सानै छँदा एक दिन बुबासंग डिल्लीबजार तिर हिडिरहेको थिएँ । बिच सडकमा एकजना चर्को स्वरमा चोर औला ठाडो पार्दै बर्बराउँदै थियो “ … मलाई यो देशको राजा बनाईदिनु, म यो बाटो सुनको बनाई दिन्छु … …” बाटोमा हिडने सबै त्यहि व्यक्तीलाई हेर्दै हिडिरहेका थिएं।
सुनको भाऊ र राजनीति बारे क, ख, ग पनि जान्ने उमेर थिएन त्यो, तर सुन भनेको महङ्गो बस्तु र राजा भनेका ‘जे पनि गर्न सक्ने’ व्यक्ति हुन भन्ने थाहा थियो । त्यस दिन घर फर्के पछि मैले साँझमा सबै परिवार भएको बेलामा त्यो दिउसो देखेको मान्छेलाई किन राजा नबनाएको भनेर प्रश्न गरें । मेरो कुरा सुनेर घरमा सबैजना गलल्ल हासें “धेत! त्यो त बहुला हो … ” बहुलाको परिभाषा पनि राम्रो नबुझेकोले त्यस पछिका केहि दिनहरुमा मेरो मानसपटलमा त्यो व्यक्ति र उस्को आबाज गुञ्जिरह्यो … । मेरो बाल मष्तिष्कमा त्यसपछिका धेरै दिनसम्म बारम्बार यौटै कुरा आईरह्यो :- त्यो मान्छेलाई ‘राजा’ बनाए पनि हुन्थ्यो नी ! आफ्नो बचपनाको बारेमा हाँसो लागे पनि त्यो ‘राजा बन्न पाए सुनको बाटो बनाउने मान्छे’ को भने मलाई पछिसम्म सम्झना छ । यथार्थको धरातलमा बसेर सोच्दा सुनको बाटो बनाउने कुरा असम्भब भए पनि त्यतिबेला बाटोमा हिंडने ठुलै मान्छे पनि उसका कुरा सुन्दै हिडेको याद छ मलाई । त्यो यौटा केवल कोरा कल्पना र पागलपन थियो … तैपनि तात्कालीन समयमा ‘राजा’ र ‘सुन’ शब्दले सबैको ध्यान खिचेको हुनसक्छ । सोच्दा सोच्दै मेरो मानसपटलमा फेरि त्यो बहुलाको बिम्ब र आबाजहरु घनिभूत भएर गुन्जन्छन, म अचानक फेरि आफुलाई डिल्लीबजारको त्यहि सडक छेउमा पाउँछु । त्यो बहुला आज पनि पूर्वबत आफ्नो “घोषणा पत्र” को पाठ गरेर कराउँदै छ “ मलाई राजा बनाईदिनु … म यो बाटो सुनको बनाई दिन्छु … …” अहिले म मा बचपना छैन र मलाई उस्को त्यो सुनको बाटो बनाउने योजनाले पनि तान्न सक्दैन । मलाई थाहा छ त्यो बहुला हो र उसलाई आफुले बोलेको कुराको न कुनै ज्ञान छ न जिम्मेबारिपनको बोध । म त्यो बहुलालाई वास्तै नगरि बाटोमा अगाडि बढ्छु … तर अचानक बाटोको आर्कोतर्फबाट झुण्ड-झुण्डमा हुलका हुल मानिसहरु देखापर्छन । म बिस्तारै त्यो झुण्ड भएतर्फ बढ्छु, अगाडि भीडको बिचमा अलिकता अग्लो मञ्च बनाईएको थियो र त्यसमाथी एकजना व्यक्ति चोर औंला ठडाएर मच्ची मच्ची कराउँदै थियो “ मलाई भोट दिनुहोस् म यो टोलामा ढल बनाईदिन्छु, … बाटो बनाईदिन्छु … , पानीको समस्या समाधान गर्छु … … ” हेर्दा हेर्दै मेरो आखाँ अगाडी चलचित्रका दृश्यझै गरि सबै घटनाक्रमहरु घुम्न थाल्छन्। हेर्दा हेर्दै त्यस्तै अरु धेरै जना ठाँउ ठाँउमा देखीन्छन् । कोहि २ बर्षमा मेलम्चिको पानी ल्याउने, कोहि ५ बर्षमा नेपाललाई स्विटजरल्याण्ड बनाउने आदि आदि । सबैले यथार्थीय धरातलमा कुनै पनि हालतमा पुरा गर्न नसकीने सपना बाँड्दै थीए । तर सफा लुगा लगाएको र यौटा यौटा झण्डा पनि समाएकोले सबैजना ति व्यक्तिहरुको कुरा ध्यान दिएर सुनेका देखिन्थे । म पुन झसंङ्ग हुन्छु र बास्तबिकतामा फर्कन्छु । मलाई अब देशका नेताहरुको अगाडि त्यो डिल्लीबजारको बहुला ‘पागल’ लाग्न छाड्छ ।