“हेलो ! ठरकी !! म त ह्याँ नेपालाँ सांसद भए नि हो… ” करिव एक बर्ष पहिले उस्को फोन आउदाँ म झस्केको थीएँ “हैन कसरी भयौ हो सांसद..? चुनाउ सुनाउ भा’ छैन त!” “…काँ को चुनाउ नि लोकतन्त्र आए’छि हामी जनताका नेता त्यत्तीकै सांसद भै हाल्यौ नि त….”
म आफूले बुझेको प्रजातन्त्र र उस्को मोडेलको लोकतन्त्र बीच केहि तालमेल नदेखी छक्क परें “हैन लोक तन्त्र भने’छिन त झन लोकले छानेर पठाउने हैन र भन्या?” । “तिमिले भोट हाले नि मैले जित्ने हो नहाले नी मै सांसद भए, भने’छि के को चुनाउ, सुनाउ कसो ….? " उस्ले आफ्नो बुद्धीले भ्याएसम्मको तर्क गर्न खोज्यो, म पनि बैचारीक स्तरको भिन्नता बिच बार्तालाप असंभव देखि चुप लागे ।
ऊ म भन्दा धेरै “सिनिएर” थियो क्यार स्कुलमा, तर के के भएर हो कुनी ऊ अरु भन्दा अलि बढी बढी पढन थाल्यो। मतलब अरुले एक बर्षमा पढने कुरा उसले दूई तिन बर्ष लगाएर पढ्यो अनी त्यस्तै प्रकारले पढाई चल्दा एस एल सि दिने बेलामा उ मसगै परेको थियो ।
९ कक्षामा एक चोटी नेपाली शिक्षकले “साँचो” को उल्टो अर्थ लाग्ने शब्द सोध्दा उसले “ताल्चा” भनेर जबाफ दिएको थियो । त्यस दिन कक्षा कोठामा जे भयो मलाई लाग्छ त्यो त्यस दिन कक्षामा उपस्थीत कसेलै कहिल्यै भुल्ने छैनन्।
शिक्षकले “साँचो” को उल्टो “झुठो” हुन्छ भनेर सम्झाउन खोजे तर उसले मानेन। शिक्षकले “लामो” को उल्टो “छोटो” भए जस्तै यो बिशेषण भएकोले यसको उल्टो शब्द पनि बिशेषण नै हुन्छ भन्ने तर्क दिए, तर उसले पनि “साँचो” नाम भएकोले यसको उल्टो पनि नाम अर्थात "ताल्चा" नै हुन्छ भनेर जि्द्दी गर्यो। केहि गरे पनि बुझाउन नसके पछि शिक्षकले बेतको डण्डा देखाए, उसले पनि आफू भरौटे लागेको पार्टीको झण्डा देखायो । स्थिति तनावपूर्ण हुन लागेको देखि हामीमध्य केहिले राम छाडि हरामको साथ दियौं । टाउको फोडा-फोड हुने स्थिती देखेपछि हामिहरुले पनि “साँचो” को उल्टो "ताल्चा" नै हो भनेर उसलाई सम्झायौं । अपसोच ! त्यसैदिन देखि उसले मलाई उसको हितैषी सम्झन थाल्यो ।
उस्को जिवनमा यस्तै यस्तै घटना घट्थ्यो । एस. एल. सि. दियो नेपालबाट पास गर्यो बिहारबाट । टिकट लिन्थ्यो यौटा दलको चुनाव प्रचार गर्थ्यो अर्कै पार्टिको। स्कुल जिवन पछि उसलाई हामी कसैले पनि कहिल्यै पनि कुनै कलेज, क्याम्पसमा पढन गएको देखेनौं । उ पनि बेला बेलामा भन्ने गर्थ्यो "पढेर को ठुलो भा' छ र….? " । कहिले काहि हामि जिस्क्याएर सोधने गर्थ्यौ "अनि ठुलो हुन के गर्नु पर्छ त?" उ दरिलो स्वरमा जवाफ दिन्थ्यो "राजनीति ! साथी राजनीति!!"
तर अचानक एक दिन नेपाल जाँदा उ संग भेट भयो, उ प्रफुल्लित मुद्रामा थियो र उसले मलाई एकदमै अनौठो समाचार सुनायो "बुझ्यौ ठरकी! तिमिहरु सबै बाहिर गयौ म चाहि यतै पढें, …….पोलिटिकल साईन्समा एम ए गरे हो मैले पनि….." मलाई उस्को डिग्री "होम डेलीभरि" भएको भन्ने अनुमान लगाउन त गार्हो त भएन तर पनि कृतिम बधाई चाहि मैले पनि दिए (नक्कली डिग्रिलाई कसरी सक्कली बधाई दिनु)।
त्यतिबेला सम्ममा उस्को वौद्धिक स्तर नबढे पनि "हैसियत" भने पत्याउनै नसकिने गरी बढेको थियो। कुनै संस्थानको गाडि लिएर उ आराम संग हिड्थ्यो, अनि मलाई भन्दै थियो "बुझ्यौ साथी यो निरंकुश 'सरखार' छिट्टै ढल्छ अनि देश हाम्रै हो…."
केहि दिन पहिले फेरी उसैको फोन आयो "साथी समाचार हेर्दे गर्नु ह्याँ सरखारमा फेरबदल हुदैंछ….., अनि यसपाला भने मेरो मन्तरी हुने पालो छ….. " । "हो र?" म अकमक्क परें शुभकामना वा बधाई दिन पनि आँट आएन, यस्तो मान्छे मन्त्री भए देशको हालत के होला भनेर चिन्ता लाग्यो । उ उताबाट बर्बराउदै थियो "….अब हेर देशको काया पल्टिन्छ"।
देश टाट पल्टिन लगिसकेको कुनै सुचना उसलाई थिएन केवल हावा भरमा "काया पल्टाउने" प्लानमा थियो उ। "….ल त साथि म राख्छु है नेपालमा केहि ठुलो काम परे मलाई भन्नु" उस्ले निक्कै बेर गन्थन गरेर फोन राख्ने तरखर गर्यो " …अँ त तिमिहरु त पत्रीका हैन 'ई-मेल' मा हेर्छौ क्यार (उसको मतलव "ईन्टरनेट" थियो) मेरो नाम हेर्दै गर्नु "
उताबाट उसले फोन राख्यो, त्यसैदिन देखी म ईन्टरनेटमा डराई डराई समाचार पढदैछु, कतै उस्को पनि नाम मन्त्रीको लिष्टमा देखिएला भनेर।
Email ThisBlogThis!Share to FacebookShare to Pinterest