माओवादी जनयुद्दले नेपालका गाउँघरमा त्रासदि मच्चाएका बेलाको कुनै समयमा तेह्रथुमको म्याङ्लुङमा एउटी कलेज पढ्ने केटीले जिन्सको पाइण्ट लगाएको र कपाल काटेर छोटो पारेको आरोपमा ती छात्रालाई, त्यतिबेला जनताको यु्द्द लडेका भनिएका माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीले कार्वाही गरेको थियो । बेलाबेलामा हाम्रा क्रान्तिकारी तथा राष्ट्रवादी समूहहरूबाट यो र यस्तै खालका घटना देशव्यापी रूपमा घटाउने र चर्चामा आएर सेलाउने गरकै हुन् त्यतिबेला । यस घटनामा कारवाही स्वरूप ती अभागी वालाको कपाल पूर्ण मुण्डन गरिएको थियो र उनको जिन्सको पाइण्टलाई छिया छिया पारेर बेइज्जति गर्दै बजार घुमाइएको घटना समेत त्यतिबेला समाचारको विषय बनेको थियो । ......... तर समयको गति न हो ,क्रान्तिकारिताको यो स्वरूपमा अहिले आएर १८० डिग्रिको परिवर्तन आइसकेको छ , किनभने ब्वाइज कट काटेको कपाल र जिन्सको पाइण्ट लगाएर माओवादीकी एकजना शिर्षस्थ महिला मन्त्री हिसिला यमीले आफ्नो पद तथा गोपनियताको शपथ दुई तीन पटक ग्रहण गरिसक्नु भएको छ। त्यस्तै पम्फा भूसालले पनि गरिन् क्यारे । त्यसकारण, मन्त्राणी स्वयंले औपचारिक अनुमोदन गरिदिएको त्यो पहिरन र आवरण अब विवादको वस्तु नरहेको हुनसक्छ ।
September 27, 2008
हुन दिनुपर्छ सुन्दरी प्रतियोगिता
तर नया नेपालमा नेपाल सुन्दरी ( मिस नेपाल ) प्रतियोगिता हुन दिने कि नदिने कुरा सर्वथा विवादमा रहिआएको छ र हुन नदिने भन्ने पक्षका हर्ताकर्ता माओवादीहरू सत्तामा पुगेपछि भने मिस नेपालका आयोजकहरूको जागिर र जाँगर दुवै झन निरिह बन्न पुगेको छ । सुनिएको छ हिडन ट्रेजर नेपाल भन्ने संस्थाले आयोजना गर्ने मिस नेपाल प्रतियोगिता हालैका मितिमा आइपुग्दा हुनबाट छैटौँ पटक रोकिएको छ । यो प्रतियोगिता हुन दिने र नदिने पक्षका आ-आफ्ना तर्कहरू पक्कै छन् । यसको विरोधमा न्वारानदेखिको बल खर्चिनेहरूका अनुसार यस्तो प्रतियोगिताले महिलाहरूको मानमर्दन गर्छ र महिला अस्मिताको बिरूद्द उनीहरूको बजारीकरण गर्दै अवमूल्यन गर्छ । अनि सञ्चालकहरूले प्रतियोगिताको नाममा सुन्दरी कन्याहरूलाई गर्नु नगर्नु गरेर लाभ लिन पनि सक्छन् र यसले समग्र नारी अस्तित्वको बजारमा लिलामी गर्छ । अत: महिला अस्मिता बिरूद्द गरिने यस्तो पूँजिवादी कर्तूतबाट जोगाउन , मिस नेपाल जस्ता प्रतियोगिता सञ्चालन रोक्नुपर्छ ।
उता सुन्दरी प्रतियोगिता हुनुपर्छ भन्नेहरूको पनि त्यति बडेमानको माग केही छैन । संसारभरि लगभग ( उत्तर कोरिया र मुसलमान मुलुकको भने थाहा भएन ) जतासुकै हुने र गरिने यस्तो प्रतियोगिता नेपालमा मात्र रोक लगाएर केही राम्रो हुने हैन भन्ने उनीहरूको भनाइमा असहमत हुनुपर्ने कुरा पनि केही छैन । यसका पक्षधरहरूका अनुसार सुन्दरता नारीहरूको पहिलो सम्पत्ति हो , र बाह्य र आन्तरिक सुन्दरताको प्रष्फुटन र प्रतिष्पर्धामा भाग लिने अवसरबाट बञ्चित गर्ने कुनै पनि कार्य अलोकतान्त्रिक त हुँदै हो , यसले महिलाको न्यूनतम् मानव अधिकार माथि पनि धावा बोल्छ भन्ने कुरा पनि साँचो नै ठहर्छ । अरू प्रतिस्पर्धाहरू जस्तै उमेर पुगेका सुन्दरीहरू तँ भन्दा म के कम राम्री छु ? भन्ने खालको प्रतिस्पर्धामा लड्न चाहन्छन् भने , सरकारको टाउको दुख्नु पर्ने कुनै कारण हुनुपर्ने केही देखिन्न ।
