेका केहि लेखहरु “शहिद” भए , किनकि पोष्ट गर्न सकिन र दुई हप्ता पछि तिनिहरुको सान्दर्भिकता पनि हरायो ।

अनि आज अर्कै स्थानबाट दौंतरीको बस भेट्टाउन आइपुगे , साथिहरु देख्दा दंग पर्दै ! तर यो बिचमा मलाई लाग्यो एउटा साइट चलाउन धेरै मेहनत लाग्दो रहेछ । प्राविधिक र साज सज्जाका अनि यस्ता नियमित समस्याहरु कसरि समाधान गर्ने भन्ने खुबी नभएको म जस्तो प्राणीलाई बल्ल हाम्रा दौंतरीका एडमिनिस्ट्रेटर “नेपालीयन” जीले गरेको श्रमदानको हेक्का भयो ।

छाडा व्यापारिक ब्लग वा साइटहरु भन्दा भिन्दै रुपले देशको माया गर्नेहरुको बिचारलाई प्रस्तुत गर्ने जमर्को सहित अगाडि बढ्दै गरेको हाम्रो प्रयास जारी राख्न चाने चुने छैन । दैनिक २०० को हाराहारीमा क्लिक हुने साइटलाई कुनै आर्थिक र प्राविधिक सहयोग बिना अथक संचालन गर्ने नेपालियनजीको परिश्रमलाई चानेचुने मान्न सकिंदैन ।

“म” भन्ने व्यक्तिबादी जुगमा, अझ हामी नेपालीहरुको हकमा यो “म”-पनत्व अझ बढी लागु हुन्छ , तर दौंतरी “हामी” बनेर अगाडि बढिरहेको छ । त्यसैले यसले “इगो” र भावनात्मक कनफ्लिक्टलाई एकातिर पन्छाउन सफल छ र यसरी नै अगाडी बढ्न सफल हुनेछ । छिट्टै यो इन्टरनेट समस्या समाधान गरेर म पनि पुन नियमित दौंतरीहरुसंग यात्रामा सहभागी हुनेनै छु ।