एमालेको पराजयमा खुशियाली मनाउने वा खिसिट्यूरी गर्नेहरुले यो कुरा बिर्सिरहेका छन् कि एमालेले माओबादीलाई राजनीतिको मूलधारमा कत्तिको योगदान् दिएको थियो भनेर। नेपाली कांग्रेसले माओबादीलाई आतंककारी, उग्रबादी भनिरहदा एमालेले जहिले पनि उनीहरु राजनैतिक शक्ति हुन् भनेर प्रतिबाद गरिरह्यो। अनेक खतरा मोलेर सिलिगुढीमा माधव कुमार नेपाल माओबादीलाई भेट्न गए, पटनामा भेट्न गए। आतंककारीलाई भेट्न जानेहरुपनि आतंककारी नै हुन् भनियो।एमालेले हरतरहले माओबादीलाई राजनीतिको मूलधारमा ल्याउन मिहेनत गर्यो। राजाले भित्तैमा पुर्याएर अचेड्न नखोजेका भए गिरिजा-देउवाहरु कहिले पनि माओबादीसंग सहकार्य गर्न राजी हुने थिएनन् होला।
लोकतंत्रको स्थापना पस्चात् पनि एमालेले माओबादीहरुलाई शान्तिप्रक्रियाबाट बिमुख् नहुन् भनेर हदै सम्म लचिलो बन्यो।कांग्रेस र माओबादीका अडानहरु बिच् आफ्नो अडानहरु छोड्दै गयो तर अबुझहरुले उल्टै एमालेलाई अडान नभएको ढुइमुले पार्टी भनेर भने।अब सत्ता हातमा आइहालियो, माओबादी भाडमा जाउन जस्तो गरेर कांग्रेसले ब्यबहार गर्यो तर एमालेले गणतन्त्र र समानुपातिक निर्वाचन् प्रणालीको मुद्धामा, जुन एमालेको पनि आफ्नो मुद्ध थियो, माओबादीलाई साथ दियो र माओबादीलाई संसद छोडेर जंगल जान बाट रोक्यो। यसमा पनि एमाले माओबादीको टांग मुनि छिर्यो भनेर हल्ला गरियो। तर एमालेले जे गर्यो माओबादीहरुलाई शान्ति प्रक्रियाबाट बिमुख नहुन भनेर गर्यो।
केही गल्तीहरु भएका छन्। केन्द्रीय राजनीतिमा अल्झिरहदा जनतासंग संबन्ध टुटेको छ र माओबादी दबदबाको कारणले एमालेको संगठन कमजोर रहेको छ। तर यो नै संसारको अन्त्य होइन। गणितीयरुपमा हेर्दा एमालेको पराजय भएको छ,तर माओबादीलाई राजनीतिको मूलधारमा ल्याउन एमालेले दिएको योगदान् महत्वपुर्ण छ र यस मानेमा एमाले बिजयी भएको छ। देश र जनता भन्दा पार्टी ठूलो ठान्नेहरुको लागि मात्र यो एउटा हार हो। देश र जनताको लागि राजनीति गरेका हरु यो हारबाट बिचलित् हुंदैनन्।