April 26, 2008

भित्ते राष्ट्रपतीको अवतरण

- अशोक " खलान को मान्छे "
ड्राम्स्टाड जर्मनी
बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भन्नेहरु
ब्यालेट बक्सको मोहर देखी सैधान्तिक पराजय भोग्दै छन
बिजय उत्सव सँग सँगै धसिएको सिन्दुर र मालाहरु
पन्ध्र हजार निर्दोश नेपाली रगतले बनेको खुनी दाउपेचका सफलताहरु

कायल छन भित्ते राष्ट्रपती यती बेला आफ्नै झुटको पर्दा भित्र
चुनावी आश्वासन एउटा रणनिती हुनसक्छ उस्को लागि
सोझा जनता झुक्काउने ५२ सुत्रिय मागपत्र जस्तै
जानार्दनले डाडु पन्यो दि सके , अब त्यो ५२ सुत्रिय माग पुरा गर आँफै

अब सडक तिम्रो सदन तिम्रो जंगल पनि त तिम्रो
अब सपना तिम्रो कार्यपत्र तिम्रो संविधान पनि तिम्रो ढंगको
एक युगको एक दिन तिम्रो पोल्टा मा परी सकेको छ
अब भित्ते राष्ट्रपती होइन कोठे राष्ट्रपती बन्छौ होला नै

आश्वासनको पोका फुकाउ तिमी आँफै नै
स्विजरल्यान्ड मलेसिया भिएतनाम वा कम्बोडिया
सपनाको बाटोमा छलाङ मार तिमी आँफै नै
पुर्वी युरोप क्युबा , उत्तर कोरिया वा नयाँ नेपाल नै

भित्ते राष्ट्रपतीको अवतरण हामी पर्खि रहन्छौ
नेपालीले सम्पूर्णता गुमाएको यो १७ बर्ष सम्झिरहन्छौ
सान्ती क्षेत्र मेरो देश बुद्धको मेरो देश शिवको मेरो देश
रोग भोक र सोकले जर्जर भएर मारकाट हत्या हिंशाले जरा हाली
नयाँ शिवत्वको रुप मा हिशा स्विकारेका छौ,प्रतिहिंशाको साटो

अझ पनि हामी त सान्तीका पूजारी हौ
साच्चै बन्दुक झुक्ने आश मा मोहोर लगाइदिएका छौ
चाहे तिमी हाम्रो आस्थाको गद्दी त्याग
भित्ते राष्ट्रपती को अवतरण पस्चात त्यो आस्थाले पुन शिवत्त्व प्राप्त गर्छ

शिवत्व संसारका खुशीका लागि विष पिउने हरुले नै प्राप्त गर्छन
मेरो आस्थाको गद्दीले पनी असक्षमका टिका लगाउनेहरुका विष पिएका हुन
त्यसैले गद्दी नै त्याग्नु परे पनि हामी खुशी छौ
ईतिहास साक्षी छ ,हामी जनचाहना बदल्न बन्दुक तेर्साउन सक्दैनौ
जनताको नाम मा जनता लाई अधकल्चो अधमरो छाडन सक्दैनौ ।


गिरिजाज्यू अव स्वर्गलोकमा नै गएर प्रम हुने कि?

