खडेरीले पट्पटी फूटेको मेरो धानखेतमा
फुल्नै लागेका धानका बालाहरू
आकाश हेरेर आशातुर थिए।
अचानक, दूर क्षितिजबाट
एउटा लहर आएको देखियो !
भावातिरेक सन्तुष्ट मैले
सन्तोषको उच्छवासमा आँखा चिम्लिएँ।
तर अपशोस,
मेरो खुशी, स्वप्निल सोचको
मुदित नयनमा
झुकेका परेलामात्र थिए,
मधुर जलको त्यो बहाव
मैले आँखा खोल्दा
सलहको बथान भेटियो ।
स्वप्नभंगको पीडामा मर्माहत
मेरो यत्रतत्र
न त्यहाँ धानका बोट नै बाँकि थिए
न त्यहाँ कुनै जलको ओस थियो
त्यसैले त मेरो मानसमा अद्यपि
पानीका शितल जस्ता देखिने
नक्कली प्रवाह-छालहरू
सलहको समुद्र बनी
आक्रान्त पार्न आउँछन् र सताउँछन् ।