समग्र देश हिंसाग्रस्त छ , मुलुकभरि अव्यवस्था अनि राज्य र दण्डविहीनताको जगजगी मच्चिएको छ । मान्छेको बाँच्न पाउने अधिकार , निर्भय रहेर आफ्नो दु:खसुख गरी परिवारसंग रहन पाउने अधिकार, आधारभुत सेवा ,सुविधा र वस्तु हासिल गर्न पाउने अधिकार, शिक्षा , स्वास्थ्यका अधिकार कुनै पनि कुरा देशमा अस्तित्वमा देखिन्नन् तर राज्य भने आफ्नो उपस्थिति दर्शाउन , केही चर्चित मुद्दामा आफ्नो संलग्नता देखाउन लागेको देखिन्छ ।
हुनत सुन्दरी प्रतियोगिता हुन दिँदा वा नदिँदा , नेपालीको भाग्यमा कुनै कायापलट हुने पनि हैन र यसले हाम्रो नियतिमा त्यति ठूलो तात्विक अन्तर ल्याउने पनि हैन , तैपनि नारीहरूले आँफुले सुन्दरी प्रतियोगितामा भाग लिएर , जितेर आँफुले गौरव हासिल गरेको अनुभव गर्न चाहन्छन् भने त्यो उनीहरूको मानव अधिकार हो र त्यसको रक्षा राज्यले गरिदिनु पर्छ । माओवादी राजनीतिको आदर्श मानिने कम्युनिष्ट मुलुक चीनले समेत सन् २००३, २००४, २००५ र २००७ मा मिस वर्ल्ड प्रतियोगिताको आयोजना आँफै गरेको छ । आधुनि विश्वमा सबैभन्दा बढी पट यो सुन्दरी प्रतियोगिताको आयोजक कुनै पूँजिवादी मुलक नभएर कम्युनिष्ट मुलुक चीन रहेको कुरा पढेका र देखेका जो कोहीले बुझ्न नसकेको पहेली के हो भने यो सुन्दरी प्रतियोगिता महिला अस्मिताको बिरुद्द नै हो कि नेपालमा अहिलेका सत्तापक्षकाहरूको राजनैतिक स्टण्ट मात्र ? बुझ्न सकिएको छैन । सुन्दरी प्रतियोगिता हुन दिएर हामीलाई हुनुपर्ने घाटा केही छैन, भयो भने थोर बहुत फाइदा नै होला । अत: कसैको राजनैतिक अडानको स्वार्थमा यो प्रतियोगिताको भविष्य जोडिनु पर्ने केही कारण देखिन्न । त्यसैले हुन दिनुपर्छ सुन्दरी प्रतियोगिता, कसैको केही खोसिने वाला छैन यसो गर्दा , इच्छुकहरूले भाग लिन्छन् त्यत्ति हो । बरू यो प्रतियोगिता ठीक हैन भनेर बिरोध गर्ने अर्को महिला समूह भएमा, तिनलाई पनि टुँडिखेलमा बिरोधसभा राख्ने अवसर दिँदा हुन्छ, भिडन्त टार्नु पर्यो त्यत्ति हो । तर, राजनीति नगर्ने हो भने कसैलाई बिरोध गर्न जानु पर्ने दरकार पनि हुन्न ।
Subscribe to:
Post Comments (Atom)
3 Comments:
हामी अझ स्वतन्त्र भैसकेका छैनौं, सम्पूर्ण थिचो-मिचो बाट उन्मुक्ति मिलेर 'गणतन्त्र' बनेको देशमा सुन्दरी प्रतियोगिता पनि गर्न नमिल्ने रे । सुन्दै हाँस उठने कुरा ।
दवाव मुलक कुनै पनि कुरा गलत हुन्छ । कसैलाई चित्त बुझ्दैन भने आफू भाग नलिनु र कसैलाई जबरजस्ती भाग लिन पनि नलगाईयोस बस्।
जिन्स पाईण्ट लगाएर सभासद बन्न हुने देशमा स्कर्ट लगाएर क्याट वाक चाहि गर्न नहुने रे हा हा हा हा हा ...
तपाईको र ठरकि दादाको पनि कुरा चित्त बुझ्यो । सुन्दरी प्रतियोगिता त गर्न नपाईने देशमा अरु स्वतन्त्रताको कुरा के गर्नु ?
फेरि यो जनवादि गणतन्त्रमा गर्न मिल्ने र गणतन्त्रमा चाहि गर्न नमिल्ने किन रहेछ त्यो पनि बुझी नसक्नु छ ।
एकातिर खुला 'लाल बत्ती बजार' को माग शुरु भैसकेको बेलामा सुन्दरी प्रतियोगितामा समेत बन्देज लगाउनुको कुनै अर्थ रहँदैन। हो कसैलाई मन पर्दैन भने भाग नलिने र नहेर्ने अधिकार भने सबैलाई छ।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !