November 1, 2007

गजल

~ आश्मा

आँखैमा धुलो पर्दा, प्रिय रहर याद आयो
समाहित हामीदुबै, त्यो प्रहर याद आयो


समर्पित सबै विस्वासमा, शून्य सरि दूरी
संयोजन तृप्ति स्वर्गिय, शहर याद आयो


पिउने बहानामा, धेरै पटक बाजी थापी
रित्तिएको संगै रातको, लहर याद आयो


आँशु साटी भावनामा थाती अतृप्त चाहाना
विछोडिदाको हाम्रो उही कहर याद आयो



दौतारी सर्भर - २


दौतरी अन्तरजालोमा आएको तिन हप्ता जती भयो । मान्छे भएको भए च्यां च्यां मात्र गर्थै होलान, दौतारी त बोलेर दौडने पनि भइसक्यो। दौडदा जालोमा जेलिएर हैरान। यो सप्ताहअन्त (शुक्रबार सांझबाट)जालो सफा गर्ने काम हुदैछ। फोहोर सफा गर्दा आंखा, टाउको मा धुलो पर्ने भएको ले १-२ दिन दौतारीको ढोका लगाएर सफा, सुघ्घर, रंग, रोगन हुदैछ। त्यतीन्जेल देउसी खेल्दै बस्नुहोला।


ठिक् है अब बहुत हो गया, हाथ मिलाओ

कम्प्युटर खोले पछि नेपालका समाचार साईटहरु नगै अरु काम नै शुरु हुँदैन। अस्ती आईतबारतिर पढेको थियं-गिरिजाबाबु आफ्ना सांसदहरुलाई माओबादीको प्रस्तावको बिपक्षमा डटेर भोटिंङ गर्न निर्देशन दिंदै हुनुहुन्थ्यो। त्यो भन्दा अघि त पार्टीको केन्द्रिय कमिटीबाट नै माओबादी प्रस्ताव फेल गराउने निर्णय मन्चन गरिएको थियो।बुधबारको समाचार अर्कै छ-गिरिजा बाबूले माओबादीसंग वार्ता गरेर सहमतीमा पुग्न रामचन्द्र पौडेल लगाएत अन्य् दुई जनालाई निर्देशन् दिनु भएछ। त्यो पढेर निश्चित रुपमा मलाई खुशी लाग्या'थ्यो, ल सहमतीको लागि केही पहल त भयो भनेर। त्यो संगै भारतीय राजदूतको प्रम संग भेट भएको, माओबादीका नेताद्वय् भारतीय दूताबासमै हाजीर भएर कुराकानी गरेको आदि समाचार पढ्दा शंका त लागेको थियो, कतै गिरिजाबाबूको पछिल्लो लचकता भारतीय राजदूतसंगको भेटको परिणाम् त होइन?
वास्तवमा त्यही भएको रहेछ। भारतीयले नभनी यहा केही नहुने रहेछ। हुन सक्छ, नेकाले माओबादी प्रस्ताव बिरुद्ध मत हाल्ने निर्णय गर्नुमा पनि अघिल्लो पटक श्याम शरणको भ्रमणको केही करामत थियो। नत्र कांग्रेस सायदै त्यति आत्माबिश्वासका साथ आन्दोलनका आफ्ना सहयात्रीहरुलाई लतार्दै माओबादी प्रस्तावको बिरुद्धमा उभिने थियो होला। र सायद कांग्रेसलाई लागेको थियो, एमालेले अन्तत: कांग्रेसलाई नै साथ दिनेछ। कांग्रेस आ-फ्नै कल्पनामा मग्न रह्यो। माओबादी प्रस्तावको बिरुद्धमा मत हाल्ने निर्णय त गर्यो तर त्यो माओबादी प्रस्ताव अहिले किन गलत छ र किन त्यो प्रस्ताव फिर्ता हुनपर्छ भनेर लबिङ् भने गरेन। एमालेले एउटा मध्यधारको प्रस्ताव दर्ता गरायो, त्यसलाई पनि कुनै वास्ता-ब्यस्ता गरेन। आखिर जस्तोसुकै अवस्थामा आएको प्रस्ताव भए पनि यो एउटा गणतंत्र जस्तो सैद्धान्तिक बिषयमा आएको प्रस्ताव थियो र मतदान् हुने अवस्थामा बामपन्थीहरुले माओबादी प्रस्तावमा साथ दिन पर्ने हुनजान्छ।
हुन पनि त्यही भयो, सबै बाम पार्टीहरुले माओबादी प्रस्तावलाई साथ दिने भयो। यसबाट के हुने भयो बामपंथीहरु जति गणतंत्रबादी र कांग्रेस चांहि राजतंत्र पक्षधर भन्ने संदेश जाने भयो जुन चुनावको लागि एउटा गजबको मुद्धा बन्ने भयो जस्को भेउ हाम्रा अनन्त छिमेकी राजदूत महोदयले बुझिहाल्नु भयो र गिरिजाबाबूलाई साबधान गराउनु भयो।त्यसैको परिणाम हो, गिरिजाबाबुको पछिल्लो लचकता। तर गिरिजा बाबूको एउटा तरिका के छ भने, आफू लडेर पनि खुट्टो चांहि माथि नै पार्नु पर्ने।
मुख्य कुरो यहां उठाउन खोजिएको चाहि के हो भने किन कुनै पनि कुरा भारतीय निर्देशन् बिना हुदैन? हाम्रा नेताहरु भारतीयहरुले दबाब दिन पुर्बै नै किन मिल्दैनन्? मलाई त के पनि लाग्छ भने भारतीयहरुले माओबादीहरुलाई पनि ठिक है ठिक है आगे बढो भनिरहेका छन भने गिरिजाबाबूलाई पनि पम्पु दिईरहेका छन्, गिरिजा बाबू हम् आपके साथ हैं भनेर। अनि जब स्थिति प्रतिकूल् हुदै जान्छ, अनि त्यही भारतले इशारा गर्छ, ठिक् है अब बहुत हो गया, हाथ मिलाओ। अहिलेको हाथ मिलाइ पक्कै त्यही हो।

