December 15, 2007

के भारतले चाहे मधेशी समस्या एक् मिनेटमा समाधान हुन्छ?

बिभिन्न गुट, समुह बनाएर लडिरहेका, आन्दोलनरत रहेका मधेशी नेताहरुको केही समय पहिले भारतको पटनामा जमघट भएको र त्यसमा भारतीय बिदेशमन्त्रालयका नर्थ ब्लक हेर्ने प्रितीशरणको सेमत उपस्थिती रहेको पढ्न पाईएको थियो। केही महिना पहिले मधेशको मुद्धाहरुमा सबै जसो पार्टीका मधेशी सांसदहरु एकढिक्का भएका थिए। अहिले सरकारको बहालवाला मन्त्री महन्थ ठाकुर लगायत केही सांसदहरुको सांसद तथा आ-आफ्न पार्टीको पदबाट राजीनामा दिएपछी नेपाली राजनीतिमा अनेक शंका उपशंका छाएको छ।भारतले गिरिजा बाबूलाई तत्कालै नेपालमा गणतन्त्र घोषणा गर्न भनेको र सोही कारणले गिरिजा बाबूले नेपालको रास्ट्रियता खतरामा परेको कुरा गर्नु भएको भन्ने सुनिएको थियो। वहांले त्यसो गर्न नमानेपछि भारतले गिरिजा बाबूलाई मन पराउन छोडेको भन्ने कुरो आयो।बिरगन्ज स्थित भारतीय वाणिज्यदूताबासले मधेशी आन्दोलनलाई चर्काउन पैसा, हातहतियार पनि बांडिरहेको भन्ने कुरो पनि सुनिएको थियो। केही समय पहिले गिरिजा बाबूले प्वाक्क बोलिदिनु भयो, भारतले चाहेमा मधेशी समस्याको समधान एक् मिनेटमा हुन्छ भनेर। तर कुरो यत्तिकैमा सकिन्छ त? अहिले केही मधेशी सांसदहरुले राजीनामा दिएर नया पार्टी खोल्न लागिरहेका छन् र यसलाई पनि भारतीय इशारामा भैरहेको भन्ने भनिएको छ। प्रत्येक घटना परिघटनामा हामी खाली अर्कैको भूमिका देख्छौं र समस्याको जड के हो भन्ने तिर कहिले लाग्दैनौं।हामी कहिले दरबारको हात देख्छौं, कहिले भारतको, कहिले अमेरिकाको।
हालै अशान्त देशका शान्ती मन्त्रीज्यूले भाषण ठोक्नु भयो, तराईको समस्यामा भारत र दरबारको षडयन्त्र भनेर। अवस्य पनि क्षेत्रीय दादागिरी गरिरहेको भारत जहिले पनि धमिलो पानीमा माछ मार्ने ताकमा रहन्छ, दरबारपनि त्यही ताकमा रहन्छ, तर पानी धमिलो पार्ने त हामी नै हैनौं र?समस्याको कारणतिर नजाने, समस्याको पहल् गर्न नखोज्ने अनि अपजसजति भारत र दरबार तिर सरक्क थोपरेर आफू पानी माथिको ओभानो हुने?
मधेशी समुदायलाई जहिले पनि पहाडिय बर्गबाट हेयको द्रिष्टीले हेरिएको कुरा सांचो हो।टोकरीमा तरकारी बोकेर बेच्न आउने, हाम्रो कपाल काट्ने-दाह्री बनाउने, पुराना-कागज-खाली शीशी जम्मा गर्ने कर्मठ मधेशी दाजुभाईलाई हामीले कहिले नेपाली ठान्यौं? यिनीहरुलाई छोडिदिनुस्, पढेलेखेका, ठूला पदमा पुगेकासमेतलाई हामी गन्दैनौं। वास्तवमा भन्ने हो भने मधेशी समुदायलाई हामी पहाडीयाहरुले जहिले पनि दोस्रो दर्जाको नागरीकको रुपमा ब्यबहार गरिरहेका छौं। राजनैतीक पार्टीहरुले मधेशी समुदायको उत्थान, स्वाभिमान, राज्यको सबै तहमा समान अवसर र प्रतिनिधित्वको कुरा त गरे, तर कहिले गम्भीर रुपमा लिएर सो सम्बन्धी नीति, नियम बनाएर लागू गर्ने काम् गरेनन्। खाली चुनावका नारा मात्र बनाए। जब मधेशीहरु संघिय स्वसाशन अनि बढी अधिकारका कुरा लिएर जुर्मुराउन थाले, अनि त्यसमा दरबारको हात देख्नु, भारतीय हात देख्नु थूलो बिडम्बना हो।
जातीय स्वायत्तता, संघिय शासन जस्ता कुराहरु आफै अघि सार्ने माओबादी नेताले समेत तराइमा "नेपाली सेना" र "माओबादी सेना" संयुक्तरुपमा परिचालन गर्ने कुरा गर्नु दु:ख लाग्दो कुरो हो। त्यत्रा संघीय राज्यहरु भएका भएका भारत र अमेरीकाहरुमा कुनै बिखन्डन भएको छैन, तर नेपाललाई संघिय शासन प्रणालीमा लैजांदा नेपाल् टुक्रिन्छ भन्नु अचम्म लाग्दो कुरो हो।ठाकुर, त्रिपाठी, शुक्ला, यादवहरुले आ-आफ्ना पार्टी छोडेर नया पार्टी गठन गर्न लागेको कुरालाई हामीले सहज रुपमा लिन पर्छ र वहांहरुलाई भारतीय गोटीको रुपमा कदापी लिन हुन्न।म त यसमा सकारात्मक पक्ष नै देख्छु। देशका प्रमुख पार्टीहरुका खारिएका नेताहरु भएको कारणले वहांहरुले तराईमा बिभिन्न, गुट, उपगुटमा बिभक्त भै, हिंसाजन्य,प्रिथकताबादी आन्दोलनमा लागेकाहरुलाई वहांहरुले एकजुट पार्न सक्नुहुन्छ र हिंसाको बाटोमा लागेका हरुलाई शान्तीपुर्णा बाटोमा ल्याउन सक्नु हुन्छ।ठाकुर-त्रिपाठीहरुलाई नेपाली रास्ट्रियता, कुनै कोइराला-नेपालहरुलाई भन्दा कम् छ जस्तो लाग्दैन।मधेशको आन्दोलन भनेको नेपालको आन्दोलन हो र यसमा भारतीय संलग्नता कदापी हुनुहुन्न। नेपाल सरकारले पनि भारतले चाहे यो समस्या टुंगिन्छ भनी आफू चांहि अकर्मन्य भएर बस्न मिल्दैन। पहिला हामीले आफ्नो आंङको भैंसी देखौं अनि मात्र अर्काको टाउकाको जुम्राको कुरा गरौं।


नम्बर ७६

एकलव्य


हामी

नाप हुन्छ चाप हुन्छ समयको आफ्नै गति
पुण्य हुन्छ पाप हुन्छ मनुजको आफ्नै मति
दुख हुन्छ सुख हुन्छ जीवनको यही नियति
हात दिन्छन गोडा तान्छन आफन्तको यो प्रवृत्ति।

हेर्दै हाँस्नु पनि हुन्न जालझेलको बात लाग्छ
सभ्य भयो मनुज तर आडम्बरको साथ माग्छ
नजानेर हैन उस्ले , जानी जानी गल्ति गर्छ
सबै उसलाई चाहिन्छ नै, र त आफ्नै पेट भर्छ ॥

उन्मादको दम्भ पिउँदै , मद-मस्तिको नाच नाच्छ,
आफन्तिको पिठ टेक्दै उँभो उँभो लाग्छ, चढ्छ
बढ्छ , चढ्छ , एकदिन विश्रान्तिको थला पर्दा
सोच्दैन कहिलै पनि चाहिएला को मर्दा पर्दा ?

जति मान्छे जान्ने बन्यो, उति उस्को पतन किन?
मानवता छिन्न भिन्न, ‘मै खाऊँ’को राज किन ?
हिजो जस्तो आज छैन, अझै खराब आउने दिन
सल्किएको आगो सरि, फैलिरा’छ छिन छिन

सपनी त रमाइलो , कति फरक ? विपनीमा
सोचले कहिले के नै हुन्थ्यो ? झसङ्ग छु बिहानीमा
ब्यूँझँदाको अर्कै संसार तीखा लामा काँडा घोच्ने
बैरंगी यो चिठी सरि , नियतिको आयू भोग्ने ॥

कति राम्रो हुन्थ्यो होला सबै खुशी नाच्न पाए !
विपत्ति र पीडा नभै हाँस खेलमा नै बाँच्न पाए
हातमा हात समाउँदै प्रगतिपथ नाप्न पाए
जीवन जिउँदै जिन्दगिको मधुर गीत छर्न पाए॥