संबिधान सभाको चुनाव सकियो। स्वनामधारी ठूला दलहरु कांग्रेस र एमाले नराम्रो संग पछारिए र माओबादीले अनेपेक्षीत सफलता हात पर्‍यो। आफ्नो हारसंगै एमालेका मन्त्रीहरु सरकारबाट बाहिरिए र अब बन्ने सरकारमा सहभागी नहुने घोषणासमेत गर्न भ्याए तर आफूलाई प्रजातंत्रको मसिहा ठान्ने नेपाली कांग्रेसका नेताहरु भन्ने अचम्मको कुरा गर्दैछन। माओबादीले दुई तिहाई बहुमत नल्याएकोले अब बन्ने सरकार पनि उनीहरुकै नेत्रित्वमा बन्नु पर्छ रे। आफू लडेर तल परे पनि खुटा चांही माथि नै?
वाह, धन्य कांग्रेस। बिभिन्न बहानामा कांग्रेस सत्ता छोड्न चाहदैन।
माओबादी र एमालेले "समानुपातीक निवाचन" को माग छोडिदिएर कांग्रेसको "प्रत्यक्ष निर्वाचन प्रणाली" मा गएको भए झन् कुन हविगत हुन्थ्यो, त्यो सामुन्ने छ।माओबादीले दुइ तिहाई सीट जित्न नसकेकोले अव बन्ने सरकार पनि कांग्रेसकै नेत्रित्वमा हुने भन्ने यो कस्तो तर्क हो? कांग्रेसमा लाज शर्म भनेको दुई पैसाको पनि छैन जस्तो छ।यति शर्मानाक हार पछि पनि अझ सरकारको नेत्रित्व गर्छु भनेर कसरी लाज पचाएर भन्न सकेका हुन्?
समानुपातिक को परिणामले माओबादीलाई बहुमत त दिएन, तर बिशाल अन्तरकासाथ सबै भन्दा ठूलो पार्टी तुल्याएको छ र यस हिसाबले सरकारको नेत्रित्व गर्ने अधिकार माओबादीको हुन्छ। अन्य दलहरु माओबादी नेत्रित्वको सरकारमा जानु-नजानु स्वेच्छाको कुरा हो तर सबै भन्दा ठूलो बन्न पुगेको पार्टीलाई सरकारको नेत्रित्व गर्न नदिनु भनेको उनीहरुलाई फेरि शान्ती प्रक्रियाबाट पलाएन गराउनु हो। कि भने नेपाली कांग्रेसले हामी नै दुइ तिहाइ बहुमत सिद्ध गरेर सरकार बनाउछौ भन्न सक्न पर्यो।आम जनताले माओबादी नेत्रित्वको सरकार हेर्न चाहेका छन् र देशमा केहि परिवर्तन् हुन्छ कि भनेर आशा गरेका छन्।
अन्य दलहरुले माओबादीहरुलाई यो मौका दिनु पर्छ र केहि समय चुप लागेर बस्नु पर्छ। माओबादीले सकेनन्, देश फेरि अस्तब्यस्त हुन थाल्यो भने आफू अघि सर्नु बेग्लै कुरा हो, तर अहिले नै माओबादीको बाटो रोक्न खोज्नु ठूलो भूल हो।

गिरिजालाई राष्ट्रप्रति बनाउन त माओबादीले खोजेकै हुन क्यार? हिम्मत छ गिरिजासंग राष्ट्र्पति हुने? हिम्मत छ गणतंत्र घोषणा गर्ने? गिरिजालाई प्रम दिएर मात्र पुग्दैन, प्रम पछिको दोस्रो बरिष्ठ मन्त्री पनि उनकै पार्टीलाइ चाहिन्छ। प्रम कांग्रेसको भएको ले प्रम संग नजिकमा बसेर काम गर्न पर्ने लंगडो तर्क राखेर अन्य महत्वपुर्ण मन्त्रालयहरु ग्रिह, रक्षा र अर्थ पनि उनकै पार्टीलाई चाहिन्छ। ताज्जुब छैन त यो कुरा? अख्तियारले डामेर छाडेका वाग्ले, जोशी, खड्काहरुलाइ नै फेरि मन्त्री बनाउने होला। धन्य कांग्रेस। यो देशले कहिले सम्म नेपाली कांग्रेसलाई ब्यहोर्न पर्ने हो? गिरिजाज्यू अव स्वर्गलोकमा नै गएर प्रम हुने कि?



तिब्बति स्वाधिनता र हाम्रो प्रजातन्त्र

मार्च १०, २००८ का दिन, तिब्बतिहरुले, आफ्नो स्वाधिनता खोसिएको ५१ औ बर्षको अबसर पारेर ल्हासा सहरमा शान्तिपूर्ण प्रदर्शन गरे। दबाब र बल प्रयोग बाहेक अरु कुनै कुरा नजान्ने चिनिया प्रशासनले व्यापक दमन गरि धेरै संख्यामा भिक्षुहरुलाई गिरफ्तार गर्‍यो ।

११ मार्चमा ति गिरफ्तार गरिएका भिक्षुहरुको रिहाईको माग गर्दै बसेका भिक्षुहरुमाथी अन्धाधुन्द अस्रुग्यास र लाठी प्रयोग गरि चिनिया प्रशासनले आफु दमनकै कडा रुपमा मात्रै प्रस्तुत हुने जनायो, अनि संसार भरि शुरु भयो विरोध र दमनको कुचक्र ।

जहाँ एकतर्फ दलाई लामा स्वयंले ध्वंसात्मक गतिबिधिको बिरोध गर्दै आफ्न माग "स्वतन्त्र तिब्बत" नभएको पटक पटक दोहर्‍याएका छन भने आर्को तर्फ चीनिया सरकारले दलाईलामा लाई 'संतको भेषमा रहेको सैतान' को संज्ञा दिएको छ ।