पहिले जनमत संग्रह होस

गणतन्त्र र राजतन्त्र बिचको मतदानमा मैले भाग लिन पाउनु हो भने मेरो मत गणतन्त्र तिर जाने छ। तर म शाहबंशिय सबै राजाहरुलाई गणतन्त्रको नाममा गाली गर्ने पक्षमा भने छैन। मैले पैलेई भने जस्तो म पृथ्वीनारायण शाह्, बहादुर शाह जस्ता ब्यक्तित्वको सम्मान गर्छु। उनीहरु पूर्ण रुपमा दोष रहीत थिए भन्ने हैन तर समग्रमा उनीहरु देश भक्त थिए। नारा मात्रै लाएनन उनीहरुले। चाहेको भए दरबारमा मात्रै पनि बस्न सक्थे तर लडाईको मोर्चामा पुगे उनीहरु खुकुरी बोकेर। नेपालले त्यो बिर्सिनु हुन्न।

माओबादी लगायतका ती सबै ब्यक्तिहरु जो हरेक कुराको दोश २५० बर्षको सामन्ती संस्कारको बिल्ला लाउँदै राजतन्त्र तिर थुपार्छन संग म सहमत छैन। शुरुका केही शाह राजाहरुको समय युद्धमै बित्यो-- अनि राणाहरु आए शाहहरु थपना भए। राणाहरु पछी देश संक्रमण कालमा गयो। त्रिभुवन राजा त भए तर देश स्थिर थिएन अनि ११ साल तिर हो क्यार उनी उकालो लागे। आधुनिक नेपालमा राजाहरुको मुल्याङ्कन गर्ने हो भने महेन्द्रबाट सुरु गर्नु पर्छ। मलाई उनको सासनकाल बारे थाह छैन। उनलाई राष्ट्रबादी राजनेता भन्नेहरु पनि छ्न उनको दलबिरोधी नीतिलाई लिएर लोकतन्त्रका दुस्मन भन्नेहरु पनि छन। मैले उनलाई ईतिहासको किताबमा मात्रै चिनेको हो। उनी यस्तै थिए भन्न म सक्दिन। ईतिहास फेरी हिजोको तेस्तो किताब हो जो आज फेरीने गर्छ -- पंचायत कालमा अरास्ट्रिय तत्व भनेर ईतिहासमा लेखीएका हरु पछी राष्ट्रबादी नेता भए -- हिजो आतंककारी भनीनेहरु आज लोकतन्त्रका ठेकेदार छ्न। ईतिहास फेरीन्छ।

