राजालाई ढुंगा हानेको होइन गणतन्त्रलाई हानेको हो।
जग जाहेर भै सक्यो कि मंसिर ६ को संबिधान सभाको चुनाव हुन न दिने को हुन् भनेर। आफैले गरेको संझौताको बर्खिलापमा अनेक माग तेर्साएर चुनावै हुन नसक्ने र अनिश्चितकाल सम्म सार्नु पर्ने परिस्थिति माओबादीले ल्याएका हुन्, यसमा दुइमत नहोला।तत्काल चुनाव नहुनुमा माओबादीले जे जति फाइदा देखेकाछन् र लुटेकाछन्, त्यसको हजार गुणा राजालाई भएको छ, ध्रुब सत्य यही हो।निश्चितरुपमा अहिले पनि चुनाव भैहाल्यो भने गणतन्त्रबादीहरु कै प्रचण्ड बहुमत हुने हुन्छ। संबिधानसभाको पहिलो पूर्ण बैठकले राजतन्त्र बारे फैसला गर्ने भन्ने ७ दल र माओबादी बीच संझौता र समझदारी भएकै हो। यता बामपंथी खेमाले नेपाली कांग्रेसलाई दरबार परस्त भनी लगाउंदै आएको पुरानो नारा अब आएर कांग्रेसले संस्थागतरुपमै "गणतन्त्र" बाहेक अर्को बिकल्प न रहेको भन्ने निर्णय गरे पस्चात त्यो नारा पनि काम लागेन। धुमिलो आकशमा रहेको शंकाका बादलहरु पनि रहेनन्।
तर जनताको उच्च आकांक्षा, अस्तब्यस्त र अन्यौल प्रशासन र फितलो सुरक्षाको कारण बढेको अराजकताले गर्दा यो स्थिति जति धेरै बेर लम्बियो त्यति धेरै जनमानसमा गणतन्त्र प्रतिको मोह पातलिंदै जाने निर्बिबाद छ। तसर्थ अरुले अप्रत्यक्षरुपमा भने पनि म त भन्छु प्रत्यक्षरुपमा राजालाई बाहेक अरुलाई चुनाव नहुनुको फाइदा छंदै छैन।फेरि अकुत सम्पति भएको, खुराफाती दिमागको भन्डार भएको राजाले अनेकन् जायज नाजायज खेल खेल्नको लागि पर्याप्त समय र अबसर दुबै मिलेको छ। यसमाने मा माओबादी र राजाको सहकार्य मान्ने कि न मान्ने?
माओबादिलाई फुट्या कौडि बराबरको फाइदा हुने वाला छैन। झन उल्टो माओबादिको असली रुप दिनानु दिन छर्लङ्गिने र जनाधार खस्किदैं जाने बाहेका अरु सकारात्मक परिणाम निस्केला भनेर सोचेको छ भने त्यो डाक्टरी पास गरेका बाबुरामको खोज पनि कागजको खोस्टा बाहेक केही नभएको पुष्टी हुन्छ। सके त कहिलेइ चुनाव हुन न दिने र मौका पाउना साथ "कू" गर्ने ज्ञानेको सोच मा पूर्ण समानुपातिक निर्बाचन को एकोहोरो रट ले टेवा दिएको मान्दा अनर्थ हुंदैन होला। पूर्ण समानुपातिक चुनाव मागलाई एक छिन माने लिउं, सबैले मानी हाले रे। अब हुन्छ के त? कुनै पनि पार्टीको सामान्य बहुमत पनि हुनेवाला छैन किन कि ५०% भन्दा बढी एक पार्टीले भोट ल्याउला भनेर सोच्नु पनि संभव छैन। यस अर्थमा संबिधान सभा पछि गठन हुने सरकार मिलिजुली हुने र सधैं अंक को खेल हुने निश्चित छ। यो स्थितिले २०५१ साल पाछि को प्रजातन्त्रकै पुनराब्रित्ती हुने हुन्छ। त्यसैमा माओबादीले अग्रगामी छलाङ्ग देखेको छ र मानेको छ भने मेरो केही भन्नु छैन।
अब राजालाई ढुंगा हानेको प्रसंगमा जाउं। राजालाई ढुँगा हानेर वाइ. सी. एल. के साबित गर्न खोजेको हो? अरु भन्दा हामी गणतन्त्रबादी हौं भनेर सिद्ध गर्न खोजेका हुन त?राजा प्रति हराई सकेको सहानुभूति पलाउदैन र? अझ राजा प्रचारमा आउदैन र? बुझ्ने क्षमता बिहिन जंगली सोचमा शायद यस्ता कुराहरु हुंदैनन्।
निलंबित राजाको के नागरिक हैसियत पनि खोसिएकै हो त?देशमा रहुन्जेल सबैले मौलिक अधिकार उपभोग गर्न पाउनै पर्छ। राजालाई मात्र किन बन्देज? बेकारमा नक्कली क्रान्तिकारिता देखाउन र आफ्ना जघण्य अपराधहरुमा पर्दा लगाउन राजा माथि ढुँगामुढा गर्ने असभ्य काम् गरे। असभ्य भए पनि यी कामले राजालाई अनमोल फाइदा भएकै छ। तसर्थ त्यो ढुंगा राजालाई हानेको होइन, गणतन्त्र र नेपालको भबिष्यलाई हानेको हो। दरबार र माओबादीको सहकार्य र सहयात्राको अनुपम नमूना हो। अस्तु!
October 26, 2007
Subscribe to:
Posts (Atom)