बास्तबमा चिन सरकार तिब्बतको समस्यालाई यत्ती सम्म न्यून मुल्याकंन गर्दै छ की तिब्बतको समस्यालाई केबल दलाईलामा एकजनाको व्यक्तिगत विचारसंग जोडेर, सिधै भन्दा दलाईलामाको मृत्युको प्रतिक्षामा छ, अनि दलाईलामाको जिवनकालमा नै उसलाई खलनायक सिद्द गर्ने असफल प्रयास पनि। यो चिनिया सरकारको ठुलो गल्ति हो ।

षडयन्त्रको जालो यत्ती सम्म की, चिनीया कम्यूनिष्ट सरकार हालका दलाईलामाको मृत्यु पछि 'आफ्नो पक्ष' को चिनिया नागरिकलाई नया दलाईलामा चुन्ने र त्यस पछि तिब्बतिहरुको एकतालाई टुक्र्याएर बिस्तारै 'ब्रेन वास' को आफ्नो पुरानो हतियारले बाकी तिब्बतिहरुलाई पनि तह लगाउने खाका तयार गर्ने काममा व्यस्त छ ।

आफ्नो प्राचिन र रहश्‍यमय संस्कृति र धर्ममा यसरी ठाडै प्रहार गर्ने षडयन्त्र बन्न लागेपछि सो संस्कृतिलाई जोगाउन दलाईलामाले पनि आफ्नो जिवनकालमा नै उत्तराधिकारी चुन्ने विचार प्रकट गरे र तिब्बतिहरुसंग व्यापक बहसमा लागे। यसरी आफ्नो हजारौं बर्ष पुरानो र दूर्लभ संस्कृतिमा प्रहार हुन लागेपछि तिब्बतिहरु एकजुट हुनु एकदमै सामान्य कुरा थीयो भने बदलिदो विश्‍वको परिस्थिति र संसारभरी छरिई सकेका तिब्बति हरुलाई भुलेर दबाब बाट समाधान खोज्नु चिनको ठुलो भुल ।

आफ्नो संस्कृति जोगाउन एकतर्फ संसारभरिका तिब्बतिहरु र उनिहरुका समर्थकहरु एक भएका छन भने आर्कोतर्फ आफ्नो परम्परा कायम रख्दै चिनिया कम्युनिष्ट सरकारले पनि फेरि एकचोटी विदेशिहरुलाई चिन प्रवेश गर्नबाट रोकेर 'बन्द कोठा भित्र अप्रेशन' गर्ने मनाशाय बनाएको प्रष्टै छ ।

ठुलो भन्दा ठुलो समस्यालाई केबल "आन्तरीक मामीला' बताउदै झ्याल ढोका थुनेर अप्रेशन गर्दै आएका चिनिया प्रशासनलाई यस पटक भने विश्‍व भरि छरिएका तिब्बति, उनिहरुका समर्थक र सञ्चार जगतमा आएको नया प्रगतिका कारण आफ्ना सबै झ्याल ढोका बन्द गर्न नसक्दा निहत्था भिक्षुहरलाई तह लगाउन हम्मे हम्मे परेको छ ।

यौटा नितान्त धर्म बिरोधि कम्यूनिष्ट मुलुकमा यस्तो घटना हुनु खासै नौलो कुर होईन भने तिन, तिन चोटी 'प्रजातन्त्र' आएको हाम्रो देशमा ति निहत्था बौद्धमार्गीहरु माथि व्यापक दबाब हुनु पक्कै पनि शोभनिय कुरा होईन । हामी यदि प्रजातन्त्रका हिमायति हौं र यसैमा हाम्रो विश्‍वास छ भने ति निहत्था तिब्बतिहरुको जुलुस र प्रदर्शन माथि बल प्रयोग गर्नु हामिलाई कत्ती पनि शुहाउँदैन ।

हामी स्वतन्त्र छौं र स्वतन्त्रतामा विश्‍वास गर्छौ भने, केवल 'ठूल्दाई' लाई खुशि तुल्याउन मात्र स्वाधिनताको आवाज उठाउने तिब्बतिहरुमाथि अलिकता पनि दमन गर्नु लज्जाजनक हुनेछ । यौटा प्रजातन्त्रीक मुलुकमा अर्को यौटा स्वाधिनताको लडाई लडनेले समर्थन पाउनु पर्छ दमन होईन । बाँकि तिब्बतको भविश्‍य कसरी निर्धारण हुन्छ त्यो भविश्‍यकै गर्भमा छ र सकिन्छ भने त्यसकोलागी हामि सबै स्वतन्त्रता प्रेमीले सकारात्मक भूमिका निर्बाह गर्नुपर्छ ।