बीरेन्द्रको पनि ३६ साल सम्मको सासन ताल -- निर्दल बहुदलको चुनाब जस्ता कुरा मैले सुनेको मात्रै हो मलाई थाह छैन। ४६ सालको परीबर्तन भने मैले अनुभव गरेको हो। BAD B-बिरेन्द्र A- ऐश्वर्य D- दिपेन्द्र लाई ठोक्नु पर्छ भन्ने नारा लाग्थ्यो। मेरो त यसै पनि राजाहरुको गुनगान गाउने बानी थिएन। कुरो ठिक हो भन्थें। आखीर बीरेन्द्र श्रीपेच लाएर बसी रहे। उनको र उनका बंसको मृत्यु प्रति मलाई गहीरो खेद छ। त्यस्तो अन्त्य त दुश्मनको पनि नहोस भन्छु म त। आफुलाई लोकतान्त्रीक भन्ने सरकारले त्यो घटनाको फेरी छानबिन गरोस भन्ने लागेको छ मलाई। बीरेन्द्र राष्ट्रघाती थिएनन अनि उनले संबैधानिक राजा हुन सकेसम्म कोसिस गरे भन्ने मेरो मान्यता छ। गणतन्त्रको माला जप्ने माओबादीहरुले समेत बीरेन्द्रलाई राष्ट्रबादी भन्न हिच्किचाएनन।

मलाई सधै के लाग्यो भने राजा किन चाहियो? देश बनाउन देश बचाउन राजै किन चाहिन्छ? देश जनताको हो -- कुनै दिन जनताले बचाउन सकेनन देश भने राजाले कसरी बचाउँछन? राजा पनि जनतानै हुनु पर्छ। देश बनाउने मन छ भने जनतामा जाउन मत ल्याउन सरकार बनाउन अनि चलाउन सासन। सबैले चै चुनाब जितेर आफ्नो बैधानिकता देखाउनु पर्ने श्रीपेच लगाएर उनलाई राजगद्दीमा बस्न चै मेरा बाउ बराजुले आर्ज्याको भन्दैमा हुने? मलाई चित्त बुझ्दैनथ्यो। अझै बुझ्दैन।

तर राजा राख्ने हटाउने संसदले गर्ने हैन। जनताले निर्णय गर्ने हो। सांसद बा सम्बिधान सभाका सदस्यले पार्टीले जारी गरेको ह्वीपको आधारमा मत हाल्छन जनताको आदेश अनुसार गर्छन भन्ने केही छैन। त्यसैले राजतन्त्र लगायतका राष्ट्रिय मुद्दाहरुमा जनमत संग्रह गरीनु पर्छ। राजा राजतन्त्र चाहिन्छ भनेर प्रचार गर्न जाने भए दिनु पर्छ जे जस्तो चुनाबी आचार सहिता छ त्यस्को अन्तर्गत। राजनितिक दलका नेताहरुले चै राजतन्त्र चाहिन्न भनेर प्रचार गर्न हुने सरकारी पैसामा, राजाले चै धरापमा परेको आफ्नो गद्दी बचाउन बोल्नै नहुने? किन? सक्दो कोसीस गरुन न --किन डराउने? ९०% जनता गणतन्त्र चाहन्छन पनि भन्ने -- देश गणतन्त्रमय छ पनि भन्ने अनि जनमत संग्रह देखी डराउने पनि? राजा मन्दीर जाँदैमा कोलाहल गर्ने? सुहायो त?

बहुसंख्यक जनताले राजा चाहिन्छ भनें भने चाहिन्छ राजा। तर भन्लान जस्तो मलाई त लाग्दैन। जन प्रतिनिधीले गर्न नसक्ने कुन चै त्यस्तो काम छ जुन राजाले मात्रै गर्न सक्छ्न? आफुले बहुमत ल्याए चै सदर भन्ने राजाले ल्याए भने बदर भन्ने मनस्थीती भएका कोही छन भने ति कायर हुन। एक ताका प्रचण्डले पनि भनेका थिए जनताले राजतन्त्र राख्ने भनेछन भने उनको पार्टीले त्यो स्वीकार्ने छ। अचेल त्यस्तो कुरा गर्दैनन बेग्लै कुरा हो। तर जनमतको आदर त गर्नुपर्यो नी लोकतन्त्रको नारा लाउने हामीहरुले। आफुलाई चित्त बुझोस नबुझोस जनादेश मान्नै पर्छ। हैन भने हाक्काहाक्की भन्नु पर्यो हामी लोकतान्त्रिक हैनम भनेर या त भन्नु पर्यो हामी हाम्रो बिचार भन्दा फरक जनादेश मान्दैनम भनेर।

बिदेशी शक्ति र त्यस्का भारदारहरुले बचाए भने बचाए नभए ज्ञानेन्द्रको राजगद्दी गयो। बरु अहिलेका राजाले बिचार पुर्याएर भोलीको सांसद बन्न सके भने देश बिकासमा उनको योगदानको जनताले कदर गर्लान नभए ज्ञानेन्द्रले त्यस्तो केही गर्या छैनन जस्ले उनलाई जनता माझ सम्मानको हकदार बनाओस।

राजनैतिक दलहरुले हिजोको मात्रै कुरा गरेर हुन्न। आजको कुरा गरुन्। भोलीको कुरा गरुन्। देशको आर्थिक स्थिती बलियो बनाउने योजनाहरु बनाउन्, सामजिक न्यायका कुरा गरुन्। कार्यक्रम बनाउने मात्रै हैन कसरी कार्यन्वन हुन्छन नी ति कार्यक्रमहरु त्यो प्रस्ट पारुन्।

माओबादी आन्दोलनको एउटा पक्षको भने म प्रसंसा गर्छु। त्यो हो ग्रामीण ईलाकामा उनीहरुले ल्याएको सामाजिक परिबर्तन। ग्रामीण समाजमा ब्याप्त उँच निच मैले पनि देखेको छु। त्यहाँ रहेको सामंती अभ्यासलाई सम्पूर्ण त नभनम तर धेरै हद सम्म धरासाई पारेका छन। त्यस्को नाममा भएको अत्याचार वा हिसाको भने म निन्दा गर्छु। ती सामाजिक परीबर्तनको लागि हिसा आबस्यक थ्यो भन्ने म मान्दिन।

एमाले हिजो सम्म कम्युनिज्म नाम गरेको दोलैइँ ओडने काँग्रेस थ्यो। केशर जंगले राजा बनाईदीएको ज्ञानेन्द्रलाइ दाम राख्न काँग्रेस सँग काँधमा काँध थापेर गएको थियो। कामरेडहरुले राजा र दरबारको भत्ता निसंकोच बढाएका थिए। आज पानी माथिको ओभानो बन्न खोज्दैछन। तर त्यो हिंजोको कुरा हो। अझै पनि एमाले ले नेतृत्व दिन सक्छ। लोकतान्त्रिक प्रतिबद्धता पनि देखाउँछ (माओबादी जस्तो अधिनायकबादको खाल ओडेको लोकतान्त्रिक हैन एमाले) गाउँ घरमा एमाले अझै बलियो छ। राजनैतिक संरचना अझै सुढृढ छ। कार्यकर्ताहरु लगनशिल छन। अब त गणतन्त्र पनि भन्छ। चुनाब भएको भए एमालेको स्थिती राम्रो हुन्थ्यो। तर एमाले ले नेतृत्व फेर्नु पर्छ।

काँग्रेस लोकतन्त्रको हिमायत हो भन्ने मान्यता छ। कांग्रेसको झुकाब राजा तिर होला तर कम्निस्ट् प्रति छैन जस्तो लाग्छ। बाध्य भएर कामरेडहरु सँग मिलेको छ। मौका पाउने बित्तिकै छोडदिन्छ काँग्रेसले। तर त्यसमा नराम्रो केही छैन। आ-आफ्नो बिचारको संगठन हो। काँग्रेस दलले लोकतन्त्रको लागि धेरै गरेको छ। ज्ञानेद्रले राजतन्त्रको अपमान गरे जस्तै काँग्रेसका केही नेता भनाउँदाहरुले लोकतन्त्रको अपमान गरेका छन। तर लोकतन्त्र अनिबार्य छ। कठिनाईहरु छन तर लोकतन्त्र मर्दैन। काँग्रेस, एमाले, माओबादी र अन्य दलहरुले राष्ट्रिय हितमा काम गर्नै पर्छ। उपाय अर्को छैन।

देश हामी सबैको हो। नेपाल भारतियको हैन। अलिकति यता उता भयो की भारत पुग्ने बानी नेता हुनेहरुले छोडनु पर्यो। नेपालको नीति नेपालीले बनाउने हो लैनचौरको राजदुतले हैन। भारतलाई सरापेर मात्रै केही हुन्न। पर्यटन र अरु सेबा मुलक क्षेत्रमा नेपालले राम्रो बिकास गर्न सक्छ। भारतको सामान किनम भारतियहरुलाई हाम्रो देश घुम्न बोलाम। हामीलाई फाईदै हुन्छ। खाली धोती धोती भनेर केही हुन्न।

आफ्नै देशका नागरीकहरुलाई धोती भन्ने संकिर्ण घेरामा बाँचेकाहरुले मात्रै मधेसलाई दुस्मन देख्छन। मधेसको नाममा भारतियहरुलाई नेपाली नागरीकता बाँडेको छ भने त्यस्को बिरोध गर्दा हाम्रो मधेस रिसाउँदैन। पक्का हो। आज एकताको खाँचो छ, हाम्रा मधेस, पहाड, र हिमालको हामीले रक्षा गर्नु छ। ब्याँसाहरु देखी साबधान हुने बेला यही हो।

पहिले जनमत संग्रह होस अनि जनादेश अनुसार सम्बिधान सभाले सम्बिधान बनाओस। जनमत संग्रहमा जान आनाकानी गर्ने काँग्रेस हो अरु त मानेकै देखिन्छन। काँग्रेसलाई पनि मनाउन सकिन्छ होला।

वास्तवमा जे हुनु थियो त्यही भइरहेको छ , अहिले नेपालमा

-एकलव्य
माओवादीले संविधानसभाको नारा कहिलै इमान्दार भएर उठाएको नै थिएन । जब रक्तरंजित कथित क्रान्तिमा माओवादी लागेको थियो, त्यतिबेला उनिहरू भित्रका टाउकोले पनि काम गर्न सक्नेहरूले ( यसो त यो बाहुबली जत्था हो , जस्ले शरीरले मात्र बाँच्न जानेको छ बुद्दि, विवेक र सोचले हैन ) भोलि सेफल्याण्ड गर्ने कुनै प्रजातान्त्रिक एजेण्डा पनि फ्याँकि राखौँ किनभने यो माग पूरा भैहाल्ने छैन क्यारे भन्ने सोचले नै यो अघि सारेका थिए । परिणामस्वरूप देउबा र राजाको शासन कालमा मञ्चन गरिएका वार्ताका नाटकहरू परिणाममुखी हुने कुरा नै भएन, किनभने हलो त्यहीँ अड्क्यो । जुन माग कुनै हालतमा पूरा हुने छैनन् भन्ने माओवादीलाई ठहर थियो र वार्ताको टेबुलमा रोकिएका थिए ,त्यो हुने कुरा थिएन र भएन पनि । माओवादीलाई पैसा र हतियारको जोहो गर्न थियो र टुटे फुटेका घाउमा मलहम पट्टि गर्दै पल्टनमा मान्छे भर्नु थियो । अनि दल, भारत र दरबार मध्ये कसलाई नजिक ठान्ने भन्ने बारेमा समेत भित्रै मतान्तरमा फँसेको यसका शिर्षष्थहरू अन्योलमा नै थिए ।

राजा ज्ञानेन्द्रको अल्पबुद्दिले सर्वसत्तावादी बनेर अकण्टक राजा बन्न खोज्दा , उनले आफ्नालागि दलहरूलाई माओवादी बिरुद्द प्रयोग गर्न नसक्दा वा नचाहँदा , भारतले छिर्के हानेर दल र माओवादीलाई एकठाउँमा ल्याइदियो । माओवादीले आन्दोलनमा गाउँघरबाट मान्छेलाई बन्दूक कै भरमा सोहोरेर काठमाण्डू र शहर घेर्न बाध्य पार्दै पठाएकाले नै संसादवादी शान्तिवादी दलहरूको अगूवाइमा जनआन्दोलन सफल भयो । माओवादी कै नेतृत्व भएर हुनसक्ने यस्तो आन्दोलन रक्तरंजित हुन सक्थ्यो तिनलाई राजाको मातहतको शाही नेपाली सेनाले गोलीले भुट्न सक्थ्यो किनभने एउटा आतंककारी घोषित शक्तिको राज्यसत्ता विरुद्दको चढाइलाई अन्तर्राष्ट्रिय समुदायले स्वीकृति प्रदना गर्नै सक्दैनथ्यो , कारण त्यो आतंककारी शक्ति नै थियो । तर उ पृष्ठभूमिमा बसेर बन्दूक तेर्साउँदै भए पनि मान्छे जम्मा गरिदिने काममा लाग्यो र आन्दोलनले सफलता पायो । यसर्थमा यो प्रयासमा नेपाली राजनीतिका मुख्य दलहरू र माओवादी र भारत समेतको ज्वाइण्ट भेञ्चर बनको कुरामा दुई मत हुन सक्दैन । फलत: दलहरूको माग बमोजिम संसदको पुनर्स्थापना हुन सक्यो र राजा झुके । तर यही गरिदिएका कारण माओवादीले आजसम्म दलहरूलाई धम्काउँदै , यो र त्यो आँफूखुशी माग गर्न सकिरहेको छ । आज देशको राजनीति माओवादी कै मागहरूको बन्धकी बसेको छ किनभने आज उसलाई यो कुरामा विस्वास भैसक्यो कि जनमत कै आधारमा सत्तासीन हुन सकिने उसको पहिलो सोच केवल संसार चेप्टो छ भन्ने दावा जत्तिकै अन्धविश्वासको हैसियत राख्ने वाला रहेछ र यो बाटो हिँडेर आँफूले गरेको भनिएको क्रान्तिको उपादेयता र औचित्यताको पुष्टि कतैबाट हुनेछैन , सत्ता प्राप्तिको कुरा त सपना नै रह्यो।


यसो त पछिल्लो नेपाली शान्ति प्रकृयाको गति अप्रत्यसित द्रूत थियो र जति छिटो समयावधिमा संविधानसभाको निर्वाचन पूरा गरी नया संविधान लेख्ने कुरा गरिँदैछ भनिएको थियो त्यो आँफैमा अपत्यारिलो देखिन्थ्यो र त्यो बाटोमा कुनै पनि बेलामा समस्या पैदा हुनसक्नेछन भन्ने आँकलन गर्न गाह्रो थिएन । नेपाली राजनीतिका प्रमुख हस्ति ठानिएका दलहहरू र त्यस मध्ये मजबूत देखिने बामपन्थी वर्चस्वको दम्भ अनि परम्परावादमा थोरै प्रगतिशिलता थपेर लोकतान्त्रिक बन्ने कांग्रेसको अडानका कारण कुनै पनि बेला यो मेलमिलापको शान्ति प्रकृयामा बिघ्न पैदा गर्न सक्थ्यो। राजनैतिक विचार, प्रतिवद्दता र जनाधार पृष्ठभूमिका कारण पनि मध्यदक्षिणपन्थी जस्तो देखिने कांग्रेस, मध्यबामपन्थी जस्तो बुझिने एमाले अनि उग्रबाम ध्वंशकारी तर राजनैतिक शक्ति कहलिन आतुर माओवादी त्यसपछि अरू पनि झिना मसिना थुप्रै राजनितिक दल –समूहहरूको यो मेलमिलापको कहानीमा कुनै पनि बेला अनएक्सपेक्टेड ट्विस्ट आउने कुराको अनुमान गर्न कोही विज्ञको जरूरत पर्ने थिएन । त्यसपछि नेपालको राजनीतिक जोड घटाउमा जहाँ कहीँ र आवश्यक- अनावश्यक ठाउँमा आफ्नो प्रभाव र उपस्थिति दर्साउन नछोड्ने भारत, नअस्त तर सुस्त दरबार र परम्परावादी नेपाली सेनाको सम्भावित सहानुभूतिको चलायमान स्थिति आदि पनि त निर्णायक हुने हैसियत राख्थे !

दल – माओवादी सहकार्यको सफलताको रोमाञ्च अनि त्यही खुशीको मधुमासको अवधि अब अतीत बनेको देखिँदै छ । गिरिजा प्रसाद कोईरालाको यो सम्पूर्ण सम्भावित उपलव्धिलाई वैयक्तिक बनाउँदै शान्ति कायम गरेर अनि संविधानसभाको निर्वाचन गराएर नै मर्छु भन्ने धोकोलाई सार्थकता साथ काँध दिन नेपाली राजनैतिक इतिहासका वर्तमान र निकट भविष्यका यी दिनहरू सायद त्यति बलीया बन्न नसक्ने हुन कि भन्ने डर पलाएको छ ।
सबैले भन्ने गरे जस्तो यी सबै कुराहरूको कारण कांग्रेस, माओवादी वा अन्यका अडानहरू हैनन् बरू ती घटकहरूको विचार र राजनैतिक दर्शनको आधार हो जहाँ पहिला नै यी र भोलि पनि हुनसक्ने अरू पनि मुठभेडहरूको सम्भावना पहिला देखि नै लेखिइसकेको थियो ।
राजतन्त्रको औचित्य भजाएर राजनीति गर्न सक्ने दिन त अब गए नै तर राजतन्त्रको बहिर्गमनले सिर्जना गर्ने शून्यतामा कसले आफ्नो स्वार्थी अभिष्ट पूरा हुनसक्छ भन्ने र्‍यालपूर्ण मुख मीठ्याइ साँचेको छ भन्ने कुराले दलीय राजनितिको समीकरणमा धाँजा फटाउन मद्दत गरेको हो । अत: यो कुरा दलहरूका आ-आफ्ना छुट्टाछुट्टै राजनैतिक आधारभूमि र पारस्परिक अविश्वासको हो । यो अविश्वास निराकरण हुन सक्थ्यो , यदि माओवादी र दलहरू समेतले कोर्न खोजेको भावी नेपालको राजनैतिक नक्शाको खाकाका बारेमा एकार्कालाई बुझाउँदै उनीहरूले कुनै खालको सहमति निर्माण गर्न खोजका भए, पहिला नै । तर भविष्यका गहन मुद्दालाई कार्पेट मुनि फ्याँकेर , अहिले नै तातै खाऔँ र छिट्टै मरौँ भन्ने अनि परिस्थिति आफ्नो अनुकूल हुन आऊला र आफ्नो एकलौटी हैकम कायम गर्न पाइएला कि भन्ने मानसिकतामा नेपाल र नेपालीले सदैव ठगिनु परेको पुष्टि भइसकेको छ । यो लोभीपापी सोच हो र नियतमा इमान्दारिता नहुनेहरूले अरूलाई बेइमान भएको आरोप लगाउनु कुनै नौलो व्यवहार हैन । किनभने नेपाली राजनीतिको चरित्रमा पनि आँफूले काम र व्यवहार राम्रो गरेर अगाडि बढ्ने प्रवृत्ती भन्दा बढी अरूलाई आरोप लगाएर आफ्नो श्रेष्ठता साबित गर्ने बानीले नै घर गरेर बसेको पाइन्छ ।


क्रमश: